राजनीति

अस्पतालहरूमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

इकागज |
जेठ १७, २०८० बुधबार १७:९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।​

बुधबार काठमाडौँ महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । उनले अस्पतालहरूमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरू के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे ।


उनले सो काम सुरु भइसकेको भन्दै अब त्यस प्रकारको समस्या नहुने बताए । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए । उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।

मन्त्री बस्नेतले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने जनाए । उनले सुर्तिजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।

उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने जिकिर गरे ।


Author

थप समाचार
x