राजनीति

प्रधानमन्त्री ओली र शरणार्थी नेता रिजाल भेट

भारत, चीन अमेरिकासँग भिडिरहको छु भुटानसँग पनि लड्छु, शरणार्थी फर्काउने पहल गर्छु : प्रधानमन्त्री

चन्द्रशेखर अधिकारी |
चैत ४, २०७७ बुधबार १८:३७ बजे

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले घर फिर्ती र पुनः बसोबासको टुंगो लाग्‍न नसकेका भुटानी शरणार्थीको व्यवस्थापनमा आफू लागि परेको बताएका छन् । भुटानका मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई बालुवाटारमा बुधबार भेट दिँदै यस्तो धारणा व्यक्त गरेका हुन् । शरणार्थी नेता रिजाल भुटानबाट लखेटिएपछि भारतमा केही समय बिताएर नेपाल आएका हुन् ।

उनले सधैँ घर फिर्तिको पहल गरे तर त्यसमा प्रगति हुन नसकेपछि तेस्रो मुलुक पुनःबसोबासमा पनि जोड दिँदै आफ्ना सन्ततीलाई क्यानडा पठाउन बाध्य भए । यतिबेला उनको लडाईं भनेको तेस्रो मुलुक पुनः बसोबासमा जान नपाएका र नगएकाहरूको समस्या लिएर प्रधानमन्त्री र अन्य मन्त्रीहरू भेटेका हुन ।


आफूहरु आफ्नै थातथलोमा जान पाउनुपर्ने अडान राख्दै त्यसको वातावरण बनाइदिन सरकालाई आग्रह गरेको उनले इकागजलाई बताए । अब मुस्किलले सात हजार शरणार्थी नेपालमा रहेकाले यतिलाई नेपाल सरकारले कूटनीतिक पहल गरेर स्वदेश फर्काउन सकोस भन्दै उनले आग्रह गरेको पनि बताए ।

बाँकी रहेका करिब सात हजार भुटानी शरणार्थी जीवनयापनको स्थिति चिन्ताजनक रहेको भन्दै गाँस, बास र कपाससहित मानवअधिकार रक्षाका लागि भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेको छ । उनले दुई दिन अघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरेर यस्तै समस्याको पाको फुकाएका थिए ।

यतिबेला झापा-मोरङका शरणार्थी शिविर र त्यसबाहेक पनि दर्ताबिहीन अवस्थामा बाहिर बसेका भुटानी नागरिकले स्थानीय तहमा व्यवहार गर्न परिचयपत्रसमेत अद्यावधिक गर्न नपाएको भन्दै त्यसमा सरकारको ध्यान जानुपर्ने उनले बताए । राष्ट्रसंघको समन्वयमा दातृ निकायले खाद्यान्‍न सहित शिक्षा, स्वास्थ्यमा सहयोग गर्दै आएको तर त्यसमा कटौती गरेपछि अहिले असहज भएको जानकारी पनि उनले दिए ।

उनले शरणार्थीको मुख्य चाहना भनेको आफ्नै थाकथलो फर्कने भन्ने नै हो तर तत्कालका लागि जिउने वाताबरण तय गर्न नेपाल सरकारले समस्या परेकालाई व्यवस्थापन गर्नुपर्ने धारणा छ । शरणार्थी फर्काउनेबारे नेपाल सरकारले भुटान र भारतसँग तत्काल छलफल गर्न जरुरी रहेको उनले बताए । उनले पहिलेदेखि नै नेपालले भारतसँग विशेष छलफल नगरी शरणार्थी फर्कने अवस्था नरहने बताएका थिए ।

बाँकी रहेका भुटानी शरणार्थी फर्काउने विषयमा आफू नेपाल सरकारको तर्फबाट लडिरहेको प्रधानमन्त्रीले रिजाललाई सुनाएका थिए । ‘म भारत, अमेरिका, चीनसँग लडिरहेको छु । भुटानसँग नलड्ने कुरै भएन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै रिजालले भने, ‘बाँकी रहेका शरणार्थीलाई घर फर्काउन पहल भइरहेको छ । म रहुन्जेल शरणार्थीलाई वेहाल बनाउने छैन ।’ उनले घरफिर्तीबारे संवादको पहल भइरहेको र तेस्रो मुलुक जान चाहनेलाई त्यसतर्फ पठाउने पनि पहल हुने बताए ।

नेपाल सरकारले मानवीयताको आधारमा नै भुटानी शरणार्थीलाई आश्रय दिएको बताउँदै त्यसमा नेपालको हृदय ठूलै रहेको पनि बताए । शरणार्थी मामिला सम्वन्धी राष्ट्रसंघीय आयोग (यूएनएचसीआर)को पहलमा तेस्रो मुलुक पुनः बसोबास थालेको र एक लाखबढी तेस्रो मुलुक पुनः बसोबासमा गएको उल्लेख गर्दै त्यो आफ्ना पहलमा त्यतीबेला अघि बढेको समत उनले सुनाएका थिए । उनीहरु अहिले पुनः बसोबास गरेबाँकीको हकमा समाधान खोजौंला भनेर शरणार्थी उच्च आयोगले भने अनुरुप नै तेस्रो मुलुक पठाइएको हो । जान चाहनेलाई मात्र पठाइएको पनि उनले बताए ।

बाँकी रहेका शरणार्थीलाई प्रधानमन्त्रीले अर्को व्यवस्था नभएसम्म यहाँ रहन सहज हुने बैकल्पिक व्यवस्था गरिने आश्वासन रिजाललाई दिए । स्थानीय श्रम बजारमा काम गर्न मिल्ने स्वरोजगारलाई सहयोग हुने, शिक्षा र स्वास्थ्यमा पनि सहजीकरण गर्ने जस्ता आश्वासन प्रधानमन्त्रीले दिएका हुन् ।

भुटानी राजा जिम्मेसिंगे वाङचुङले नेपाली भाषिबाट आफूलाई खतरा महसुस गरेपछि ९० को दशक लाग्दै गर्दा त्यहाँको सरकारले आफ्नै नागरिकमाथि ‘जातीय सफाया’ गरेको थियो । नेपाली भाषिलाई लक्षित गरेर उक्त सफाया गरेको हो । आफ्नो सम्पत्तिलाई जफत नै गरेर भुटानबाट जबरजस्ती लखेटेको थियो । उनै नेपाली भाषिहरु भारतीय बाटो हुँदै एक लाख बढी भुटानीहरु नेपाल प्रवेश गरेका थिए ।

उनीहरू लामो समय (झण्डै अढाई दशक) देखि शिविर जीवन बिताएर तेस्रो मुलुक पुनःबसोबासमा गएका हुन । आफ्नै घर फर्कने अड्डी लिएर बसेकाहरु पनि अहिले थाकेको र उनीहरु नेपालमा नै सहज भएर रहन खोजेको पनि बताइएको छ । झापा र मोरङका बाँकी रहेका दमक र पथरी शिविरमा यतिबेला साढे ६ हजार शरणार्थी बस्छन भने एक हजार पाँच सय शरणार्थी दर्ताविहीन हैसियतमा नेपालभर यत्रतत्र छरिएका छन् ।   


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x