राजनीति

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्ने गरी कानुन बनाउन आग्रह गरेकी छु : मन्त्री श्रेष्ठ

इकागज |
चैत २३, २०८० शुक्रबार १८:४४ बजे

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको बताएकी छन् ।

एक महिना कार्यालय पुरा भएसंगै अहिलेसम्मका उपलब्धि र भावी योजनाबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पाठ्यक्रमको गुणस्तरदेखि विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनेसम्मका काम भएको जानकारी दिइन् ।


उनले शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउनका लागि कार्यदल बनाएर काम भइरहेको बताइन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्ने गरी कानुन बनाउन आफूले आग्रह पनि गरेको उनले बताइन् ।

मन्त्री श्रेष्ठले अन्य मन्त्रालयमा चाहिने मानव श्रोतका बारेमा जानकारी लिएको र  प्रशिक्षार्थीसम्बन्धी कार्यविधि स्वीकृत गरिरहेको जिकिर गरिन् । उनले मन्त्रालयलाई पूर्ण रूपमा डिजिटल बनाइएको र मन्त्रालयमा फाइल अड्कने समस्या समाधान गर्न डिजिटल हस्ताक्षर सुरु गरिसकेको बताइन् ।

उनले विद्यालय शिक्षा विधेयकलाई छिट्टै अघि बढ्ने विश्वास व्यक्त गर्दै विभिन्न मापदण्डहरू पनि छलफलका क्रममा रहेको उल्लेख गरिन् । तीनै तहका सरकारबीच समन्वय गर्दै राष्ट्रिय मापदण्डअनुसार काम गर्न आफूले अनुरोध गरेको उनको भनाइ छ ।

त्यस्तै मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयहरूमा आवश्यकताअनुसार लगानी गर्ने भन्दै त्यसअनुसारको नतिजा नआए कारबाही गर्ने धारणा राखिन् । उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउने र त्यसका लागि अध्ययन गरिने जानकारी दिइन् । 


Author

थप समाचार
x