राजनीति

प्रधानमन्त्रीमा प्रचण्डकाे एक महिना : अभूतपूर्व विश्वास, पूर्ण सरकार

इकागज |
माघ १०, २०७९ मंगलबार १९:१५ बजे

फाइल तस्बिर

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पपुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको एक महिना पूरा भएको छ । यो एक महिनामा प्रधानमन्त्री दाहालले गरेका कामहरु उनको सचिवालयले सार्वजनिक गरेको छ ।

एक महिनामा भएका कार्यसम्पादन तथा उपलब्धीहरु सचिवालयले सार्वजनिक गरेको हो । जसमा पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डप्रति समर्थन ऐतिहासिक रहेकोसमेत जनाइएको छ । ‘त्यो नेपाली राजनीतिकै निम्ति अभूतपूर्व र ऐतिहासिक छ । सत्ता साझेदार दलहरूले मात्र होइन, प्रमुख प्रतिपक्षी दल लगायत संसदमा सहभागी सबैजसो दलले विश्वास मत दिनु देशको सर्वस्वीकार नेतृत्व वर्तमान प्रधानमन्त्री नै भएको सर्वस्वीकारोक्ति हो ।’ सार्वजनिक गरिएको पत्रमा उल्लेख छ ।


२७० जना सांसद उपस्थित भएको सदनबाट २६८ मत प्राप्त गर्नु प्रधानमन्त्रीका निम्ति गौरवको कुरा मात्र राष्ट्रिय सहमति र सहकार्यको नेतृत्व गर्ने चुनौतीसमेत रहेको सचिवालयले जनाएको छ ।

सुशासन र सेवा प्रवाहका क्षेत्रमासमेत प्रधानमन्त्रीले प्रारम्भिक पहल लिइसकेको दाबी सचिवालयको रहेको छ ।

त्यस्तै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गरी सुशासनका क्षेत्रमा विशेष पहल लिन आग्रह गरेको र  आवश्यक नीतिगत, संस्थागत, संरचनागत सहयोगका लागि सरकार प्रतिवद्ध रहेकोसमेत स्पष्ट पारेको जनाइएको छ  । राहदानीको प्राविधिक कक्षमा देखा परेको समस्या प्रधानमन्त्रीकै विशेष निर्देशनमा सम्वोधन भएको सचिवालयको दाबी छ । ‘प्रधानमन्त्रीकै निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यमा कटौती भएको छ, यद्यपि प्रधानमन्त्रीले निर्देशित गरेअनुसारकोमूल्य कटौतीका लागि थप अध्ययन र सहजीकरणको आवश्यकता देखिन्छ ।’ सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार प्रधानमन्त्री भएपछिको एक महिनाको अवधिमा प्रचण्ड २१ दिन सिंहदरबार बसेर कार्यसम्पादन गरेको उल्लेख छ ।

यो अवधिमा प्रधानमन्त्रीले भारत, चीन, अमेरिका, स्वीजरल्याण्ड, जर्मनी, कतार, युएईराजदूतहरूका साथै यूरोपेली यूनियन लगायतका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा सबै मुलूकका राजदूतहरूले वर्तमान सरकारसँगको सहकार्य थप मजभूत हुने प्रतिवद्धता व्यक्त गर्दै मित्रराष्ट्रहरूबाट प्राप्त हुँदै आएको सद्भाव र सहयोगमा बढोत्तरी हुने विश्वास दिलाएको विज्ञप्तिमा उल्लेख छ । 
 


Author

थप समाचार
x