राजनीति

ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजे : रावल

नवराज पनेरु |
चैत २९, २०७७ आइतबार १५:४६ बजे

धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा माधवकुमार नेपाल समूहका सुदूरपश्‍चिम प्रदेश संयोजक भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । धनगढीमा समूहको सुदूरपश्‍चिम प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले राष्ट्रलाई अफट्यारो दिशातर्फ लैजान खोजेको आरोप लगाए ।
 
‘केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा बैठक गरेर नेकपा एमालेलाई विभाजन गर्न खोज्नुभएको  छ,’ रावलले भने, ‘त्यस्ले कम्युनिष्ट आन्दोलनलाई पनि विसार्जनतर्फ लैजान खोजेको देखिन्छ । उहाँले राष्ट्रलाई पनि अफट्यारो दिशातिर लैजाने दुष्प्रयास गर्नुभएको छ ।’
  
फागुन २८ को भेला पार्टीको नभएर गुटको भएको रावलले बताए । उनले भने, ‘प्रधानमन्त्री स्वयमले बालुवाटारमा बोलाएर जनप्रतिनिधिलाई पदको लोभ देखाउने, धम्काउने र डराउने गरिरहनुभएको छ, भन्‍ने मैले सुनेको छु । त्यो निन्दनिय हो ।’
 
स्वयम ओलीले नवौँ राष्ट्रिय महाधिवेशनको म्यान्डेड र विधानविपरीत काम गरेको बताउँदै रावलले आफूमाथि गरिएको कारबाही स्विकार गर्न नसकिने बताए । ‘पार्टीको विधानविपरीत ओलीले नै पटक–पटक काम गरेका छन्,’ रावलले भने, ‘विधानविपरीत काम गरेर ओली आँफै अवैध अध्यक्ष भइसकेका छन् । अवैध अध्यक्षले गरेको कारबाहीलाई स्विकार्न सकिदैन् ।’
 
यस्तै पत्रकार सम्मेलनमा नेकपा (एमाले) सुदूरपश्‍चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको पनि जानकारी दिइएको छ । पार्टी विभाजन गर्न संलग्न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक बर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो । 
 



Author

थप समाचार
x