राजनीति

नेकपा विवादबारे विपक्षी दल भन्छन्

सरकारको अक्षमता लुकाउन झगडाको नाटक गरिरहेका छन्

मधुसुधन भट्टराई |
मंसिर ६, २०७७ शनिबार १८:४५ बजे

काठमाडौं : सत्तारुढ नेकपा भित्रको आन्तरिक किचलोका कारण सरकारले कोभिड–१९ महामारी नियन्त्रणमा जनअपेक्षित काम गर्न सकिरहेको छैन । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली जनताका समस्या समाधान गर्न भन्दा अध्यक्ष र प्रधानमन्त्रीको कुर्सी बचाउने रणनीति बनाउन केन्द्रित छन् । नागरिकहरूलाई संविधान प्रदत्त अधिकार पाउन पनि सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्नु पर्‍यो।

प्रतिपक्षी दलहरू भने २०४७ पछिको सबैभन्दा शक्तिशाली सरकार असफल भएपछि त्यसलाई ढाकछोप गर्न नेकपा नेताहरूले कचिंगल गरिरहेको आरोप लगाउँछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले सरकारको असफलता ढाकछोप गर्न नेकपा नेताहरू पार्टीमा विवाद गरिरहेको बताउँछन् ।


पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, पूर्वमन्त्री तथा जसपा वरिष्ठ नेता सरतसिंह भण्डारी र पूर्वमन्त्री तथा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले इकागजसँगको कुराकानीमा ओली नेतृत्वको सरकार पूरै असफल भइसकेको बताएका हुन् ।

कांग्रेस नेता साउदले असफल भइसकेको ओली नेतृत्वको सरकारले मार्ग प्रशस्त गर्नु बाहेक अर्को विकल्प नरहेको बताए ।  ‘ओली नेतृत्वको सरकार पुरै असफल भइसकेको छ,’ साउदले भने, ‘यो असफल सरकारसँग मार्ग प्रशस्त गर्ने बाहेक अर्को केही उपाय देखिन्न ।’

जसपा वरिष्ठ नेता भण्डारीले नेकपा नेताहरू सरकार सञ्चालनमा देखिएका कमजोरी लुकाउन पार्टीमा विवाद गरिरहेको बताए । ‘सरकार सञ्चालनमा देखिएको कमिकमजोरी र अक्षमतालाई लुकाउन, ओझेलमा पार्न नेकपा नेताहरू पार्टीभित्र विवादको नाटक गरिरहेका छन्,’ भण्डारीले भने, ‘मुलुकका लागि उनीहरूको यो कचिंगलले नराम्रो अवस्था सृजना गरिरहेको छ । पार्टी र पार्टीका केही नेताहरूको कमजोरीले गर्दा राजनीतिक प्रर्णाली र व्यवस्थामाथि नै मानिसहरूको अनास्था देखिन थालेको छ ।’

राप्रपा अध्यक्ष राणाले वर्तमान सरकारले जनताबाट प्राप्त म्याण्डेटलाई धोका दिएको बताए । ‘सत्तारुढ दल नेकपाभित्रको आन्तरिक झगडाले सरकारको मुल उद्देश्यलाई विचलित पार्ने काम गरेको छ,’ राणाले भने, ‘जनताबाट प्राप्त म्याण्डेटलाई धोका दिएर आफ्नै पार्टीको झगडाभित्र रुमल्लिनु अहिले देखिएका हरेक किसिमका चुनौतिमा जुध्न नसक्नु नै हो ।’

इकागजले उनीहरूलाई ‘सत्तारुढ नेकपाभित्रको विवादले राज्य र आमनागरिकलाई के असर गर्छ’ भनेर सोधेको थियो । उनीहरूको जवाफ जस्ताको तस्तै : 

०००००००

सरकार असफल भइसक्यो, मार्ग प्रशस्त गर्नुको विकल्प छैन    


एनपी साउद, 
केन्द्रीय सदस्य नेपाली कांग्रेस

सत्तारुढ दल नेकपाको लगातारको झगडाले राज्य निरन्तर अस्थिरताको बाटोमा गयो भन्ने सन्देश जान्छ । करिब दुई तिहाइको सरकारमा पार्टीका केही नेताहरूको बहुमत र प्रधानमन्त्रीको संसदीय दलमा बहुमतको स्थितिले अन्तद्वन्द्व झन् जटिल मोडमा पुगेको छ । अपुष्ट समाचार अनुसार प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको सम्भावनाको खोजी गरिरहेको देखिन्छ, त्यसले थप संकट र जटिलताहरू उब्जाएको छ ।

यस्तो अवस्थामा तत्कालै एउटा निकास दिनु पर्ने आवश्यकता छ । त्यो निकास भनेको मध्यावधि निर्वाचन वा शीघ्र निर्वाचन हो । त्यो नै सबैभन्दा दिगो निकास हुन्छ र प्रत्यक्षतः जनतासम्म पुग्ने बाटो हुन्छ । सरकार पुरै असफल भइसकेको छ । यो असफल सरकारले मार्ग प्रशस्त गर्ने बाहेक अर्को केही उपाय देखिन्न ।

