राजनीति

को हुन् सहरी विकासमन्त्री गुरुङ ?

'ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य'

इकागज |
चैत १७, २०७९ शुक्रबार २१:३४ बजे

काठमाडौँ- नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङले मन्त्रालयको कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सिंहदबारस्थित मन्त्रालयमा आज पद बहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताइन् ।


मन्त्री गुरुङले स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, 'मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ । ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै कन्द्रित हुनुपर्छ ।'

मन्त्री गुरुङले क्षेत्रगत रूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

को हुन् मन्त्री गुरुङ ?

सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । उनी कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पनि हुन् । मन्त्री गुरुङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी भएकी थिइन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी गुरुङले तत्कालीन संविधानसभा सदस्यको भूमिका समेतमा आफूलाई अब्बल सावित गरेकी थिइन् ।

गुरुङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भई महिला सशक्तीकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित भएकी नेता हुन् । साहित्यमा रुचि राख्ने गुरुङ विभिन्न आन्दोलनमा सक्रिय रहिन् । कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरुङ नेपाल महिला सङ्घको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बनेकी थिइन् ।


Author

थप समाचार
x