राजनीति

गण्डकी सरकार फेरबदलको कसरत : हाेला त ४ दलको मोर्चाबन्दी ?

अनिष भट्टराई |
चैत ३०, २०७७ सोमबार २०:२९ बजे

पोखरा : गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वकोसरकार ढाल्ने/बचाउने खेल चलिरहेको छ । कांग्रेस, जनता समाजवादी र माओवादी केन्द्र अहिले सरकार ढलाउने रणनीतिका साथ छलफलमा छन् । ३ दलबीच सहमति भइसके पनि उनीहरु राष्ट्रिय जनमोर्चाको पर्खाइमा छन् । यी दलबीच मोर्चाबन्दी हुँदा २९ सांसद हुन्छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव पास गराउन ३१ सांसदको चाहिन्छ । राजमो पनि यही मोर्चामा मिसिने हो भनेमात्र अहिलेको सरकारको विकल्पका लागि आगामी प्रक्रिया चल्न सक्छ । 

२५ चैतको कांग्रेसको संसदीय दलको बैठकले वार्ता कमिटी गठन गरेपछि यो कमिटीले प्रदेश सभाका ४ वटै पार्टीसँग छलफल गरेको छ । कुमार खड्का नेतृत्वको कमिटीले सरकारमा रहेको एमालेबाहेक ३ दलसँग भएको छलफल सकारात्मक भएको दाबी गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा वार्ता कमिटीले हालसम्म भएका छलफलको प्रगति सुनाएको थियो । कुमार खड्काले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरललाई राष्ट्रिय जनमोर्चासँगको छलफल सकारात्मक भएको रिपोर्टिङ गरे । ‘अहिलेसम्म सरकारमा रहेको पार्टीबाहेक अरु पार्टीसँगको छलफल सकारात्मक छ, अब राष्ट्रिय जनमोर्चाको आधिकारिक निर्णय कुरिरहेका छौं,’ खड्काले भने । 


ढिलोमा वैशाख पहिलो साताभित्र गुरुङ सरकारविरुद्धअविश्वासको प्रस्ताव लैजाने वा विश्वासको मत लिनुपर्ने अवस्थामा पुर्‍याउने कांग्रेसको योजना छ । गण्डकी सरकार प्रतिगमनको मतियार बनेको कांग्रेसको ठहर छ । ‘सकिन्छ मंगलबार नै नसके वैशाख पहिलो सातामा यो सरकारको विकल्पका लागि अघि बढ्ने सहमति भएको छ,’ खड्काले भने । 

राष्ट्रिय जनमोर्चाले पनि सकारात्मक संकेत दिएकाले अब राजमोमाथि शंका गर्न नहुने वार्ता कमिटी संयोजक खड्काले बताए । ‘१/२ दिनमै निर्णय गर्छाैं भनेर प्रदेश र केन्द्रको नेतृत्वले भन्नु भएको छ,’ खड्का भन्छन्, ‘जनमोर्चा एउटा अनुशासित पार्टी हो, केन्द्रकै निर्णय यहाँ अक्षरश पालना हुन्छ, शंका गर्नु उपयुक्त हुँदैन ।’

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गुरुङ सरकारविरुद्ध अविश्वासकै पक्षमा आफूहरु रहेको बताउँदै आएका छन् । केसीकै विचार र निर्णयमा अडिग हुन अहिले जनमोर्चाले चिठी कुरिरहेको कांग्रेस वार्ता टोलीको दाबी छ । केन्द्रको चिठी यहाँको संसदीय दलले पाएपछि जनमोर्चा पनि आफूहरुकै मोर्चामा आउने र अविश्वासको प्रस्ताव वा विश्वासको मत लिनुपर्ने गरी प्रक्रिया थालिने कांग्रेसको योजना छ । ‘जनमोर्चा पनि हाम्रै मोर्चामा सम्मिलित हुने र संयुक्त रुपमा विश्वासको मत लिनुपर्ने वा अविश्वासको प्रस्ताव लैजान्छौं,’ खड्काले भने । 

अहिले नै कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे निक्र्याेल गरिएको छैन । को, कति सरकारमा जाने कुरा प्राविधिक कुरा भएकाले अहिले यसबारे छलफल भने पार्टीहरुबीच भएको छैन । ‘सबैको नाम खुला छ, जसपाकै पनि हुनसक्छ वा जनमोर्चा, माओवादी कांग्रेसको पनि हुन सक्छ, त्यसबारे छलफल गरेका छैनौं,’ खड्काले भन्छन् ।

यता माओवादी केन्द्रले भने आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरे जनमोर्चालाई मोर्चामा मिसाउन सहज हुने ठहर गरेको छ । आइतबार पार्टीका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं पुगेका माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले आफूसँगका छलफलमा जनमोर्चाले सकारात्मक संकेत दिएको बताउँछन् । ‘माओवादीको नेतृत्वमा सरकार बने उहाँहरु आउन तयार भएकाले हाम्रै नेतृत्वमा बनाउन पहल गर्दैछौं,’ चुमान भन्छन् । 

जनमोर्चाका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापा भने आफूहरू स्थायित्वकै पक्षमा रहेको र कुनै पार्टीसँग सहमति नभएको बताउँछन् । कांग्रेससँगको छलफलमा आफू सकारात्मक भएको र अविश्वासको पक्षमा लाग्ने सम्भावना भने उनले अस्वीकार गरे । ‘जनमोर्चालाई कसैको सत्ताको भर्‍याङ बन्नुपर्ने, कसैको खेलको गोटी बन्नुपर्ने आवश्यकता छैन, हाम्रो त लाइन नै स्थायित्व हो,’ थापाले भने । कांग्रेसले अहिलेको सरकारलाई प्रतिगमन भनेतापनि नेपालको राजनीतिक इतिहासमा कांग्रेसले धेरैपटक प्रतिगमन गरेको उनी बताउँछन् । भने, ‘कांग्रेस झनै प्रतिगमनकारी हो, तिनीहरुले कति पटक प्रतिगमन गरे ? अहिलेको सरकारको प्रतिगमन त सच्चिसक्यो ।’ 

४ दलको बैठकमा कांग्रेस र माओवादीलाई उनीहरुको अवस्थाबारे स्पष्ट पार्न आफूहरुले भनेको थापाले सुनाए । माओवादी सरकारमा रहँदा सत्तासँग च्यापिएको र अहिले सरकारबाट बाहिरिएपछि सरकार ढालिहाल्नुपर्छ भनेर लाग्नु गलत रहेको उनको धारणा छ । ‘सरकारमा रहँदा सत्तासँग च्यापिने अनि निस्किएपछि ढालिहाल्नुपर्छ भनेर हिँड्ने यो के तरिका हो भनेर भनेको छु,’ उनले भने । 

जनमोर्चाकै अर्की सांसद पियारी थापा अहिलको लागि आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँछिन् । कांग्रेसलगायतको मोर्चाबन्दीले अहिले राम्रो क्यान्डिडेट ल्याएर सरकारको विकल्प तत्काल दिन नसक्ने उनको ठहर छ । ‘अलाइन्सले पनि अविश्वासको प्रस्ताव ल्याउने भनेपनि कसले सरकारको नेतृत्व गर्ने भन्ने नै टुङ्ग्याउन सक्दैन, तर राम्रो क्यान्डिडेट लिएर आएभने हाम्रो समर्थन रहन्छ,’ थापाले भनिन् । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x