राजनीति

शक्ति प्रदर्शनको होडबाजी : नाटकै हो ! नौटंकी नै हो...!

विनोद देवकोटा |
माघ १९, २०७७ सोमबार ९:४९ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनपछि मुलुकको राजनीतिक वृत्त दुई धारमा विभाजित भयो। एउटा धार विघटनको पक्षमा उभियो भने अर्को विपक्षमा ।

नागरिक समाज, मिडिया, मुद्दिजिवीहरू प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए। प्रधानमन्त्री केपी शर्मा ओली निकटको सयन्त्र भने यसको पक्षमा उभियो । यो मुद्दामाथि सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। गम्भीर संवैधानिक व्यख्या गर्ने जिम्मेवारी पनि सर्वोच्चले नै हो । तर, अहिले यो विचाराधीश विषयलाई लिएर शक्ति प्रदर्शनको होडबाजी चलेको छ ।  


शक्ति प्रदर्शनको यही होडबाजीमा होमिएको नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह पनि। शनिबार धनगढीमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्‍यो । समूहको नेतृत्व गरिरहेका दाहाल र नेपालसहितका नेताले सम्बोधन गरे । विरोध सभामा मानिसहरूको उपस्थिति पनि उल्लेख्य देखियो । त्यसअघि शुक्रबार र बिहीबार नेकपा दाहाल–नेपाल समूहले विराटनगर र बृटवलमा विरोध सभा गरेको थियो ।

दाहाल–नेपाल समूहले धनगढीमा विरोध सभा गरिरहँदा प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली भने चितवनमा थिए । नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली चितवन पुगे । उनीसहित गृहमन्त्री रामबहादुर थापासहितका नेतालेसम्बोधन गरे । चितवनको सभामा पनि जनमास राम्रै थियो ।

शक्ति प्रदर्शनको शृंखला

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ओली समर्थित बाहेक नेकपाकै दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी, विवेकशील साझा पार्टीलगायत नागरिक समाजसमेत आन्दोलित छ ।

दाहाल–नेपालले समूहले पुस १० माइतीघरमा विरोध प्रदर्शन गरेको थियो । विरोधमा अध्यक्षद्वय दाहाल–नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए । जसको व्यापक चर्चा र आलोचनासमेत भयो ।

विरोधलार्ई विस्तार गर्दै १४ गते काठमाडौंसहित देशव्यापी विरोध सभा गर्‍यो । माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित वृहत् विरोध सभा गरेको समूहले त्यसलाई निरन्तरता दिइरहेको छ । ९ गतेको सभामा शक्ति देखाउन उपत्यका आसपासका जिल्लबाटसमेत कार्यकर्ता ल्याइएको थियो । समूहले दैनिक साना ठूला विरोध सभा जारी नै राखेको छ ।

समूहले माघ २८ गते पुनः काठमाडौंमा प्रदर्शन गर्दै छ । यसलाई समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्णायक संघर्ष भनेका छन् । दोस्रो चरणको आन्दोलन बारे जानकारी दिँदै दाहाललले पेरिसडाँडाबाट २८ गतेको संघर्षलाई निर्णायक संघर्षको संज्ञा दिएका थिए ।

‘टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि भन्ने सोचेर टाउकोमै हान्ने निष्कर्षमा पुगेका छौँ । काठमाडौंमा अझै ठूलो जनसभा र प्रर्दशन हुन्छ । निर्णायक संघर्ष हुन्छ,’ उनको भनाइ थियो । २८ गतेको प्रदर्शनलाई हालसम्मकै विशाल बनाउने योजना समूहको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्तिक रहेको समूहको ठहर छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिन समूहले विरोध सभाहरू गरिरहेको छ ।

कांग्रेस र जसपाको छुट्टा छुट्टै प्रदर्शन

विघटनको विपक्षमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि छुट्टाछुट्टै विरोध प्रदर्शन गरिरहका छन् ।

विघटनको विरोधमा कांग्रेसले तेस्रो चरणको आन्दोलनको तयारी थालेको छ । पहिलो र दोस्रो चरणमा वडास्तरदेखि पालिका, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । विघटनको विरोधमा कांग्रेसले १३ पुसमा संसद् निर्वाचन क्षेत्रमा, २५ पुसमा प्रदेश सभा निर्वाचन क्षेत्रमा, ३ माघमा स्थानीय तहमा र ८ माघमा वडास्तरमा विरोध र्‍याली तथा विरोध सभा गरिसकेको छ ।

तेस्रो चरणको आन्दोलन अन्तरगत १९ माघमा भ्रातृ संस्थाहरूले र २४ माघमा शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त विरोध प्रदर्शन र कार्यक्रम गर्ने तथा ३ फागुनमा जिल्ला कार्यसमितिहरूले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय तयारी गरेको छ ।

विघटनको विरोधमा जनता समाजवादीले पनि विरोध प्रदर्शन गरिरहेको छ । देशव्यापी पुस ८ मा प्रदर्शन गरेको जसपाले प्रधानमन्त्रीको पुतला दहनदेखि मसाल जुलुस निकाल्नेसम्मका कार्यक्रम गरिरहेको छ । जसपाले विरोध कार्यक्रमलाई निरन्तर जारी राखेको छ ।

कांग्रेस र जसपा मात्रै होइन विवेकशील साझा पार्टीसहित नागरिक समाज पनि आन्दोलित छ । विवेकशील साझाले रचनात्मक आन्दोलन गरिरहेको छ । नागरिक समाजले गत सोमबार बालुवाटार मार्च गरेको थियो ।

ओलीको काउन्टर सभा

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा ओली समूह बाहेक सबै दल विरोधमा छन् । दल बाहेक नागरिक समाज पनि आन्दोलित छ ।

