राजनीति

अब शिखर सम्मेलन नभए सार्कको हैसियत समाप्‍त

चन्द्रशेखर अधिकारी |
मंसिर ३०, २०७७ मंगलबार ११:२९ बजे

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन नेपालले गरेर भएपनि अध्यक्षता हस्तान्तरण गर्न सदस्य राष्ट्रहरूले कूटनीतिक दवाब दिन थालेका छन् । सार्कले अब पनि शिखर सम्मेलन गर्न सकेन भने यो संगठनको औचित्यमाथि प्रश्न उठ्‍नेछ ।

पाकिस्तान स्वयंले आफ्‍नोमा नभए सार्क सचिवालय भएकै मुलुक नेपालमा शिखर सम्मेलन गर्न सकिने संकेत दिएको छ । त्यसपछि यो विषयमा छलफल सुरु भएको परराष्ट्र अधिकारीले जानकारी दिए । यस विषयलाई सार्कका वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खासै गम्भिरतापूर्वक लिएको देखिदैन । सार्क सहकार्य बारे अध्यक्षबाट प्रयास नै नभएको गुनासो परराष्ट्र अधिकारीले पटक-पटक गर्दै आएका छन् । 


पाकिस्तानमा २०१६ को नोभेम्बरमा हुने भनिएको शिखर सम्मेलन भारत-पाकिस्तानको सम्वन्धको कारण अन्तिम समयमा स्थागित भएपछि नेपाल सन २०१४ देखि लगतार सार्कको नेतृत्वमा नै छ । तर, कोभिड-१९ को विरुध्दको सहकार्यमा होस या अन्य विषयमा नेपालले अध्यक्षता ग्रहण गरेको अनुभूति दिलाउन सकेको छैन । त्यसैपनि सार्क भारतको छायाँमा रहेको संगठन हो । नेपालको अध्यक्षतामा त्यो छायाँ थप उजागर भएको धारणा अन्य सदस्य मुलुकको छ ।  

‘कूटनीतिमा यो गर्‍यौं, त्यो गर्‍यौं भनिरहेका छन्, तर खै त सार्ककै लागि कूटनीतिक पहल गरेको ?,’ पूर्व राजदूत डा. भट्टराई 

पाकिस्तानबाहेक अन्य बंगलादेश र श्रीलंकाले पनि नेपालमा शिखर सम्मेलन गर्ने विषयलाई सकारात्मक रूपमा लिंदै सम्मेलन ढिला गर्न नहुने जनाएका छन् । लिखित रूपमा कुनै पत्राचार नभएपनि मौखिक छलफल चरणबद्ध चल्दै आएको छ । यद्यपि सार्कको चार्टर डे अर्थात् डिसेम्बर-८ का दिन आएको सन्देशमा सबैले शिखर सम्मेलन तत्काल गर्दै भएका सहमतिलाई कार्यावन्यनमा लैजान पर्नेमा जोड दिएका थिए ।

स्पष्टै छ, भारतले चाहेको खण्डमा सार्कको राजधानी काठमाडौँमा १९ औं शिखर सम्मेलन हुन सम्भव छ । सार्कको शिखर सम्मेलन हरेक मुलुकमा पालै-पालो गर्ने भनिए पनि आपसी टकरावको कारण समयमा हुन सकेको छैन । आरम्भमा चार शिखर सम्मेलन लगातार भएपनि त्यसपछि शिखर सम्मेलन हुन सकेको छैन ।

सार्कलाई बुझेका कूटनीतिज्ञहरूले समेत समयमा सार्क गर्न नसके यो संस्थाको औचित्य समाप्त हुने भन्दै तत्काल शिखर सम्मेलन गर्न र यसअघि भएका सम्झौता कार्यावन्यनमा लैजान सुझाएका छन् । तिनको सुझाव छ, भारत र पाकिस्तानकै कारण ईस्लामावादमा शिखर सम्मेलन नहुने हो भने नेपालले काठमाडौँमा सम्मेलन आयोजना गर्ने प्रस्ताव लिएर जनु राम्रो हुन्‍छ ।

सार्कको चौथौ शिखर सम्मेलनपछि बिथोलिन थालेको भएपनि यति लामो समय सम्मेलन नभएको यो पहिलो घटना हो । सार्क स्थापनाको ३६ वर्षमा पहिलो पटक यस्तो अवस्था आएको भन्दै सदस्य मुलुकहरू नै निराश छन् । यसअघि बढीमा चार वर्षसम्म लम्बिएको थियो, यसपालि सात वर्ष पुग्दैछ । नियमित भएको भए यतिबेला पाकिस्तान त्यसपछि श्रीलंका हुँदै अफगानिस्तानले समेत शिखर सम्मेलन गरिसक्ने थिए ।

‘सार्कको शिखर सम्मेलन अब पनि नगर्ने हो भने संगठनको भविष्य नै सकिनेछ । यति लामो समयसम्म शिखर सम्मेलन नभएको यो पहिलो हो,’  डा‍. पाण्डे 

सार्कमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान सदस्य छन् । अफगानिस्तान बाहेक अन्य सबै संस्थापक सदस्य हुन । कान्छो सदस्य अफगानिस्तानले अझै शिखर सम्मेलन गरेको छैन भने अन्य सबै मुलुकमा शिखर सम्मेलन भैसकेका छन् । भुटानले एक पटक शिखर सम्मेलन गरेको छ भने अन्य सदस्यमुलुकमा दुई र दुईभन्दा बढि पटक शिखर सम्मेलन भइसकेको छ ।

