राजनीति

टिप्पणी

बूढानीलकण्ठ भेलाले दिएको राजनीतिक सन्देश

नयाँ सरकारको सहमति नबने पनि पहलकदमी सकारात्मक !

चन्द्रशेखर अधिकारी |
चैत २७, २०७७ शुक्रबार २१:५३ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उभिन्छ भन्नेमा अझै विश्वास छैन । त्यही कारण देउवा नयाँ सरकार बनाउन जति तात्नु पर्ने हो त्यति तातिरहेका छैनन् ।  सत्ताको ‘चतुर खेलाडी’को परिचय बनाइसकेका देउवालाई राम्रोसँग थाहा छ- नेपाली कांग्रेस र माओवादीबीच जतिसुकै सहकार्य/सहमति भए पनि जसपा सामेल नभएसम्म सरकार बन्दैन । 

यतिबेला जसपाको भने आफ्नै दाऊ छ । जसपा सरकारमा आउने वा समर्थन गर्नेबीचमा रहेर आफ्ना केही पुराना मुद्दाहरू सल्टाउन लागिपरेको छ ।  बन्दी छुटाउने, हत्यारा ठहर भएकालाई सजाय मुक्त गराउने लगायतका मुद्दा जसपाकाे केन्द्रमा छन् । तर यसमा जसपाका सबै एकमुख छन् भन्नु चाहिँ अत्युक्ति हुनेछ ।   किनकि  यहाँ पनि  दुई धार  छ । एउटा धारले ओलीलाई सघाउनुपर्छ भनिरहेको छ भने अर्को धारले ओलीलाई सघाउन नहुने बताउँदै आएको छ । 


यही दुई धारमा बसेर आफ्ना माग पूरा गराउने जसपाको रणनीति देखिन्छ । यस्तो अवस्थामा तातिएर केही हात नलाग्‍ने देउवाले राम्ररी  बुझेका छन् ।  गोल पोष्टसम्म कुद्‌ने खेलाडी नै पूर्ण छैनन् भने मैदानमा उत्रेर मात्र हुन्छ ? यही भएर  उनले पटक-पटक माओवादी अध्यक्ष दाहालसँग जसपाको निर्णय खाेजिरहेका छन् । देउवा चटपटाएकाे नदेखेपछि नै हाे माओवादीले पटक-पटक कांग्रेसका अन्य नेताहरूसँग छलफल गर्दै देउवालाई दबाबमा राखेकाे । 

यसरी प्रमुख विपक्षी कांग्रेस भित्र पनि सरकारमा जानपर्ने दबाब पर्न थाल्यो र चैत २० गतेको केन्द्रीय समिति बैठकमा सरकारको नेतृत्वको पहल गर्ने निर्णय भयो । प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने र आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन भने पनि देउवा एक साता चुपचाप बसे । सातापछि बल्ल उनले सत्ता समीकरणको औपचारिक प्रयास मात्र गरेनन्, ओलीको नेतृत्वमा निर्वाचनमा जानु सबैको लागि घातक हुने भन्दै उनको जालझेलमा नपर्न जसपा नेतृत्वलाई सहमत गराउने प्रयास गरे ।

तर, जसपाले ओलीले आफ्नो माग पूरा गरिरहेको बताउँदै किन अहिले समीकरणमा जाने भनेपछि सत्ता गठबन्धनको प्रयास कसरी अघि बढाउने भन्नेमा छलफल भएको छ । ओली स्वेच्छाचारी भए सबै शक्ति आफ्नो हातमा लिएर जथाभावी निर्णय गर्न थाले भन्दै ओलीको विरोध गर्दै देउवाले भने,‘जसपाको एक समूह ओलीको जालझेलमा परेका छन् । त्यसैले समीकरण सहज छैन ।’ 

