राजनीति

कन्सल्टेन्सीलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौं : श्रममन्त्री सिंह

इकागज |
असोज ४, २०८० बिहीबार १७:१० बजे

फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्रहरूलाई (कन्सल्टेन्सी) अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन् ।​ बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिसाको नाममा जानेहरूमा बढी विकृति देखिएको जिकिर गरे । उनले उक्त काम मेनपावरहरू भन्दा पनि कन्सल्टेन्सीहरूमार्फत अध्ययन र कलेजको नाममा भइरहेको पाइएको बताए । उनले वैदेशिक रोजगार व्यवसायी संघमार्फत वैदेशिक रोजगारीमा जानेहरूमा समस्या नभएको दाबी गरे ।


मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्रहरूले वैदेशिक रोजगारीमा पठाउने श्रमिकहरूको रेकर्ड सरकारसँग पनि नभएको भनाइ राखे । उनले त्यस्ता संस्थाहरूको कुनै उत्तरदायित्व नहुने भएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुने गरी शैक्षिक परामर्श केन्द्रहरूले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी रहेको बताए ।

उनका अनुसार पछिल्लो समय ९९ प्रतिशत भिजिट भिसामा जाने महिला कामदारहरू समस्यामा रहेका छन् । घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको उनकाे भनाइ छ । उनले घरेलु कामदार रोक्नका लागि समितिको निर्देशन आवश्यक रहेको बताए ।

मन्त्री भण्डारीले सरकारले सम्बन्धित मुलुकको अवस्था र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको बताए । उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य रोजगारीमा जाने देशको भाषा र सीप तालिम दिएर मात्रै पठाउने व्यवस्था गरिने बताइ । उनले सरकारले वैदेशिक रोजगारीमा देखिएका वर्तमान समस्या समाधान गर्ने गरी काम गरिरहेको पनि बताए ।

मन्त्री भण्डारीले फ्रि भिसामा विगतका वर्षहरूमा १५ हजार मानिसहरू वैदेशिक रोजगारीमा गएको जनाए । वार्षिक रूपमा १५ हजार मानिसहरू वैदेशिक रोजगारीमा गएको र फ्रि भिसामा कामदारको माग भए अनुसार पठाउने गरिएको उनले बताए ।

उनले फ्रि भिसा फ्रि टिकटका लागि नेपाल सरकारले मलेसियासँग सम्झौता भएको भन्दै त्यहाँका कम्पनीहरूले श्रमिकको मागअनुसार विज्ञापन गरेर फ्रि भिसामा पठाउने व्यवस्था रहेको बताए ।


Author

थप समाचार
x