राजनीति

समाचार टिप्पणी

कांग्रेस-माओवादीको रटान- राष्ट्रपतिमा राष्ट्रिय सहमति

विनोद देवकोटा |
माघ १३, २०७९ शुक्रबार १९:४६ बजे

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरू पछिल्लो समय एकै स्वरमा भनिरहेका छन्, 'राष्ट्रपतिमा राष्ट्रिय सहमति ।' 

दुवै पार्टीका इतरदेखि र भितरका अधिकांश नेता राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाइरहेका छन् । स्वयं माओवादी अध्यक्ष भन्न थालेका छन्, 'केपी ओलीबाट सहमति पालना भएन ।' प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीको स्थायी समितिमा एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् । प्रचण्डको गुनासो छ, 'संसद् विघटनको विषय ओलीले संसद्‍मा प्रवेश गराए ।' माओवादीका एक स्थायी समिति सदस्यका अनुसार 'नेताहरूबीच संसद् विघटनको विषय सार्वजनिक रूपमा नउठाउने सहमति भएको थियो । त्यो पालना भएन । संसद्मै विघटनको कुरा उठाउँदा प्रचण्डलाई असहज महसुस भएको छ । संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन गरियो, अहिले ठिक थियो भन्न सकिँदैन ।'


संसद् विघटनको कुरा संसद्‍मा ओलीले पहिले उठाएका होइनन् । संसद् विघटनको कुरा उठाएर 'ओली-प्रचण्डबीच फाटो' ल्याउने रणनीतिअनुरूप कांग्रेसले उठाएको हो । जसले केही हदसम्म रणनीतिअनुरूप काम पनि गरेको देखिन्छ । कांग्रेसले प्रश्‍न उठाएपछि प्रतिवादमा उत्रिनु ओलीको बाध्यता थियो । उनी उत्रिए । तर प्रचण्ड यसबारे अक्क न बक्क भएका छन् । जसले प्रचण्डलाई चिढ्याएको छ । विघटनविरुद्ध सडक आन्दोलनसमेत गरेका प्रचण्ड अहिले यसको बचाउ न प्रतिवाद गर्ने अवस्थामा छन् । विघटनमा साथ रहेकाहरू विपक्षमा छन् । विपक्षमा रहेकाहरूसँग काँध जोडिएको छ । उनी चाहेर पनि केही बोल्न सक्ने अवस्थामा छैनन् । मझधारबाट दुवैको प्यारो बन्न पनि सजिलो छैन ।

अविश्वासबीच विश्वासको मत दिएपछि हौसिएका प्रचण्ड कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छन् । जसले ओलीको 'मोनोपोली'लाई पनि ब्यालेन्स गर्ने प्रचण्ड रणनीति छ । उनी चाहन्छन् सत्ताको साँचो ओलीसँग मात्रै नहोस् र कांग्रेसको हातमा पनि नपुगोस् । मझधारमा रहँदा दुवैतिर लाग्न सकिने विकल्प जहिल्यै खुला रहन्छ र जोखिम पनि उत्तिकै हुन्छ ।

प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति नै खोजिरहेका छन् । बिहीबारको स्थायी समिति बैठकमा पनि उनले यसबारे नेताहरूलाई 'ब्रिफिङ' गरेका छन् । साथै सुझाव पनि मागेका छन् ।

उसाे त  सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिसकेकाे छ । दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारूढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले निर्णय गरेको थियाे। याेबारे बैठकमाएमालेसहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने छलफल चलेकाे हाे ।

माओवादीकाे साे बैठकमा धेरैजसो नेताहरूले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढ्ने नीति लिएको छ ।

सभामुख एमालेको भइसकेकाले राष्ट्रपति पनि उसैलाई दिँदा भोलि ओली प्रधानमन्त्री हुँदा समस्या निम्तिन सक्ने प्रचण्डको आँकलन छ । जसमा कांग्रेसले घ्यू थपिरहेको छ । संसद् विघटन र संविधान रक्षाको रटान लगाएर कांग्रेस प्रचण्डको मन/मत जित्ने मौका खोजिरहेको छ ।

अढाइ वर्षपछि सरकारको नेतृत्व ओलीले लिने गठबन्धनबीच सहमति छ । अहिले राष्ट्रपति एमालेलाई दिँदा अढाइ वर्षपछि सभामुखदेखि राष्ट्रपति र प्रधानमन्त्रीसमेत एमालेको हातमा हुनेछ ।

