राजनीति

प्रधानमन्त्रीले भारत भ्रमणमा कर्णाली वा कोशीमा सम्झौता गर्ने शंका छ : उपाध्याय

इकागज |
जेठ ११, २०८० बिहीबार १८:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल-भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमा सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले यस्तो शंका व्यक्त गरेका हुन् ।

उनले प्रधानमन्त्रीले यो पटकको भारत भ्रमणमा नयाँ सम्झौता हुने बताउँदै आएको भन्दै कोशी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्नसक्नेप्रति चनाखो रहन आग्रह गरे । उनले नेपाल र भारतको १९५० को सन्धिमा भएको सम्झौता अनुसार भारतले नेपाललाई पानी कहाँ पुर्याउने, कति दिने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको बताए । उनले नेपाल-भारतबीचमा भएका सन्धि सम्झौताहरू पालना नभएको जिकिर गरे ।


उपाध्यायले गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहरमा अहिले पानी नभएको उल्लेख गरे । उनले सम्झौता उल्लङ्घन गर्ने भारतसँग जलविद्युत् र पानीका सम्बन्धमा सरकार नयाँ-नयाँ सम्झौता गर्दै जानु राम्रो नभएको बताए । उनले आफ्नो स्रोतलाई सरकारले पानी नभएर विद्युत् दिएको भन्दै सबै भारतलाई बुझाई सकिएको बताए ।

१५० मेगावाटको कर्णाली आयोजना भारतलाई नदिन बारम्बार प्रधानमन्त्रीलाई भन्दा पनि नमानिकन भारतको जिएसआरलाई दिँदा १० वर्षसम्म पनि बन्न नसकेको उनकाे भनाइ छ । कर्णाली आयोजना श्रीपेजको हिरा भनेको भए पनि भारतीय कम्पनीले अलपत्र बनाएको उनले आराेप लगाए ।

उपाध्यायले नेपाल सरकारको अब पानीमा स्पष्ट नीति बनाउन आवश्यक रहेकाे औंल्याए । उनले भारतसँग पानीका सम्बन्धमा सम्झौता गर्दा नेपाल चनाखो हुन आवश्यक रहेको पनि बताए । विश्वको पानीको धनी मुलुकमध्ये एक नेपाल भएको भन्दै सरकारले पानीको हिसाब गर्न आवश्यक रहेको उनकाे भनाइ छ । उपाध्यायले प्रधानमन्त्रीले भारत भ्रमणमा विद्युतको कुरा गर्दा पानीको हिसाब गरेर कुरा गर्नुपर्ने बताए । उनले विगतको जस्तो भिजन पेपरमा हस्ताक्षर गर्नु नहुने बताए ।

उपाध्यायले १९५० को सन्धिमा नेपालको सीमा खुला राख्नुपर्ने व्यवस्था नगरेको खुलासा गरे । उनले अहिलेसम्म सरकारले नेपालको सीमा खुला राखिरहेको भन्दै किन खुला राखेको भन्ने बुझ्न नसकेको बताए । उनले नेपालको सीमाना भारतका लागि खुला हुने तर भारतको नेपालीको लागि खुला नहुने अवस्था रहेको बताए । उनले आर्थिक रूपले सिमाना खुला राख्नुपर्छ भन्ने नभएको भन्दै आर्थिक रूपमा सिमाना खुला राख्दा झनै खतरा रहेको जिकिर गरे।

प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा समेत  गौरवका साथ संयुक्त विज्ञप्तिमा भारतसँग परम्परागत पुरानो सम्बन्धका साथ खुला सिमाना भन्ने गरेको भन्दै त्यस्तो गर्नु आवश्यक नभएको उनकाे धारणा छ । उनले अहिलेसम्म कुनै पनि सरकारले नेपाली सीमा खुला राख्न नहुने भनेर बन्न नसकेको बताए । उनले भारतसँगका सन्धिहरूमा सीमा खुला राख्नुपर्छ भनेर नलेखेको भन्दै नेपालले चाहे सीमानामा पर्खाल लगाउनु सकिने बताए ।

 

 

 


Author

थप समाचार
x