राजनीति

कांग्रेस भन्छ : प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ

कांग्रेस सरकारमा जानुपर्छ : कोइराला

मधुसुधन भट्टराई |
फागुन १८, २०७७ मंगलबार १९:९ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २३ फागुनमा सुरु हुने प्रतिनिधि सभाको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न दबाब दिने भएको छ । आफूले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले संविधानविपरीत भनेर उल्टाइदिएपछि जवाफदेहिता र जिम्मेवारी दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसले बताएको छ । 

महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको मुख्य मुद्दा प्रधानमन्त्री ओलीले ट्रयाक बाहिर लगेको संविधानलाई ट्रयाकमा ल्याउने रहेको र त्यो पूरा भएको बताए । महामन्त्री डा. कोइरालाले अब ओलीले मार्ग प्रशस्त गरेर नयाँ सरकार बन्नुपर्ने बताए । ‘वर्तमान सरकारले निरन्तरता पाउँनु हुँदैन । नयाँ सरकार बनाउनु पर्छ,’ डा. कोइरालाले इकागजसँग भने, ‘नयाँ सरकारमा कांग्रेस सहभागी हुनुपर्छ । पुष्पकमल दाहाल या माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नुपर्छ ।’ प्रधानमन्त्री आफैँले भंग गरेको प्रतिनिधि सभामा आएर त्यही आसनमा बस्नु भन्दा मार्गप्रसस्त गरेर विश्राम लिन राम्रो हुने बताए । 


‘हाम्रो मुख्य मुद्दा ट्रयाक बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनु थियो । त्यो पूरा भएको छ,’ महामन्त्री डा. कोइरालाले इकागजसँग भने, ‘अब संविधानलाई ट्रयाक बाहिर लैजान खोज्ने प्रधानमन्त्री ओलीसँग मिल्नु हुँदैन भन्ने हो । त्यो विषयमा पार्टीबाट सर्वसम्मत रूपमा निर्णय गर्छौ ।’ कांग्रेस प्रतिनिधि सभामा प्रमुख सचेतक बालकृष्ण खाणले पनि मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा कांग्रेसको रहेको बताए । 

‘प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्ने निर्णय हठातमा गरिदिनु भयो । त्यो उहाँको निर्णय संविधान अनुकुल रहेनछ,’ खाणले इकागजसँग भने, ‘संविधानको प्रतिकूलतामा उहाँले गरेको प्रतिनिधि सभा भंग गर्ने निर्णय सर्वोच्च अदालतले उल्टाइदियो । आफूले गरेको निर्णय उल्टिएपछि त्यसको उत्तरदायित्व उहाँले लिनुपर्‍यो । राजनीतिक गतिरोध अन्त्यका लागि मार्ग प्रशस्त गर्नु पर्‍यो भन्ने कांग्रेसको धारणा हो ।’ आफूले विघटन गरेको प्रतिनिधि सभा न्यायालयले पुनःस्थापित गरिदिएपछि ‘जवाफदेहिता र जिम्मेवारी लिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ’ भन्‍ने धारणा कांग्रेसको रहेको खाणले प्रष्ट्याए । 

यसबारे संस्थागत निर्णय गर्नका लागि कांग्रेसले २१ फागुनमा संसदीय दलको बैठक बोलाएको छ । त्यसमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय कांग्रेसले गर्नेछ । ‘प्रतिनिधि सभाको अधिवेशनमा पार्टीका तर्फबाट राख्ने विचारहरूबारे संस्थागत निर्णय संसदीय दलको बैठक बोलाएका हौँ,’ खाणले भने, ‘त्यसबाट कांग्रेसले अधिवेशनमा राख्ने धारणबारे संस्थागत निर्णय गर्छ ।’ 

अधिवेशनमा सत्तारुढ दल नेकपाको धारणा के हो त्यो पनि प्रस्ट हुनु पर्ने कांग्रेसले बताएको छ । ‘सत्तासिन नेपाल कम्युनिष्ट पार्टीले पार्टीभित्रको विवाद के हो, त्यो प्रस्ट पार्नुपर्छ । आफ्ना धारणाहरूमा प्रष्ट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ खाणले भने । कांग्रेसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र संसदीय अभ्यासलाई अझै बढी परिपक्व बनाउने विषयलाई यो अधिवेशनमा मुल मुद्दाका रूपमा लिएर जाने तयारी गरेको छ । 

कांग्रेस सरकारमा जानुपर्छ : कोइराला 

महामन्त्री डा. कोइरालाले कांग्रेस अब सरकारमा जानु पर्ने पनि बताए । ‘पहिला त मलाई कांग्रेस सरकारमा जान हुँदैन भन्‍ने लाग्थ्यो,’ कोइरालाले भने, ‘अब संविधान बचाउन र नेकपाको विवादलाई चिरेर प्रष्ट पार्न पनि कांग्रेस सरकारमा जानु पर्छ भन्नेमा पुगेको छु । हामीले यसबारे बैठकबाट निर्णय गर्छौ ।’ 

कांग्रेसलाई सत्ता सहकार्य गर्न नेकपाका दुवै समूहले आग्रह गरेका छन् । प्रधानमन्त्री रहेका ओलीको समूह र दाहाल-नेपाल समूहले कांग्रेसलाई सत्ता सहयात्राको प्रस्ताव गरेका हुन् । नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष द्वय दाहाल र नेपालले १२ फागुनमा देउवालाई भेटेर सत्ता सहयात्राको प्रस्ताव राखेका थिए । 

जवाफमा देउवाले पहिला नेकपा विवाद कानुनी रूपमा निरुपण भएपछि मात्रै सत्ता समीकरणबारे पार्टीभित्र छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसपछिका सार्वजनिक कार्यक्रमहरूमा पनि कांग्रेस नेताहरूले नेकपाको विवाद कानुनीरूपमा निरुपण भएपछि मात्रै सत्ता सहयात्राको बारेमा छलफल गर्ने बताइरहेका छन् । 
प्रधानमन्त्री ओलीको ५ पुसको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधाननिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो ।  


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x