जसले देउवालाई सहमत गराए 

देउवा त्यसयता चुपचाप बसेको देखेपछि माओवादी केन्द्रका प्रवक्ता एवं सक्रिय नेता नारायणकाजी श्रेष्ठ बुधबार रामचन्द्र पौडेल निवास बोहोराटार पुगे । अनि उनले सोधे, ‘तपाईंहरु किन यसरी सुस्ताको ? आइसकेको नेतृत्व लिन पहल गर्न परेन, कांग्रेसले । केन्द्रीय समितिमा निर्णय गरेर मात्र हुन्छ ?’ यो धारणा बताएपछि पौडेललको जवाफ थियो, ‘हामीले निर्णय त गरायौँ तर हाम्रो नेतृत्वलाई अझै पनि सरकार आफूले बनाउन पाइन्छ भन्नेमा विश्वास छैन या ओलीलाई नै साथ दिएका हुन् थाहा छैन ।’ पौडेलको धारणा आएपछि श्रेष्ठ के गर्ने कसो गर्ने भन्दै फर्किए । अनेकन विकल्प र पछिल्लो अवस्था अन्तर्राष्ट्रिय परिदृष्य सबैबारे पौडेलसँग छलफल गरे । 

आफ्नो निवास हरिसिद्धि पुगेपछि उनले देउवालाई फोन गरेर समय मागेको श्रेष्ठले बताए । माओवादी भूमिगत हुँदा दाहाल र गिरिजाप्रसाद कोइरालाको संवाहक उनै श्रेष्ठ थिए । उनी यस्तो समीकरण मिलाउन र पहल गर्न माहिर छन् । ‘यत्तिकै चुपचाप बसेर हुँदैन भनेर मैले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर समय मागेँ,’ उनले भने, ‘बिहीबार बिहान उहाँलाई भेट्न बुढानिलकण्ठ पुगेँ । लामो छलफल र बहस भयो ।’ 

देउवाले श्रेष्ठसँग छलफलमा पनि उही कुरा दोहोर्‍याए - 'जसपाको कुनै टुंगो छैन नेतृत्व कसरी लिने र ?' श्रेष्ठले देउवाले पहल नगरे यहाँले आगामी अधिवेशनमासमेत हार व्यहोर्न पर्ने, अनेकन आरोप लाग्ने हुनाले आफ्नो साख बचाउन पनि छलफल गर्न आवश्यक छ र जसपाको केही मागहरुबारे लचक भएर अघि बढेमा सत्ताको नेतृत्व सम्भव रहेको बताए । त्यसपछि देउवालाई आजको बैठकका लागि सहमत गराए । देउवाले पटक-पटक यस्तो सल्लाह आफ्ना समकक्षीबाट नपाएको भन्दै कसैसँग छलफल नै नगरी उनले सहयोगी भानु देउवालाई बोलाएर फोन लगाउन थाले । 

त्यसपछि समय मिलाएर शुक्रबारको भेटको तय भएको हो । श्रेष्ठको कुरामा सहमत भएपछि देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका नेताहरू लगायतलाई फोन गरेका हुन् । ‘सबै चुपचाप बसेपछि मैले छलफल गर्न आवश्यक ठानेर देउवाजीलाई भेटेको हो,’ उनले भने, ‘त्यही भेटको नतिजा हो आजको छलफलको श्रृख‌ला पनि । अब एक तहमा कुराकानी हुन्छ । जसपाले पनि औपचारिक रुपमा प्रस्ताव आएको भन्दै आन्तरिक छलफल गर्ने र पुनः त्रिपक्षीय छलफलमा बस्ने भनेको छ ।’ 

श्रेष्ठका अनुसार यो बैठकले निरन्तरता पाउने देखिएको छ । यसमा जसपाका सबै जसो शीर्ष नेता थिए, कांग्रेसका पनि सबै नेताहरू सहभागी थिए । जसले गर्दा जसपा र कांग्रेसबीचमा एक प्रकारको समझदारी बन्न पनि सक्ने लक्षण देखिएको छ । किनकि देउवा राजनीतिक प्रतिबद्धतामा इमानदार रहेकाले पनि त्यसमा जसपा कुनै कोणबाट सहकार्यमा जान सक्ने सम्भावना बाँकी छ ।

ओलीको नेतृत्वमा निर्वाचनमा गएको खण्डमा उनले शक्तिको दुरुपयोग गर्ने हुनाले संयुक्त रुपमा सरकारमा जाँदा उत्तम हुने तर्फ सबै सहमत देखिन्छन् ।यद्यपि जसपाले अझै पनि ओली नेतृत्व सरकारले नै आफ्नो माग पुरा गर्ने भन्दै त्यसमा 'बार्गेनिङ' गर्दै अन्य मागबारे पनि कांग्रेस माओवादीसँग छलफल गरेको हो । छलफलमा पनि ढिलो गरेर पुगेको जसपाले यो प्रयासको प्रशंसा गरेको छ ।

