राजनीति

संसदीय दलको नेता नछानी कसैले प्रधानमन्त्री घोषणा गरेर केही हुँदैन : शेखर काेइराला

बाबुराम भण्डारी |
मंसिर ९, २०७९ शुक्रबार १४:७ बजे

विराटनगर- मोरङ ६ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय दलको नेता छान्ने प्रक्रिया नै सुरु नभइ प्रधानमन्त्री घोषणा गरेर केही नहुने बताएका छन् । आफ्नै समूहका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको स्वघोषणा गरेको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाएको प्रति टिप्पणी गर्दै उनले कसले के के गरेका छन् भन्ने कुरा महत्वपूर्ण नहुने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र लिन जाने क्रममा नेता कोइरालाले संसद्‍मा को–को पुगेका छन् भन्ने कुरा नै आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।


‘कसले के गर्यो भन्ने महत्वपूर्ण होइन, संसदीय दलको नेता जबसम्म छानिँदैन कांग्रेसभित्र, तबसम्म कसैले घोषणा गरेर केही हुँदैन,’ उनले भने, ‘संसद्‍मा को को पुगेका छन् त्यो पनि थाहा छैन हामीलाई, समानुपातिकमा को–को छन् त्यो पनि थाहा छैन, रिजल्ट आउनै बाँकी छ ।’

कोइरालाले आफू अझै दुई/तीन दिन विराटनगर बस्ने र साथीभाइहरूसँग सल्लाह गर्ने बताए । उनले आगामी सरकार पनि यही गठबन्धनकै बन्ने दाबी गर्दै भने, ‘गठबन्धन रहन्छ यो ।’

उनले संसदभित्र नयाँ दलहरू पनि उदाएको विषयमा प्रतिक्रिया दिँदै त्यसलाई परम्परागत राजनीतिक दलहरूसँगको वितृष्णाभन्दा व्यक्तिहरूसँग वितृष्णाका रूपमा बुझ्नुपर्ने बताए । ‘दलहरूप्रति वितृष्णा भयो भने त दलीय सिस्टम नै रहँदैन,’ उनले भने, ‘हामीले सुशासन दिन सकेनौँ, भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ, दण्डहीनताकाे अन्त्य गर्न सकेनौँ, सबैभन्दा महत्वपूर्ण कारण यही हो ।’

कोइरालाले नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं यसअघि आफूलाई ६७५ मतले पराजित गरेका एमालेका लालबाबु पण्डितलाई यसपटक १२ हजार २७८ मतले पराजित गरेका हुन् । उनले ३५ हजार २२४ मत प्राप्त गरेका छन् । पराजित भएका पण्डितले २२ हजार ९४६ मत पाएका हुन् ।

मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९ हजार १४० र राप्रपाका गोपाल कटुवाल (क्षेत्री) ले ८ हजार ९२५ मत पाएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x