राजनीति

प्रदेश १

कांग्रेसले जितेका ११ सिटमा आए नयाँ अनुहार, एमालेबाट ६ जना दोहोरिए

बाबुराम भण्डारी |
मंसिर ९, २०७९ शुक्रबार १८:१३ बजे

विराटनगर- शुक्रबार बिहान ११ बजेसम्मको मतपरिणाम अनुसार प्रदेश १ मा नेपाली कांग्रेसबाट ११ जना प्रदेशसभा सदस्य नयाँ अनुहारका रूपमा प्रदेशसभा छिरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्ष तर्फको ५६ सिट मध्ये ३५ सिटको मतगणना सकिँदा कांग्रेसले ११ सिट जितिसकेको छ ।

२१ सिटमा मतगणना जारी रहँदा अग्रता कायम गरिरहेका कांग्रेसका अधिकांश उम्मेदवार पनि नयाँ अनुहार छन् । कांग्रेसबाट दोहोरिएर चुनाव लड्नेहरू मध्ये अग्रता कायम गर्नेमा संसदीय दलका नेता राजीव कोइराला, वर्तमान प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं संसदीय दलका उपनेता हिमाल कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मात्रै हुन् । दुई मध्ये कानुनमन्त्री कार्की मात्रै जित नजिक छन् । कोइरालाको निर्वाचन क्षेत्र सुनसरी २ (२) मा मतगणना जारी रहँदा उनले मतान्तरमा अग्रता बनाएका हुन् ।


प्रदेश १ मा नेपाली कांग्रेसबाट गयानन्द मण्डल (मोरङ ५–१), प्रदीप कुमार सुनुवार (ओखलढुंगा १), राम कुमार खत्री (उदयपुर २–२), भुमीप्रसाद राजवंशी (झापा ३–१), गोपाल तामाङ (झापा १–१), भुपेन्द्र राई (खोटाङ २), अमृत अर्याल (मोरङ ५–२) मा निर्वाचित भएका छन् ।

त्यसैगरी खगेन सिंह हाङ्गाम (ताप्लेजुङ २), विनोद राई (भोजपुर २), भीम पराजुली (मोरङ ४–२) र मानबहादुर लिम्बु (मोरङ ३–१) पनि कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनीहरू सबै प्रदेशसभाका लागि नयाँ अनुहार हुन् । 

एमालेबाट ६ जना दोहोरिए

यसैबीच प्रदेशसभामा नेकपा एमालेबाट १५ जनाले जित सुनिश्चित गरेका छन् । उनीहरू मध्ये दुई पूर्वमन्त्रीसहित ६ जनाले दोस्रो कार्यकाल तय गरेका हुन् । 
पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका जीवनकुमार राईलाई ५ हजार ४७२ मतान्तरले पराजित गर्दै प्रदेशसभाको सिट सुरक्षित गरेका छन् । कार्कीले २२ हजार ५३० प्राप्त गरेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी पनि दोस्रो पटक निर्वाचित भएका छन् । उनले १० हजार १२८ मत पाएर माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गरेका हुन् । 

प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठलाई पराजित गरेका हुन् । एमाले पराजुली धनकुटा (२) बाट दोहोरिएर निर्वाचित भएका हुन् ।

इलामको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) बाट पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर पनि निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका हर्कबहादुर लवतीलाई पराजित गरेका हुन् ।

एमालेबाट झापा २ (१) बाट एकराज कार्की र धनकुटा (१) बाट निरन राई दोस्रो कार्यकालका लागि चुनिएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x