तर अनौठो के छ भने विघटनको पक्षमा रहेको ओली समूहले पनि शक्ति प्रदर्शनका नाममा आमसभा गरिरहेको छ । विघटनको विरोधमा रहेकाहरूलाई काउन्टर दिने हिसाबले देशका विभिन्न ठाउँमा आमसभाहरू गरिरहेको छ ।

यसको सुरुवात ओली समूहले सुदूरपश्चिमबाट गरेको थियो । सुदूरश्चिमको आम सभालाई सम्बोधन गर्न स्वयं प्रधानमन्त्री ओली पुगेका थिए । त्यसपछि समूहले दाङ, चितवनलगायतका विभिन्न ठाउँमा आम सभा सम्पन्न गरिसकेको छ । जहाँ सम्बोधन गर्न प्रधानमन्त्री ओली नै पुगेका थिए । यसबाहेक ओली समूहले विभिन्न जिल्लामा आमसभाहरू गरिरहेको छ ।

समूहले दाहाल–नेपाल समूहलाई काउन्टर दिने हिसाबले माघ २३ गते काठमाडौंमा सभा गर्दै छ । वाग्मती प्रदेश कमिटीको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता ल्याउने ओली समूहको तयारी छ । नारायाणहिटीअगाडि हुने उक्त सभाका लागि समूहले एक साताअघि देखि नै तयारी थालेको छ । ठूलो संख्यामा मानिसहरू उपस्थित गराउने समूहको तयारी छ ।

दाहाल–नेपाल पक्षले गरिरहेको विरोध सभालाई काउन्टर दिनेगरी आफूहरूले पनि आम सभा गर्न लागेको स्वयं प्रधानमन्त्री ओलीले नै बताएका छन् । गत शुक्रबार बबरमहलमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नै यसलाई काउन्टर सभाका रूपमा व्याख्या गरे । ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उनले भने, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ,’ उनको भनाइ थियो ।

सो भेलालाई सफल पार्न प्रधानमन्त्री ओलीले शुक्रबार महानगरको भेलामा समेत आह्वान गरेका थिए ।

मान्छे उतार्ने प्रतिस्पर्धा

विघटनको विरोधमा होस् वा विरोधीलाई काउन्टर दिन आम सभामा मान्छे देखाउने प्रतिस्पर्धा नै चलिरहेको छ । त्यसका लागि उनीहरूले आम सभा हुने स्थल आसपासका जिल्लाबाट समेत कार्यकर्ता ओसार्ने गरेका छन् । गाउँगाउँमा गाडी पठाएर भेलामा कार्यकर्ताहरू ल्याइरहेका छन् । यसमा विशेषगरी नेकपाकै दुई समूहबीच प्रतिस्पर्धा चलिरहेको छ ।

काठमाडौंमा हुने आम सभामा आसपालसका जिल्लबाट समेत मानिसहरू ल्याएर संख्या बढाउने काम दुवै समूहले गरिरहेका छन् । उपत्यका बाहिरका सभामा यही क्रम जारी छ । सभामा उपस्थित कार्यकर्ताको संख्या देखाएर नै उनीहरू मख्ख पर्ने गरेका छन् । दुवै समूहले सभामा मान्छे तान्न अनेक प्रयत्न गरिरहको छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका क्रममा छ । दुवै पक्षले दाबी गरेजस्तो विघटन संवैधानिक वा असंवैधानिक ? विघटन सदर हुन्छ वा प्रतिनिधि सभा पुनर्स्थापना ? यसको छिनोफानो संवैधानिक इजलासले गर्ने छ । उसो भए पक्ष र विपक्षमा शक्ति प्रदर्शन के का लागि ?

राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्र गौतम दुवै पक्षले आफ्ना मुद्दा बलियो बनाउन शक्ति प्रदर्शन गरिहेको बताउँछन् । ओली पक्षले विघटन र चुनावको पक्षमा जनमत देखाउन र दाहाल–नेपाल पक्ष विघटन र पुनर्स्थापनाको पक्षमा जनमत देखाउन शक्तिप्रदर्शन गरिरहेको उनको भनाइ छ । ‘ओलीको त चुनावी तयारी हो । उहाँको सम्पूर्ण प्रयत्न चुनावमुखी छ,’ उनले भने, ‘अर्को पक्षले चुनावमा जाने जनमत छैन । पुनस्थापनाकै पक्षमा जनमत छ भनेर देखाउन खोजेकोे हो ।’

शक्ति देखाएर उनीहरूले दिन खोजेको राजनीतिक सन्देश चाहि के ? गौतम भन्छन्, ‘दाहाल–नेपाल पक्षको यसमा दुईटा आँकलन हुनसक्छ । भन्न नमिल्ने तर गर्न पर्ने । पूरै जनमतको खिलाफमा त अदालत पनि जान सक्दैन भन्ने आँकलन होला । अदालतलाई पनि मार्गदर्शन गर्ने गरी शक्ति प्रदर्शन गरेका होलान् । तर अदालतले हेर्ने भनेको त संविधान हो । राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास हो ।’

तर नेकपा इतर दलहरूले भने शक्ति प्रदर्शनमा ध्यान नदिएको उनको भनाइ छ । ‘कांग्रेसको त प्रदर्शनमा देखिनको लागि मात्रै हो,’ उनले भने, ‘तैले केही गरिनस् भन्लान भनेर मात्रै हो । एउटा लाइनमा कुरा गरिरहेको छैन । असंवैधानिक र अलोकतान्त्रित कदमको विरोध भन्छ । तर केको लागि भन्ने नै छैन । विघटन असंवैधानिक र अलोकतान्तिक भन्छ तर, के स्थापित गर्न खोजेको भनेको छैन । नेकपा इतरका कसैमा पनि गतिशिलता देखिँदैन ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x