राजनीति

गण्डकीमा एक दिन : संसदीय चलखेलको एउटा 'केस स्टडी'

अनिष भट्टराई |
बैशाख १५, २०७८ बुधबार १९:५८ बजे

पोखरा : गण्डकी प्रदेश सभामा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । विपक्षी सांसदहरू प्रदेश सरकार ढलाएर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन गर्न चहान्थे । अर्कोतर्फ सत्तारुढ दल एमाले सरकार बचाउन अन्तिम जोडबल गर्दै थियो ।

यसैबीच मंगलबार प्रदेश सभा सचिवालयले गराएको कोभिड-१९ परीक्षणको रिपोर्ट बिहान ९ बजे सांसदको हातमा आइपुग्यो । सत्तारुढ एमाले सांसदहरूले कोभिड परीक्षण बिनै सदन बस्न नुहने भनेर मंगलबारको बैठक अवरुद्ध गरेपछि यो परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्टमा ३ सांसदमा कोभिड संक्रमण देखियो । जसमा एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङ थिए ।


दिउँसो १ बजेलाई पूर्वनिर्धारित कार्यसूची अनुसार सांसदहरू संसद् भवन पुगे । तर, संसद् ढिलागरी पौने २ बजेमात्र सुरु भयो । बैठकमा २० सांसद बोल्ने कार्यसूची थियो । तर, केही सांसदले नाम फिर्ता लिइसकेका थिए ।

बैठक बसेपछि केही सांसदहरू अनुपस्थित रहेको भन्दै तरंग फैलियो । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद दीपक मनाङे गयल भएको हल्ला चल्यो । सांसदद्वयलाई अन्य सांसदले फोन गर्न थाले । तर, उनीहरूको फोन अफ थियो ।

साढे ४ बजे सांसद मनाङे इकागजसँग सम्पर्कमा आए । उनले आफूलाई मनाङका जनताले पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध नलाग भनेपछि मत हाल्न नआएको प्रतिक्रिया दिए । त्यसको केही बेरमै सांसद शाही अस्पतालमा भर्ना भएको तथ्य बाहिरियो ।

पौने ५ बजे राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो दलका सांसद सम्पर्कविहीन भएको र भेटिएपछि मात्रै सदन बोलाउने गरी बैठक स्थगित गर्न सभामुखलाई निवेदन दिइन् । सभामुखले ५ बजेर १० मिनेटमा अनिश्चितकालका लागि बैठक स्थगित गरिदिए ।

सभामुख नेत्रनाथ अधिकारी माओवादी सांसद हुन् । माओवादी, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर लगेको अविश्वास प्रस्तावमा मतदान हुन नदिन उनले बैठक अन्त्य गरेको एमाले सांसद बताउँछन् ।

‘संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एक जना सांसद अनुपस्थित भएपनि स्थगित गर्दै जानुपर्छ,’ एमाले सांसद धनञ्जय दवाडीले भने, ‘होइन भने सभामुखले तत्कालै राजीनामा दिनुपर्छ ।’

राष्ट्रिय जनमोर्चाका सांसद चरक अस्पतालमा भर्ना भएको उनका स्वकीय सचिवले खुलाए । अस्पताल स्रोतले शाही कोरोना संक्रमित भएर आईसियुमा भर्ना भएको बतायो । तर प्रदेश सभाले मंगलबार गराएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

दिउँसो कोरोना पोजेटिभ भन्दै देखाइएको रिपोर्ट पनि शंकास्पद छ । पोजेटिभ देखिएको स्वाब पनि मंगलबार नै संकलन गरिएको रिपोर्टमा उल्लेख छ । मंगलबारकै स्वाबमा एउटा रिपोर्ट पोजिटिभ आएको छ भने अर्को नेगेटिभ । यसले सांसद किनबेच भएको आशंका विपक्षी पार्टीमा छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x