राजनीति

झाँक्रीको गिरफ्तारी र रिहाइ

‘ओलीको सर्वसत्तावाद र निरंकुशता उदांगियो’

विनोद देवकोटा |
माघ २९, २०७७ बिहीबार १८:५३ बजे

काठमाडौँ : राज्यविरुद्धको कसूर लगाउँदै नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउसँगै सरकार निरंकुशतातर्फ उन्मुख भएको संकेत दिएको छ । तर, दबाब थेग्‍न नसकेर साढे ५ घण्टापछि छोडेको छ । तथापि यसले राज्य संयन्त्रको असंवैधानिक क्रियाकलापविरुद्ध प्रश्‍न गर्नेहरूलाई तर्साउने खेलमा उद्यत् भएको देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिप्पणी गरेकी झाक्रीलाई राज्यविरूद्धको कसुरमा पक्राउ गरिएको थियो ।
 
‘राष्ट्रपतिका कुरा त के गर्नु र ?’ माघ दोस्रो साता नेकपा सिरानचोक गाउँ कमिटी गोरखाको कार्यक्रममा झाक्रीले भनेकी थिइन्, ‘बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।’

अधिवक्ता ओमप्रकाश अर्यालले रामकुमारी झाँक्रीलाई सरकाले प्रतिसोध साँधेको कतै नछिपेको बताए । उनलाई पक्राउ गर्न प्रयोग गरिएको कानुनी सहारा पनि नमिलेको उनले बताए । ‘यदि सरकारले झाँक्रीले बोलेकै आधारमा नै पक्राउ गर्ने हैसियत राख्छ भने सबैभन्दा पहिले मुलुकको प्रधानमन्त्रीको भाषामा जानुपर्ने हुन्छ,’ अर्यालले भने, ‘उहाँलाई पक्राउ गर्नपर्ने हुन्छ । कानुनको फरक व्याख्या गरेर आम नागरिकलाई त्रसित् बनाउने काम किन सरकारले गरेको सबैलाई स्पष्ट छ ।’ नेपालका राजनीतिज्ञहरूले ‘हेट स्पिच’ नै दिने गरेका छन् । राष्ट्रप्रमुख र प्रधानमन्त्रीले बोलेको भाषा धम्की मात्र होइन प्रतिनिधि सभा नै भंग गरेर नागरिक अधिकार नै कुण्ठित गरेका छन् । 


प्रधानमन्त्रीसँग सबै संयन्त्र मात्र होइन डाँका फटाह सबै रहेकाले पनि त्यो दम्भ आएको हुनसक्छ । यस्ता कार्यले सर्वसत्तावाद टिक्दैन र नागरिक समाज त्रसित् पनि हुँदैनन । यहाँ त सडकमा समर्थनमा नउर्लने हो भने पूर्वन्यायाधीश, पूर्वप्रशासक, अधिकारीहरूलाई कारबाहीमा लैजाने रहेछन् । 

‘के उनको अभिव्यक्तिकै आधारमा राज्यविरुद्धको कसूर लगाउन मिल्छ ? बारका पूर्वकेन्द्रीय सदस्य गणेश अधिकारी भने, ‘यो राज्यविरुद्धको कसूरभित्र पर्दैन । झाँक्रीको गिरफ्तारीले वाक स्वतन्त्रता हनन् भएको उनको ठहर छ ।’
उनी भन्छ्न्, ‘झाँक्रीको अभिव्यक्तिलाई राज्यविरुद्धकै अपराध भन्‍न मिल्दैन । त्यो अभियोग लाग्दैन । जुन अभियोग लगाइएको छ त्यो गलत हो ।’ राज्यविरुद्धको कसूर भनेर गलत मुद्दा लगाइएको उनको भनाइ छ । ‘राज्यविरुद्धको अपराध हुन कुनै उपद्रो मच्चाउने भएको हुनुपर्‍यो । यस्तो आपत्तिजनक कुरा बोलेको जस्तो लाग्दैन’, उनले भने, ‘यतिसम्म बोल्न पाइन्छ ।’
 
झाँक्रीको अभिव्यक्तिकै कारण सर्वोच्च अदालतले राज्यविरुद्धको अपराधमा सजाय गर्ला भन्ने आफूलाई नलागेको उनले बताए । ‘यो विषय सर्वोच्चले हेर्ला । मलाई लाग्छ अदालतले राज्यविरुद्धको अपराधमा सजाय झाँक्रीलाई हुँदैन,’ उनले भने ।  
 
कांग्रेस युवा नेता प्रकाश रसाइँली झाँक्रीको गिरफ्तारीले सरकार अझैं निरङ्कुश बन्दै जाने संकेत गरेको बताउँछन् । राज्य संयन्त्रविरुद्ध प्रश्न उठाउने कार्यकतालाई नियन्त्रणमा लिएर सरकार निरंकुशतातर्फ उन्मुख भयो भन्‍ने सन्देश दिएको उनको भनाइ छ । 

‘राज्य आफैं संविधानलाई रछ्यानमा फालेर समाप्त गर्र्नेे दिशामा उन्मुख हुने ?’ उनले भने, ‘त्यसविरुद्ध आवाज उठाउने र प्रश्न गर्ने आम जनता र कार्यकर्तालाई यसरी गिरफ्तार गर्ने कुराले ओलीको सर्वसत्तावाद र निरंकुशता उदांगियो ।’

यसले झन सबै किसिमको राजनीतिक वातावरण बिगर्ने काम भएको उनको भनाइ छ । ‘यो सरकारले पहिलेदेखिनै संविधानको आत्मासँग जोडिएका जनताका सार्वभौम अधिकारसँग जोडिएका विधेयक ल्याएर कुण्ठित गर्ने प्रयास गरिरहेकै थियो,’ उनले भने, ‘बोल्न, लेख्न पाउने, स्वतन्त्रतालाई कुण्ठित गर्ने त प्रधानमन्त्रीको चरित्र नै हो ।’ 

प्रधानमन्त्री ओलीले निरङ्कुशताको बाटो अपनाएर सत्ता लम्ब्याउने प्रयास गरेको उनले दाबी गरे । यसले राजनीतिक वातावरण पनि बिग्रिएको उनको भनाइ छ । नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले गणतन्त्रका लागि रगत बगाउने झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार गरेर बसालेको नजिर सरकार आफैलाई भारी भारी हुने चेतावनी दिए । राजतन्त्रमासमेत  राजामाथि गम्भीर प्रश्न उठाउँदासमेत कसैमाथि मुद्दा नलगाइएको भन्दै गणतन्त्रमा आलोचना गरेकै भरमा गिरफ्तार गरिनु सरकारलाई नै भारी पर्ने उनको चेतावनी छ ।

झाँक्रीलाई प्रहरीले पक्राउ गरेको प्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । संविधानले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको भन्दै संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? भन्दै प्रश्‍न गरे । 

‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ !’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x