राजनीति

कांग्रेसमा पनि झगडा बल्झिने संकेत

पौडेल समूहको १६ बुँदे मागमा नेताहरूबीच कुरा बाँझियो

मधुसुधन भट्टराई |
कात्तिक १७, २०७७ सोमबार १८:३० बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा स्वच्छ, निष्पक्ष महाधिवेशन र क्रियाशील सदस्यता वितरणको विषयले फेरि विवाद निम्त्याउने संकेत देखिएको छ । नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर बुझाएको १६ बुँदे माग संस्थापन पक्ष पूरा गर्न आनाकानी गरेपछि विवाद निम्तने संकेत देखिएको थियो ।
 
गत असोज १२ गते ‘पार्टी विधानसम्मत् सञ्‍चालन गरी १४ औं महाधिवेशशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ शीर्षकमा सभापति शेरबहादुर देउवालाई पत्र बुझाएका थिए । त्यो पत्रको विषयमा छलफल गर्न सभापति देउवाले आज पदाधिकारीसहितका नेताहरूको बैठक बोलाएका थिए । 

बैठकमा नेता रामचन्द्र पौडेलले आफूहरूले बुझाएको पत्रमा समेटिएका माग सम्बोधन भएपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए । संस्थापन विधि, विधान र प्रक्रियाविपरित महाधिवेशनसँग सम्बन्धित काम अगाडि बढाइरहेको भन्दै त्यो पहिला सच्याउनु पर्ने नेता पौडेलको भनाइ थियो ।
 
बैठकपछि पौडेलले आफूहरूले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नुपर्ने, अन्य पार्टीबाट आएकालाई प्रक्रिया पुर्‍याएर मात्र सदस्यता र पद दिन आग्रह गरेको बताए । ‘हामीले सभापतिलाई बुझाएको १६ बुँदे माग पूरा हुनुपर्ने धारणा राख्यौं,’ नेता पौडेलले इकागजसँग भने, ‘महाधिवेशन केन्द्रित क्रियाशील सदस्यता वितरण र नवीकरण विधि र विधानसम्मत् हुनुपर्छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई प्रक्रिया पुर्‍याएर मात्र सदस्यता र पद दिइनुपर्छ । जे मन लाग्यो त्यही गर्न पाइँदैन भन्ने धारणा राख्यौं ।’बैठकमा मागपत्र प्रस्तुतकर्ताका तर्फबाट पौडेल र नेता महेश आचार्यले धारणा राखेका थिए । 


पौडेलले १६ बुँदे माग र पार्टीमा देखिएको मनलाग्दी क्रियाकलापमा ‘करेक्सन’ नभई केन्द्रीय समिति बैठक बस्‍न र महाधिवेशनका विषयमा छलफल गर्नुको कुनै अर्थ नरहेको आफूले बैठकमा धारणा राखेको जानकारी दिए । ‘हामीले पहिला आक्रा माग पूरा गर्नुस् । त्यसपछि आगामी दिनमा विधि र प्रक्रियाबाट मात्रै महाधिवेशन र पार्टीका अन्य काम कारबाही अगाडि बढ्छन् भन्‍ने विश्‍वास गर्ने वातावरण निर्माण गर्नुस् अनी केन्द्रीय समिति बैठक बसौला भन्यौं,’ पौडेलले भने, ‘तर, सभापतिबाट कुनै ठोस जवाफ आएन । कहिले तपाईहरुको माग पूरा गर्छु भन्नुहुन्छ । कहिले मिलाउँदैछु, समय दिनुस् भन्‍नुहुन्छ । उहाँको हामीलाई अल्मल्याउने काम मात्रै गर्नुभएको छ । हामीले विश्वस्त हुने वातावरण निर्माण गर्नुस भन्यौ ।’

१६ बुँदे मागका समाधानका सम्बन्धमा संस्थापनका तर्फबाट उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले प्रष्टयाउने प्रयास गरेका थिए । तर, उनीहरूको जवाफ चित्त बुझ्दो नभएको भन्दै पौडेल, नेता महेश आचार्यलगायत विरोध गरेका थिए । 

निधिले अन्य पार्टीमा रहेर राजनीतिक उचाई बनाएका नेतालाई ल्याएर पद र सदस्यता दिंदा विरोध नगर्न आग्रह गरेका थिए । ‘अन्य पार्टीबाट सांसद र मन्त्री बनेकासम्म साथीहरू आउनु भएको छ । उहाँहरुलाई उपयुक्त पद दिने विषयमा आपत्ति नजनाउन मेरो साथीहरूहरुलाई आग्रह छ,’ निधिले भनेका थिए, ‘पार्टी ठूलो र सशक्त भयो भने फाइदा हुने सबैलाई हो ।’

जवाफमा पौडेलले आफूहरूले अन्य पार्टीबाट आएकालाई पद नदिन भनेको नभई विधि र प्रक्रिया पुर्‍याएर मात्रै दिउ भनेको बताएका थिए । नेताहरुको धारणा राख्‍ने क्रम नसकिएको र समाधानको बाटो पनि पत्ता नलागेकाले शीर्ष नेताहरुको बैठक पुनः भोलि दिउँसो एक बजे बस्ने गरी स्थगित गरिएको छ । 

संस्थापन पक्षीय नेता एनपी साउदले नेताहरुले धारणा राख्‍ने क्रम नसकिएको र १६ बुँदे माग सम्बोधन गर्ने विषयमा सभापति लागिरहेकाले भोलीसम्म बैठक स्थगित गरिएको जानकारी दिए । ‘१६ बुँदे मागका विषयमा छलफल भयो । नेताहरूको धारणा राख्‍ने क्रम सकिएन । र, समस्याको समाधान खोज्‍न सभापतिले थप तयारी गर्नु पर्ने भएकाले भोली दिउसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।’ बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष तहका नेताहरु सहभागी थिए । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x