राजनीति

निर्माणाधीन संसद् भवनको कामप्रति सभामुख घिमिरेको असन्तुष्टि

इकागज |
चैत २५, २०८० आइतबार १८:१९ बजे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहे पनि तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाउँमात्रै रहेको जिकिर गरे ।


सभामुख घिमिरले संसद् भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरूलाई समाधान गर्न आफूले पहल गर्ने बताए ।

एक वर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशतमात्रै काम भएको देखिएको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ । 


Author

थप समाचार
x