राजनीति

गण्डकीमा संसदीय समितिले थाल्यो अनुगमन

अनिष भट्टराई |
फागुन २५, २०७७ मंगलबार २१:१३ बजे

पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट कोभिड व्यवस्थापनबारे अनुगमन गर्न बनाएको संसदीय अनुगमन समितिले अनुगमन थालेको छ । अनुगमन समितिले मंगलबार पर्वत अस्पताल अनुगमन गरेको छ ।
 
‘मंगलबार हामीले पर्वत जिल्ला अस्पतालको अनुगमन गर्‍यौँ, भएका समस्याहरू टिपोट गरेका छौं, अनुगमनपछि पर्वतमा सर्वदलीय–सर्वपक्षीय बैठक बस्यौं,’ समिति सदस्य मायानाथ अधिकारीले भने । अधिकारीका अनुसार अनुगमन भ्रमणका क्रममा प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सर्वदलीय–सर्वपक्षीय बैठक बस्नेछ । बैठकमा कोभिड व्यवस्थापनमा जिल्लामा भए/गरेका काम, कारबाहीको समीक्षा गरिनेछ । 

अबको १ साता अनगुमन समितिले धौलागिरि क्षेत्रमा अनुगमन गर्नेछ । बुधबार समितिले बागलुङ जिल्ला अस्पतालको अनुगमन गर्नेछ । ‘हामी पहिलो चरणमा चैत १ सम्म अनुगमनमा जानेछौं, त्यहाँ अस्पतालमा अनुगमन गर्नुका साथै अन्तक्र्रिया पनि गर्ने छौं,’ अधिकारीले भने । 


कार्यविधिमा अनुगमन समितिले प्रदेशका अस्पतालमा रहेका उपकरण तथा कोभिड १९ रोकथामका लागि आवश्यक सामग्रीको अवस्थाबारे अनुगमन गर्नेछ । अस्पतालहरूमा सरकारले घोषणा गरेजति आइसियू, भेन्टिलेटर बेड संख्या छ/छैन समितिले निरीक्षण गर्नेछ । प्रदेशका अस्पतालमा बेड संख्या, कोभिडका लागि छुट्याइएको बेड संख्या र असपतालले गरेका काम, कारबाहीबारे समितिले जानकारी लिनेछ । 

अस्पतालमा जनशक्तिको अवस्थाबारे बुझ्‍ने र अपुग भएका अस्पतालमा जनशक्ति थप्‍न सिफारिस पनि समितिले गर्नेछ । कोरोनाविरुद्धको खोप लगाएका बिरामीको प्रतिक्रिया, खोप उपलब्धता र प्रभावबारे पनि समितिले जानकारी माग्ने कार्यविधिमा उल्लेख छ । कोरोना व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेट खर्चको अवस्थाबारे समितिले अनुगमन गर्ने जनाइएको छ । 

दोस्रो र तेस्रो चरणको अनुगमन कार्यक्रम चैत पहिलो साता निर्क्यौल गरिने समिति सदस्य आशा कोइरालाले बताइन् । ‘हामी पहिलो चरणको कार्यक्रम सकेपछि बाँकी चरणका बारेमा निक्र्यौल गर्ने छौं, वैशाख ६ गतेसम्म समितिको कार्यअवधि तोकिएको छ,’ उनले भनिन् । 

संसदीय अनुगमन समितिले फागुन ६ गते आफ्नो कार्यविधि पारित गरेको थियो । संसद सचिवालयलाई समितिले कार्यविधि बनाउने जिम्मा दिए अनुसार सचिवालयले कार्यविधि तयार गरिदिएको थियो । 

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनले संयुक्त संसदीय अनुगमन समिति बनाएको थियो । संसदमा लगिएको संकल्प प्रस्ताव पारित गर्दै अनुगमन समिति बनाइएको थियो । ९ सदस्यीय समिति ३ महिने कार्यअवधि तोकेर गठन भएको थियो । कार्यविधि भने समितिले नै बनाउनुपर्ने सदनको निर्णय थियो ।

सर्वदलीय सहमतिमा विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेस गरेका थिए । सोही प्रस्ताव अनुसार संसदीय समितिको मुख्य काम कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम र खर्च गरेको बजेटबारे अनुगमन गर्ने थियो । 

समितिमा नेकपा दाहाल नेपाल समूहबाट आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङ तथा नेकपा ओली समूहका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी र रोशन गाहामगर छन् । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x