राजनीति

फेवा प्रतिवेदन बुझाएकै भोलिपल्ट नापी अधिकृतको सरुवा

अनिष भट्टराई |
असोज १२, २०७८ मंगलबार १५:३९ बजे

फाइल तस्बिर

पोखरा – कास्कीका प्रमुख नापी अधिकृत खिमलाल गौतमले २०७६ जेठ ८ को बिहानमा सर्वेयरका रूपमा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेके । उनले बिहान ३ बजे सगरमाथा चुचुरोमा पाइला राखेका थिए । ढाडमा उनीसँग थुप्रै यन्त्र थिए । उनी त्यहाँ चुचुरो चुम्न मात्र गएका थिएनन्, सगरमाथाको उचाइ नाप्न पुगेका थिए । 
ग्राउन्ड पेनिट्रेटिङ राडर (जीपीआर) बाट हिउँको गहिराइ नापे । स्याटेलाइट सिस्टमबाट शिखर पनि नापे । यस दिन गौतमका लागि खास थियो । नेपालकै लागि पनि खास थियो, किनकी नेपालले इतिहासमै पहिलो पटक आफैं सगरमाथा मापन गरेको थियो । 

गौतमलाई सो दिन ६ हजार पाँच सय मिटर उचाइबाट नर्भिक अस्पताल लगिएको थियो । हिउँले उनको दुई खुट्टाको बुढी औंलामा घाउ बनाएको थियो । अहिले पनि उनका दुई खुट्टामा घाउको चोट अझै बाँकी छ । उनी दिन बेहोस नै भए । तर उनको मनमा एउटा अठोट बाँकी थियो उनी नापी कार्यालय कास्की फर्किएर आफूले सुरु गरेको नयाँ कामलाई अघि बढाउनु । सगरमाथा जानुअघि उनले नेपालमै पहिलो पटक नापीका काम गर्न मिल्नेगरी मोबाइल एप्लिकेसन सुरु गरेका थिए । सर्भे अफिस पोखरा नामको एप सुरु गरेपछि विदेशबाटै नापीका काम गर्न मिल्ने भएको छ । गौतम भन्छन्, ‘बिचौलिया हटाउन मोबाइल एप सुरु गराएको थिएँ । पछि कोलोराडो, न्युयोर्क, सियोलबाट फोन पनि आयो धन्यवाद भन्दै ।’ अहिले यो एपलाई १ हजार जनाभन्दा बढीले डाउनलोड गरेका छन् । 


गौतमलाई २०७७ मा नयाँ जिम्मेवारी पनि थपियो । २०७७ कात्तिक २ गते पुण्य पौडेलको संयोजकत्वमा फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समिति बनाइयो । समितिको सदस्य सचिव बनाइएका थिए गौतम । सर्वोच्च शिखर सगरमाथा नापेका उनलाई फेरि पोखराको सबैभन्दा बढी चासो रहने फेवा तालको ४ किल्ला निर्धारण, सीमांकन गर्न लगाइयो । 

गौतमले यस कामलाई पनि सहज रूपले नै लिए । अहिले ४ किल्ला निर्धारण, सीमांकन र नक्सांकन गरेर प्रतिवेदन नेपाल सरकारलाई बुझाइ सकिएको छ । ‘मैले यो काम पनि गर्न सकेँ । सरकारले आजसम्म कुनै नक्सा राजपत्रमा अंकित गरेको छ भने एउटा नेपालको चुच्चे नक्सा र फेवातालको नक्सालाई अंकित गरेको छ । फेवा जस्तो महत्वपूर्ण तालको लागि काम गर्न सकें,’ उनी गर्व साथ सुनाउँछन् । 

२८ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिए पनि प्रधानमन्त्रीले समय नदिएपछि भूमि सुधार मन्त्रालयलाई प्रतिवेदन बुझाइयो । प्रतिवेदन बुझाएको केही दिनमै उनको सरुवा भएको छ । उनी नवलपुर जिल्लाको कावासोतीमा रहेको नापी कार्यालयमा सरुवा भएका छन् । ‘२८ गते प्रतिवेदन बुझाएपछि २९ गते टिपोट नै लेखेर मेरो मात्र सरुवा भएको सुनेँ । तर यसलाई गलत रूपले बुझिनँ,’ उनी भन्छन् । गौतमको भनाइमा उनी अझै काम गर्न चाहन्थे । तर उनले मुख खोल्न सकेनन् । कारण उनी सरकारी कर्मचारी हुन्, नियममा बस्नुपर्छ । 

सामान्यतः निजामती कर्मचारी २÷२ वर्षमा सरुवा हुन्छन् । उनी कास्कीमा ३ वर्ष ८ महिना बसे । तर संयोग कस्तो प¥यो भने, फेवातालको प्रतिवेदन बुझाएकै भोलिपल्ट उनी सरुवा भए । यसलाई फेवा तालप्रति चासो राख्नेहरूले राजनीतिक कदमको रूपमा अर्थाएका छन् । फेवाताल सीमांकन र नक्सांकनपछि अतिक्रमण गरेकाहरूको पक्षमा लाग्दै कामलाई पूर्णता नदिन सरकारले उनलाई सरुवा गरिदिएको केही पोखरेलीको बुझाइ छ । 

फेवा र सगरमाथामा मापनको काममा आफ्नो मात्रै अनावश्यक प्रचार भएको ठान्छन् । ‘गोल हान्न साथीहरूले बल पास दिनु भयो । फुटबल खेलाडी मेसीको जस्तै मेरो प्रचार भयो,’ गौतम भन्छन् । उनले सुरक्षा, स्रोत र साधन तथा राम्रो समूह भए बिग्रेको जुनसुकै ठाउँमा गएर काम गर्न तयार रहेको बताए । 

गौतमलाई सोमबार नागरिक स्तरबाट बिदाइ गरिएको छ । नागरिक समाज कास्की, वातावरण संरक्षणको लागि महाअभियान कास्की, रत्नमन्दिर तथा फेवाताल सरोकार समितिले औपचारिक कार्यक्रम गरी गौतमलाई प्रशंसापत्र प्रदान गरेको छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x