प्रचण्ड मात्रै होइन अधिकांश माओवादीले नेताको मत पनि उस्तै छ, 'राष्ट्रपतिमा राष्ट्रिय सहमति।' संसद्लाई पाँच वर्ष टिकाउन र संविधानको रक्षा गर्न राष्ट्रिय सहमतिको आधारमा अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । माओवादी सचिव देवेन्द्र पौडेलले भन्छन्, 'राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित जाने भनेका छौँ । राष्ट्रपति साझा पद हो । साझा पदमा सबैले सम्मान गर्ने साझा व्यक्तित्व आएको राम्रो । राष्ट्रिय सहमति कांग्रेस वा एमाले कसैलाई बाइपास गरेर हुँदैन ।’

कांग्रेसका नेताहरूको स्वर पनि एउटै छ, 'राष्ट्रपतिमा राष्ट्रिय सहमति ।' कतिसम्म भने सभापति देउवाको विरोध गरेर नथाक्ने इतर समूहका नेताहरू समेत देउवा लाइनमा उत्रिएर सहमतिको भाषा बोल्न थालेका छन् । महामन्त्री गगन थापासमेत 'कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई माओवादीले भोट हाल्नुपर्ने' तर्क गर्छन् । उनको तर्क छ - 'नेकपा (माओवादी केन्द्र)ले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो । किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।'

कांग्रेस नेता शेखर कोइराला पनि राष्ट्रपतिमा सहमति खोज्नुपर्ने लाइनमा छन् । शशांकको धारणा पनि उस्तै छ । देउवा लाइनका नेताहरूको स्वर त सुरुदेखि नै एउटै छ ।

कांग्रेसका अधिकांश नेताले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति र सहमतिभित्र ढल्दै गरेको वर्तमान गठबन्धन देखेका छन् । यो प्रयास सभामुख निर्वाचनमा पनि धेरथोर नभएको होइन । तर कांग्रेसको केही चलेन ।

सत्ताबाट एक्कासि बिमुख बनेको कांग्रेसका लागि राष्ट्रपतिमा सहमतिको रटान अस्वाभाविक होइन । राष्ट्रिय सहमतिको रटान लाएर ओली-प्रचण्डबीच दुरी बढाउने अचुक औषधि कांग्रेसले खोजिरहेको छ ।

एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्नसक्ने त्रास कांग्रेसले देखाइरहेको छ । जसमा प्रचण्ड पनि लगभग 'कन्भिन्स्' छन् । परिणामत: माओवादी नेताहरूले पनि राष्ट्रपतिमा सहमति खोज्न थालेका छन् । उनीहरूलाई पनि डर छ, 'दुई वर्षपछि ओली प्रधानमन्त्री (हालको गठबन्धनको सहमतिअनुसार) बन्छन् । त्यतिबेला राष्ट्रपतिदेखि प्रधानमन्त्री र सभामुख पनि एमालेको हुन्छ । फेरि पुरानै नियति दोहोरिने हो कि ? फेरि संसद् विघटन हुने हो कि ? बेलैमा सोचिएन भने भविष्यमा पछुताउनेबाहेक विकल्प रहनेछैन । माओवादीजनमा अहिले उब्जिरहेको प्रश्न यही हो । त्यही भएर त कांग्रेस सभापति शेरबहादुर देउवाबाट 'धोका' पाएर एमालेको शरणमा पुगेको उनीहरूलाई फेरि कांग्रेस प्यारो लाग्न थालेको छ । यसका निश्चित कारण छन् । पहिलो अकस्मात बनेको 'खिचडी' गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड विश्वस्त हुन सकेका छैनन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पनि विश्वास छैन । ओलीले जुनसुकै बेला धोका दिन सक्छन् भन्ने भय र अविश्वास प्रचण्डमा छ।

अहिले पनि सत्ताको चाबी ओलीकै हातमा छ । प्रधानमन्त्री बनाउन ओली 'किङमेकर' रहे । राष्ट्रपतिमा प्रचण्ड किङमेकर बन्न खोजिरहेका छन् । सकेसम्म ओलीलाईसमेत मनाएर सर्वहसमतिको राष्ट्रपति बनाउने प्रचण्डको जोड छ । जसले एमाले-कांग्रेस दुवैको साथ र समर्थन बनाइराख्ने उनको योजना हुनसक्छ । तर यो त्यति सहज छैन । किनभने एमाले-कांग्रेस दुवैले राष्ट्रपतिमा आफ्नो दाबी छोड्नेवाला छैनन् । यहाँ प्रचण्डलाई अवसरसँगै चुनौती पनि छ । एमालेलाई राष्ट्रपति दिउँ दुई वर्षपछि पुरानै स्थिति आउला भन्ने डर । नदिउँ सरकार तलमाथि होला भन्ने भय । प्रधानमन्त्री बन्दा अकस्मात कांग्रेसको साथ छोड्दै एमालेको साथ लिएर प्रधानमन्त्री बनेका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा पुरानो गठबन्धनतर्फ फर्किन पनि सहज छैन ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x