राजनीति

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले बिदाको व्यवस्था गर्नुपर्ने

इकागज |
जेठ १५, २०८१ मंगलबार १९:३३ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले बिदाको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्ष्यमा मंगलबार राजधानीमा गरेको साइकल र्यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले बिदाको व्यवस्था गर्न पहल गर्ने बताइन् । महिला हिंसा तथा महिनावारीसम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेका वर्षझै यसवर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्याली गरेको थियो ।


यसवर्ष 'महिनावारीमैत्री विश्वव्यापी हातेमालो' भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ । 

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरेको पहिलो साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । उनले यस वर्ष चार सय पचास सहभागीमा ७५ प्रतिशत महिला र्यालीमा सहभागी भएको बताए । 

युनिसेफका प्रतिनिधि जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए । उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताइन् । उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन् । उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्येक विद्यालयमा महिनावारीसम्बन्धी सहजीकरण कार्यक्रम गरिरहेको बताइन् । 

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसँग सम्बन्धित रहेकाले वातावरण प्रदूषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए । उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदूषण घटाउनुपर्ने बताए ।


Author

थप समाचार
x