राजनीति

कांग्रेस महाधिवेशन

ठेली नै नपठाई सदस्यतासम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्लालाई सर्कुलर

मधुसुधन भट्टराई |
मंसिर ८, २०७७ सोमबार १७:३९ बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले सबै जिल्लामा सदस्यताको ठेली नै नपठाई सदस्यतासम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा पठाउन सर्कुलर जारी गरेको छ । तीन जिल्लामा समायोजन नसकिएकाले र एक जिल्लामा समायोजन सकिएपनि सदस्यताको फारम नपठाएको केन्द्रीय कार्यालयले सबै जिल्लालाई मंसिर मसान्तसम्म सबै विवरण केन्द्रमा पठाउन सर्कुलर जारी गरेको हो ।
 
गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरूमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्त कायम गर्ने,’ निर्णय गर्‍यो ।

त्यही निर्णय अनुरुप मंसिर २ मा केन्द्रीय कार्यालयले ‘क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सम्पूर्ण विवरण केन्द्रमा पठाउने सम्बन्धमा,’ भनेर सर्कुलर जारी गर्‍यो । सर्कुलरमा केन्द्रीय समितिको निर्णय अनुसार मंसिर मसान्तसम्म क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण विवरण नविकरण र वितरणसम्बन्धी विवरण मंसिर मसान्तसम्म पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्कसहित अनिर्वाय केन्द्रमा पठाइसक्न भनिएको छ ।


कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने मिति कार्यतालिकासहित तय गरेको थियो । आन्तरिक कार्यतालिका पटक-पटक परिवर्तन गरेपनि महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन । 

'सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र नीधिले नपठाउन भनेका कारण केन्द्रीय कार्यालयले सोलुखुम्बुमा सदस्यताको ठेली नपठाएको हो ।' 

अहिलेसम्म बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बुमा सदस्यताको ठेली नपठाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । ३ जिल्लामा संविधानमा उल्लेख शासकीय स्वरुप अनुरुप संगठन समायोजन नसकिएकाले र एउटा जिल्लामा सकिएको भएपछि क्रियाशील सदस्यताको ठेली नपठाइएको हो । 

कांग्रेसले संगठन समायोजनको फाइनल गर्ने जिम्मेबारी पार्टीले १४ औं महाधिवेशनका लागि गठन गरेको निर्वाचन समितिलाई दिएको छ । समितिका संयोजक वरिष्ठ अधिवक्ता राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले तीन जिल्लाको समायोजन सक्न बाँकी रहेको बताए । ‘बारा, सप्तरी र सिन्धुपाल्चोकको समायोजन सकिएको छैन, हामीले काम गरिरहेका छौ,’ संयोजक अधिकारीले इकागजसँग भने । समायोजनको काम अन्तिम अन्तिम चरणका पुगेकाले केही दिनमा सकिन र त्यसपछि मात्रै सदस्यतासम्बन्धी काम सुरु हुने उनले जानकारी दिए । 

सोलुखुम्बुमा समायोजनको काम सकिएपनि सदस्यताको ठेली पठाइएको छैन । समायोजन सकिएपनि किन पठाइएन भन्‍ने इकागजको प्रश्‍नमा केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘यही कारणले नपठाइएको हो भन्ने त मैले भन्‍न सक्दिन, समायोजन सकिएपनि केही मिल्न बाँकी होला । त्यही भएर मलाई पठाउन भनिएको छैन । कांग्रेसमा सभापतिको निर्देशनमा मुख्यसचिवले क्रियाशील सदस्यताको ठेली जिल्लालाई पठाउने गर्छन । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र नीधिले नपठाउन भनेका कारण केन्द्रीय कार्यालयले सोलुखुम्बुमा सदस्यताको ठेली नपठाएको हो । 

मुख्यसचिव पौडेलले समायोजन सकिन बाँकी जिल्लामा यो साताभित्र सदस्यताको ठेली पुगिसक्ने बताए । ‘समायोजन सक्न अहिलेपनि निर्वाचन समितिको बैठक बसिरहेको छ । केही वडामा मात्रै समायोजन बाँकी रहेकाले एक दुई दिनमा मिलिसक्छ । र यही साताभित्र हामीले सभापतिलाई बोलाएर सदस्यताको ठेली हस्तान्तरण गछौं,’ पौडेलले भने । समायोजनको काम नसकिँदै सदस्यताको ठेली नदिँदै सदस्यतासम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा पठाउन मिति नै तोकेर सबै जिल्लामा तपाइ आफैले हस्ताक्षर गरेर सर्कुलर जारी गरिसक्नु भयो नी ? भन्ने प्रश्‍नमा उनले भने, ‘समायोजन सकिएपनि हाम्रो सदस्यता वितरणको प्रक्रिया सहज छ । मंसिर मसान्तसम्म सकिइसक्छ भन्‍ने हाम्रो अनुमान हो ।’

कांग्रेसले ०७६ फाल्गुण १३ र ०७७ साउन २२ मा क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्र गरेको थियो । परिपत्रमा उल्लेख व्यवस्था बमोजिमको सबै प्रकृया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने पनि पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ । 

यस्तो छ पौडेलले जारी गरेको परिपत्र :


 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x