राजनीति

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन

गण्डकीका ‘हेवीवेट’ उम्मेदवार

धनबहादुर गुरुङ |
कात्तिक १३, २०७९ आइतबार ११:० बजे

पोखरा- मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गण्डकीबाट प्रतिनधिसभातर्फ केही शीर्ष नेताहरू भिड्दै छन् । गण्डकीको प्रतिनिधिसभा क्षेत्रमध्ये केहीमा शीर्ष नेताहरू नै आमनेसामने हुँदैछन् । 

चुनावी मैदानमा रहेका शीर्ष नेताहरूमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक नम्बरमा छन् । उनले गोरखा- २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्‌वारी दर्ता गराएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अब्लुस सलाम मियाँ छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिला पन्त, नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका कुलबहादुर बस्नेत, नेकपा मालेका नारायणबाबु आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङ, नेपाली कांग्रेस विपिका टिकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी र स्वतन्त्र गणेश देवकोटा र विनोदकुमार गुरुङले माओवादी केन्द्र अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ- १ बाट उम्मेद्‌वारी दिएका छन् । पौडेललाई पनि तनहुँ- १ मा सहज भने छैन । त्यहाँ नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेद्‌वारी दिएका छन् ।

यस्तै नेकपा एमालेको एकबहादुर रानामगर पनि पौडेलको बाधक बन्‍न सक्छन् । यस्तै जनता समाजवादी पार्टी नेपालकी पासाङ थापामगर, राप्रपाका विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीका रामकृष्ण त्वयना, हाम्रो नेपाल पार्टीका प्रविण पौडेल, राप्रपा नेपालका कृष्णप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीका ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देल सोही क्षेत्रबाट उम्मेदवार छन् । यसैगरी सोही क्षेत्रबाट रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी मैदानमा छन् । 

यस्तै वीपी पुत्र तथा कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले नवलपुर- १ बाट चुनावी मैदानमा छन् । अघिल्लो पटक पनि सोही क्षेत्रबाट विजयी भएका कोइरालालाई साना ठूला दल र स्वतन्त्रसहित १४ जना जो कोही बाधक बन्‍न सक्छन् ।

पाँच दलिय गठबन्धनको साझा उम्मेदवारविरुद्ध नेकपा एमालेले कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका भुमबहादुर राई, राप्रपाका डा. मोहनीलाल भुसाल, हाम्रो नेपाली पार्टीका तुलसी राम भुषाल, नागरिक उत्मुक्ति पार्टीका कमल महतो, नेपालका लागि नेपाली पार्टीका रुक्मांगत चापागाईं, मंगोल नेशनल अर्गनाईजेशनका प्रेम छिरी शेर्पा, राष्ट्रिय जनमुक्ति पार्टीका टकबहादुर थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम उम्मेदवार छन् । भने सूर्यप्रसाद सापकोटा, चित्रध्वज जिसी, एकनाथ पोखरेल, विन्दु भट्टराई र विष्णु भट्ट पनि सोही क्षेत्रबाट स्वतन्त्र उठेका छन् । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेद्‌वारी दिएका छन् । केसीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले सूर्यप्रसाद पाठकलाई अगाडि सारेको छ । यस्तै राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, नेपाली कांग्रेस वीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र चन्द्रबहादुर क्षेत्री स्वतन्त्र उम्मेद्‌वारी दिएका छन् ।

यी हेवीवेटका नेताहरूसँगै शीर्ष ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू पनि गण्डकी प्रदेशबाट आमनेसामने हुँदैछन् । उनीहरू एकै क्षेत्रबाट उम्मेद्‌वारी छन् । जसले गर्दा एउटा जित्दा अर्को पाँच वर्ष सदन बाहिर रहने पक्कापक्की छ ।

उनीहरूमध्ये कांग्रेस उपसभापति धनराज गुरुङ, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र एमाले सचिव पद्‌मा अर्याल छिन् । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट लड्दैछन् । एउटै मात्र क्षेत्र रहेको लमजुङबाट एक जनाले मात्र प्रतिनिधि सभामा जाने निश्चित नै छ । गुरुङद्वय बाहेक सोही क्षेत्रबाट साना ठूला दल र स्वतन्त्रसहित ११ जना उम्मेदवार छन् ।

यस्तै कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्‌मा अर्याल स्याङजा- २ बाट प्रतिस्पर्धामा छन् । उनीहरूसँगै सो क्षेत्रमा १२ जना उम्मेदवार छन् ।


Author

थप समाचार
x