जहाँसम्म नेपाली कांग्रेसको विषय हो, कांग्रेसले कुनै पनि पार्टीको विभाजनमा भूमिका खेल्दैन । विभाजित भएका खण्डमा कांग्रेसले ‘पार्टनर च्वाइस’ गर्ने विकल्प जहिले पनि छ । पाटनर च्वाइस गर्दा ‘डेमोक्रयाटिक कमिटमेन्ट’ भएको विश्वसनियता भएको र मुलुकप्रति जिम्मेवार भएको पार्टीलाई प्राथमिकता दिन्छौ । 

००००
कमजोरी लुकाउन विवादको नाटक गरिरहेका छन् 

सरतसिंह भण्डारी, 
वरिष्ठ नेता जनता समाजवादी पार्टी

केपी शर्मा ओली नेतृत्वको सरकार सम्पूर्ण रुपमा विफल भइसकेको छ । आफ्नो विफलतालाई लुकाउन आन्तरिक झगडा गरिरहेका हुन । अहिले नेकपामा देखिएको विवाद राज्यको हक हितसँग कुनै पनि सरोकार राख्ने विषय होइन । एक वर्षदेखि अहिलेसम्म लकडाउन र कोभिड–१९ले त्रासदी उब्जाएको बेलामा आफूभित्र आन्तरिक रुपमा जाहेज विवाद थिए भने पनि थाती राखेर मुलुकलाई यो महामारीबाट उन्मुक्ति दिलाउन राज्य एकढिक्का हुनुपर्ने हो ।

अहिले स्वास्थ्य, आर्थिक, सामाजिक क्षेत्रमा सबै नागरिकलाई साथमा लिएर कोभिडविरुद्ध सरकारले लड्नुपथ्र्यो । विशेषगरी राजनीतिक पार्टीहरूलाई एकढिक्का बनाएर सरकार अगाडि बढ्नु पर्ने बेलामा आफ्नै पार्टी पनि सम्हाल्न सक्ने अवस्था देखिएन । राज्यका सबै क्षेत्रमा व्यापक असन्तुष्टि, अराजकता, अनुशासनहिता, भ्रष्टाचार भएको मेरो करिब ४० वर्षदेखिको संसदीय राजनीतिमा कहिल्यै देखेको थिएन ।

म २०३८ सालदेखि अहिलेसम्म कुनै न कुनै रुपमा संसदीय राजनीतिमा छु । राजनीतिक व्यवस्थामा सांसद र पञ्चायतमा राष्ट्रिय पञ्चायतको सदस्य भए । तर, यस्तो बेकाइदा र अस्तो अस्तव्यस्त सरकार अहिलेसम्म कहिले देखेन । सत्य कुरा अहिले सत्तामा भएकाहरुले राज्य चलाउने मर्म, अनुभव, संवेदनशीलता, राज्य र जनताप्रतिको जिम्मेवारी नभएकाले अहिलेसम्मको संघर्षबाट आएको उपलब्धि गुम्ने हो कि भन्ने चिन्ता आम नागरिकमा छ ।

आफ्नो सरकार सञ्चालनमा देखिएको कमिकमजोरी र अक्षमतालाई लुकाउन ओझेलमा पार्न पार्टीभित्र विवादको नाटक गरिरहेका छन् । मुलुकका लागि उनीहरुको यो कचिंगलले नराम्रो अवस्था सृजना गरिरहेको छ । पार्टी र पार्टीका केही नेताहरुको कमजोरीले गर्दा राजनीतिक प्रर्णाली र व्यवस्थामाथि नै मानिसहरूको अनास्था देखिन थालेको छ । त्यसको फाइदा अन्य गैह्रजिम्मेबार व्यक्रिहरूले उठाउलान भन्ने चिन्ता छ । 
००००
सरकार कोभिडविरुध्द जुध्ने रणनीति बनाउनु पर्नेमा पार्टीको झगडामा रुमल्लियो


पशुपतिशमशेर राणा
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी 

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक झगडाले सरकारको मुल उद्देश्यलाई विचलित पार्ने काम गरेको छ । अहिले सरकारको मुख्य कार्य कसरी कोभिड–१९ सँग मुकाविला गर्ने भन्ने हुनुपथ्र्यो । नियन्त्रण गर्ने भन्ने हुनुपथ्र्यो । सरकार मुलुकको समस्या समाधानमा केन्द्रित हुनुपथ्र्यो । तर, सरकार त्यसको ठिक विपरित पार्टीको झगडामा केन्द्रित भइरहेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार २०४७ सालपछि बनेका सबै सरकारहरूभन्दा शक्तिशाली सरकार हो । जनताबाट प्राप्त यत्रो म्याण्डेटलाई धोका दिएर आफ्नै पार्टीको झगडाभित्र रुमल्लिनु अहिले देखिएका हरेक किसिमका चुनौतिमा जुध्न नसक्नु नै हो । 

सरकार समस्याप्रति उत्तरदायी भएमा सुध्रिन सक्छ । समस्या सम्बोधन गर्ने साहस देखाउन प-यो । अहिले धेरै अनियमितताका कुराहरू आएका छन् । भ्रष्टाचारले सीमा नाघेको छ । यी विषय बन्द गर्नुपर्‍यो । जनताले दिएको म्याण्डेट अनुरुप काम गर्नुपर्‍यो ।


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x