नेपाल यति लामो समयसम्म सार्कको अध्यक्ष रहेर पनि शिखर सम्मेलनको पहल गर्न सकेको छैन । किनकि सार्कको केन्द्रमा रहेको भारतसँग नेपाल स्वयंको सम्बन्ध राम्रो हुन सकेको छैन । ‘कूटनीतिमा यो गर्‍यौं, त्यो गर्‍यौं भनिरहेका छन्, तर खै त सार्ककै लागि कूटनीतिक पहल गरेको ?,’ पूर्व राजदूत डा. दिनेश भट्टराईले इकागजसँग भने, ‘वर्तमान सरकारले कूटनीतिमा सुधारको निकै ठूला गफ दिए पनि सामान्य प्रकारको कार्यसमेत गर्न सेकेको छैन ।’ यसैबाट सरकारको दृष्टि स्पष्ट हुन्‍छ, उनले भने ।

‘नेपाल सार्कको अध्यक्ष हो भन्ने अनुभूति समेत गराउन सकेको छैन’ उनले भने, ‘सार्कका अन्य गैरसरकारी गतिविधि सबै काठमाडौंमा हुन्छन् भने शिखर सम्मेलन किन हुन सक्दैन ? यो विषय नेपालले गम्भीर रुपमा उठाएको खण्डमा साँच्चै काठमाडौँ सार्कको राजधानीको रूपमा दरिने अवस्था छ ।’

‘पाकिस्तानमा जान नमान्‍नेहरूलाई काठमाडौँ ल्याउने पहल अध्यक्ष मुलुक नेपाल नै गर्नुपर्छ ।’

दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास)का प्रमुख डा. निश्चलनाथ पाण्डे पनि अफगानिस्तान, पाकिस्तान, भारतमा गर्न नसकिएको बैठक काठमाडौँमा हामीले गराइरहेका हुन्छौं भने सरकारी संयन्त्रले पनि शिखर सम्मेलन काठमाडौँमा गर्न सक्ने बताउँछन् । सार्कको मुख्यालय काठमाडौंमा भएको अनुभूति गराउन सकेको खण्डमा र सबै सदस्य मुलुकले साँच्चै सार्कलाई अघि बढाउन चाहेका हुन भने नेपालले सानो प्रयास गर्दा शिखर सम्मेलन सम्भव हुन्छ , उनी भन्छन् ।

‘सार्कको शिखर सम्मेलन अब पनि नगर्ने हो भने संगठनको भविष्य नै सकिनेछ । यति लामो समयसम्म शिखर सम्मेलन नभएको यो पहिलो हो,’ उनले भने, ‘अब पाकिस्तानमा हुन सक्दैन भने नेपालमा नै गर्न सकिन्छ । काठमाडौं सार्कको राजधानी हो । तर, वर्तमान सरकारले त्यसप्रकारको विश्वासको वाताबरण बनाउन सक्‍नुपर्‍यो ।’

त्रिभुवन विश्वविद्यालयमा अन्तराष्ट्रिय मामिला पढाउँदै आएका प्रा.डा. खड्क केसी पनि सार्कलाई चलायमान बनाउन शिखर सम्मेलन तत्काल आवश्यक भइसकेको बताउँछन् । ‘नेपाल सार्कको वर्तमान अध्यक्ष हो । अन्यत्र सम्बन्ध राम्रो नभए पनि नेपालमा सबैको हार्दिकता रहेकाले यहाँ शिखर सम्मेलन सम्भव छ,’ डा. केसीले भने, ‘सार्कलाई मर्न दिनु हुँदैन ।’

‘नेपाल सार्कको वर्तमान अध्यक्ष हो । अन्यत्र सम्बन्ध राम्रो नभए पनि नेपालमा सबैको हार्दिकता रहेकाले यहाँ शिखर सम्मेलन सम्भव छ,’ डा. केसीले भने, ‘सार्कलाई मर्न दिनु हुँदैन ।’

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको परिचयात्मक भेटमा पाकिस्तानका विदेश सचिव सोहेल मोहम्मदले सार्क शिखर सम्मेलनका लागि नेपालले निर्वाह गरेको भूमिका सराहनीय भएको बताएका छन् । ‘सार्क प्रक्रिया अगाडि बढाउन सार्कको अध्यक्ष मुलुकको हैसियतमा खेलेको भूमिकाको म खुलेर प्रशंसा गर्छु,’ पाकिस्तानको विदेश मन्त्रालयले सोहेललाई उद्धृत गर्दै उल्लेख गरेको छ, ‘हामी नेपालको भूमिकाप्रति निकै खुशी छौं ।’

तापसले शिखर सम्मेलनमा नेपालमा गर्ने विषयमा भने खासै कुरा नभएको तर नेपालले निर्वाह गरेको भूमिकाबारेमा पाकिस्तानले प्रशंसा गरेको उनले बताए । राजदूत तापास एक महिनाअघि पाकिस्तान पुगेका हुन् । उनले राष्ट्र प्रमुखसँग ‘क्रेडेन्सियल’ बुझाएपछि राजनीतिक र कूटनीतिक भेटघाट थाल्ने भन्दै त्यसपछि धेरै विषयमा छलफल हुने बताए ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x