राजनीति

नेकपा विवाद

खुमलटार धाउँदै ‘ओलीका दूत’

विनोद देवकोटा |
कात्तिक १४, २०७७ शुक्रबार १७:१९ बजे

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच विगत १० दिनदेखि संवाद हुन सकेको छैन । कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा ओली र दाहालले छुट्टाछुट्टै सर्कुलर जारी गरेपछि संवादहिनताको अवस्था छ । त्यसपछि विकसित अन्य घटनाले समेत अध्यक्षद्वयको दूरी बढाएको छ । 

अध्यक्षद्वयको सम्वाद टुटेपछि नेकपाका दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् । अध्यक्षद्वयबीच संवाद सुरू गराउन ओली निकटका नेताहरू एकपछि अर्को गरी दाहाल निवास खुमलटार धाउन थालेका छन् । 


बालुवाटारमा बसेको ओली निकट नेताहरूको बैठकले संवादहिनतालाई तोड्नुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटार स्रोतले प्रधानमन्त्रीको सचिवालयका सदस्यसहित अन्य केही नेताहरू सहभागी बैठकमा पार्टीको पछिल्लो विवादबारे छलफल भएको जानकारी दियो । बैठकमा उपप्रधानमन्त्री ईश्‍वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ, लगायतका नेताहरू थिए । 

उनीहरूबीच नेकपामा देखिएको पछिल्लो राजनीतिक गतिरोध हटाउनेबारे गहन छलफल भएको थियो । अध्यक्षद्वयबीचको संवादहिनता अन्त्य गर्नुपर्नेमा पनि नेताहरू सहमत देखिए । ओली-दाहालबीच संवाद सुरू गर्न पहल गर्ने पनि उनीहरूबीच समझदारी बन्यो । 

त्यसपछि ओली पक्षीय नेताहरू बालुवाटारको विशेष दूत बनेर खुमलटार धाउन थाले । दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहाललाई भेट्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार बिहान मात्रै खुमलटार पुगे । यसअघि पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा दलका उपनेता सुवास नेम्वाङ पनि ओलीको दूत बनेर खुमलटार पुगेका थिए । बुधबार उपनेता नेम्वाङ र अर्थमन्त्री पौडेल र बिहीबार लुम्बिनी प्रेदशका मुख्यमन्त्री पोख्रेल खुमलटार पुगेका थिए । 

खुमलटार पुग्‍ने सबै ओली निकट नेताहरूले अध्यक्षद्वयबीच संवाद हुनुपर्ने धारणा राख्दै आएका छन् । दाहाल निकटका एक नेताले खुमलटार पुग्‍ने परराष्ट्र मन्त्री ज्ञवाली, महासचिव पौडेल, उपनेता नेम्बाङ र मुख्यमन्त्री पोख्रेलले दुई अध्यक्षको सम्वादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । 

दाहालद्वारा अस्वीकार 
ओली-दाहालबीचको संवादहिनता तोड्न प्रधानमन्त्रीको दूत बनेर नेताहरू दैनिक खुमलटार धाएपनि वातावरण सहज हुन सकेको छैन । आफूसँग भएको सहमति विपरित ओलीले निर्णय लिएको भन्दै दाहालले भेटवार्ताको निम्तो अस्वीकार गर्दै आएका छन् ।

विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध पार्टीमा अविश्‍वास प्रस्ताव र प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखसँगको गोप्य भेटपछि दाहालले ओलीसँग सम्वादमा बस्‍न मानिरहेका छैनन् ।

‘भेटवार्ता गरेर के गर्ने ?’ प्रश्न गर्दै दाहाल निकट एक स्थायी समिति सदस्यले इकागजसँग भने, ‘भेटघाट गर्ने, एउटा निर्णय गर्ने तर कार्यान्वयन नगर्ने ? निर्णय गर्दा प्रधानमन्त्रीले एकलौटी गर्ने ? मनपरि गर्ने ? एउटा निर्णय गरेर काम चाँहि अर्कै गर्नलाई किन भेटिरहनु पर्‍यो ? यस्तो अवस्थामा भेट्नु वा नभेट्नु कुनै अर्थ राख्दैन । दाहालले प्रधानमन्त्रीसँग संवाद गर्न अस्वीकार गर्नुको कारण यही हो ।’

बालुवाटारको विशेष दूत बनेर बुधबार दलका उपनेता सुवासचन्द्र नेम्वाङ, बिहीबार पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेल तथा शुक्रबार बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दाहाल निवास खुमलटार पुगे । 

एक्लाएक्लै भेटवार्ता भन्दा पनि सचिवालय बैठक नै डाकेर छलफल गर्नुपर्ने दाहालको मत रहेको उनले बताए । मन्त्रिपरिषद पुनर्गठनको विषय स्मरण गर्दै उनले अगाडि भने, ‘असोज २८ गते प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरौ भन्‍नुभयो । अध्यक्ष दाहालले यस्तो बेला नगरौ, सचिवालयमा छलफल गरेर गरौं भन्नु भयो । प्रधानमन्त्री जीले हुन्छ भनेझै गरी मुन्टो हल्लाउनु भयो । दाहाल मन्त्रिपरिषद् पुनर्गठन नहुनेमा ढुक्क हुनुभयो । तर साँझ एक्कासी प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो भन्‍ने समाचार आयो । अध्यक्षलाई समाचार आएपछि बल्ल थाहा भयो । उहाँ(प्रधानमन्त्री)ले एकलौटी, अध्यक्षलाई एक आखर पनि नसोधी निर्णय गर्नुभयो ।’ 

दाहालको इच्छा विपरित ओलीले असोज २८ मा मन्त्रिपरिषद् हेरफेर, नियुक्ति र कार्यविभाजन गरेका थिए । प्रधानमन्त्री ओलीले निर्णय गर्ने, सहमति गर्ने तर काम गर्दा एकलौटी गर्ने गरेकाले दाहालसँग संवादको वातावरण बन्‍न नसकेको उनको भनाइ छ । 

नेपाललाई फकाउँदै ओली 
दाहालसँग संवाद हुन नसकेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटघाटलाई तिब्रता दिएका छन् । अध्यक्षद्वयबीच संवाद हुन नसकेपछि ओलीले नेता नेपालसँग दुई पटक भेटेरै छलफल गरेका छन् । ओलीले नेता नेपालसँग कात्तिक ४ गते र गत मंगलबार बालुवाटारमा एक्लै भेटेका हुन् । भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे दुवै पक्षका नेताहरू खुलेर बोल्न चाहदैनन् । 

तर नेता नेपाल निकट स्रोतले ओलीले आफूसँग सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेको बताउँछ । ‘प्रधानमन्त्रीले सहकार्यका लागि नेता नेपालसँग आग्रह गर्नु भएको हो । आगामी महाधिवेशनसम्म मिलेर जान प्रस्ताव गर्नुभयो,’ नेपाल निकट ती नेताले भने, ‘तर नेता नेपालले यस विषयमा प्रधानमन्त्रीलाई कुनै प्रतिक्रिया दिनु भएन ।’ 


 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x