राजनीति

बालुवाटारमा डेढ घण्टा छलफल

ओलीले गरे देउवालाई सत्ता सहयात्राको आग्रह, मागे जति दिन ओली तयार

मधुसुधन भट्टराई |
मंसिर ७, २०७७ आइतबार ११:१३ बजे

फाइल तस्बिर

काठमाडौं : सत्तारुढ दल नेकपाको विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शनिबार दिउँसो करिब डेढ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली र देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए । देउवा पार्टी केन्द्रीय सदस्य रमेश लेखकसहित प्रधानमन्त्रीलाई भेट्न दिउँसो तीन बजे बालुवाटार पुगेका थिए ।


प्रधानमन्त्रीको सचिवालयका अनुसार विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा नियुक्तिका विषयमा उनीहरूबीच कुरा मिल्न सकेन । पटक-पटक भएको छलफलमा पनि कुरा नमिलेपछि विश्वविद्यालयमा उपकुलपति र संवैधानिक निकायमा पदाधिकारी कसरी नियुक्तिको सिफारिस गर्ने भन्ने विषयमा सहमति जुटाउन सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो । संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्त गरी ४८ पद रिक्त छ । अधिकांस विश्वविद्यालय उपकुलपतिलगायत पदाधिकारीविहिन छन् ।

नियुक्तिका विषयमा कुराकानी गर्न भनेर बोलाए पनि प्रधानमन्त्री र देउवाबीच सत्ता सहयात्राका विषयमा पनि कुराकानी भएको स्रोतहरु बताउँछन् । बालुवाटर स्रोतका अनुसार सत्तारुढ दल नेकपा फुटको संघारमा रहेको र फुटेमा सत्ता सहयात्राका लागि ओलीले देउवालाई आग्रह गरेका छन् । त्यति मात्र होइन सत्ता सहयात्राका लागि के के चाहिने हो त्यो दिन आफू तयार रहेकाले सहयोग गर्न पनि ओलीले देउवालाई आग्रह गरेको स्रोतले बतायो ।

‘कांग्रेसलाई इंगेज बनाएर, नियुक्तिहरुमा अल्झाएर पछि पार्टी फुट्ने अवस्था आएमा सत्ताको सहयात्री बनाउन ओलीले चाहेका छन् । त्यसै विषयमा सभापतिज्यू र सिंगो कांग्रेसको मन बुझ्न संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न बोलाइएको भेटवार्तामा भएका कुराकानी सुन्दा देखियो,’ कांग्रेस स्रोतले भन्यो, ‘नेपाली कांग्रेस त्यस्तो ललिपपमा भुल्न हुँदैन । यसमा सभापति देउवा जानिफकार नै हुनुहुन्छ ।’ देउवा र ओलीबीच झण्डै आधा घण्टा छुट्टै छलफल भएको थियो । 

यता प्रधानमन्त्रीको सचिवालय स्रोतले संवैधानिक नियुक्तिका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग प्रधानमन्त्रीले भेटेको र समसामयीक राजनीतिका विषयमा अनौपचारिक कुराकानी भएको जनाएको छ । नेकपामा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले गठजोड बनाएका बेला ओलीले देउवासँग सत्ता सहयात्राका लागि सहयोग माग्नुले नेकपामा गम्भीर संकटमा रहेको देखिएको छ ।

भेटमा देउवासँगै केन्द्रीय सदस्य लेखक थिए भने प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो । कांग्रेसका तर्फबाट संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सहभागी भएको बताइएपनि श्रेष्ठले इकागजसँग आफू उपत्यकाबाहिर रहेको बताए । ‘म बिहीबारदेखि गृहजिल्ला स्याङजामा छु । म होइन सभापतिसँग अरु साथी जानु भएको होला, उतै काठमाडौंमा बुझ्नुस’ श्रेष्ठले इकागजसँग भने ।

ओलीले देउवासँग संवैधनिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, दुई नेताबीच भागवण्डामा कुरा मिल्न सकेको छैन । यसअघि देउवासँग शुक्रबार साँझ नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेटेका थिए । क्‍वात्राले भेटेको भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानमन्त्रीबीच लामो छलफल हुनुलाई राजनीतिमा केही खिचडी पाक्न लागेको त होइन भन्ने अर्थमा बुझ्न सकिने विश्लेषकहरू बताउँछन् ।


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x