दाहाललाई  थाहा छैन, श्रेष्ठ सक्रिय

बैठक तय हुँदा माओवादीका अध्यक्ष काठमाडौँ बाहिर थिए । श्रेष्ठले यो प्रकारको छलफल अघि बढाएको विषयमा उनी बेखबर थिए । तर, देउवाको फोन गएपछि दंग हुँदै उनले आफू छलफलमा आउने निर्णय तत्काल सुनाइहाले । प्रधानमन्त्री ओलीसँग सम्बन्ध बिग्रिएपछि अध्यक्ष दाहालले पटक-पटक देउवालाई प्रधानमन्त्री बन्न आग्रह गर्दै आएका थिए ।

गृहकार्य गर्ने भन्दै आएपनि जसपा निर्णायक हुने र उसको स्पष्ट संकेत नआएको भन्दै देउवा पन्छिएका थिए । आजको बैठकमा पनि दाहालले त्यही भने, ‘अब, मिलेर निर्वाचनमा जाने हो । नेतृत्व यहाँले लिने सबैको साथ रहन्छ ।’ उनले त्यसो भने पनि जसपाले पार्टीभित्र छलफल गरेर टुंगोमा पुग्ने बताएको थियो त्यसपछि यो प्रकारको छलफल पुनः राख्ने भन्दै बैठक सकिएको थियो ।

बैठकको पहलकदमी गरेका श्रेष्ठले यो बैठकबाट आफू उत्साहित भएको र केही न केही राजनीतिक निकास यही छलफलको निरन्तरताले दिने उनको विश्वास छ । यता उपेन्द्र यादव पनि अब, ओली भनेर बस्‍न हुँदैन यदि त्यो भूल जसपाले गरेको खण्डमा थप पेलानमा जसपा र अन्य दल पर्नेछन् । ओलीको चरित्र नै खराब भन्दै यादवले तत्काल उनको विकल्प तयार गर्न पर्ने बताए । 

जसपाले गर्ला त त्रिपक्षीय सहकार्य ? 

देउवाले शुक्रबार खुलेर नै अ‍ोलीको कार्यशैली प्रति कटाक्ष गरे । उनले ओलीको राजनीतिक चरित्र ठिक नभएको र उनको नेतृत्वमा निर्वाचनमा जान नसकिने बताएका थिए । उनको यो धारणा प्रति केही भए पनि जसपा नरम बनेको छ  । यद्यपी महन्थ ठाकुरले जसपाको माग ओलीले पुरा गर्ने बाचा दिएकाले तत्कालविरुद्धमा जान सक्ने अवस्था नरहेको भन्दै बैठकमा बोलेका थिए । तर, पनि त्यो विषयमा नवगठित सरकारले पनि हेर्न सक्ने भन्दै छलफल भएपछि पुनः दलमा छलफल गरेर निर्णयमा पुग्ने उनीहरुको धारणा छ । 

‘कांग्रेसले पहिलोपटक नयाँ सरकार बनाउनेबारे औपचारिक छलफल गरेको छ । यो राम्रो हो । तर हामीले यो विषयलाई लिएर दलभित्र छलफल गर्छौ भन्दै हाम्रा माग पूरा गर्न ओली नेतृत्वको सरकार लागि परेको जानकारी पनि दिएका छौं’, ठाकुरले बैठक पछि भने, ‘सरकारसँग कुरा भइरहेकाले अर्को सरकारको बारे सहज निर्णय कसरी गर्ने छलफल गर्छौं ।’ नवगठित सरकारले पनि जसपाको माग पूरा गर्ने भनेपछि पुनः अर्को बैठकको सहमति भएको हो । जसपा नेता राजेन्द्र महतो नयाँ सरकारको विरुद्धमा छन् । 

ओली नेतृत्व सरकारले नै माग पुरा गर्दैछ भने अर्को सरकार किन आवश्यक भन्दै यसमा निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । यसबाट स्पष्ट हुन्छ जसपामा दुई धार छ त्यसमा कुन धार बलियो हुने अझै स्पष्ट भएको छैन । जसपा यतिबेला सरकारका लागि निर्णायक शक्ति बनेको छ । यो समयमा जसपा फुटेर भन्दा पनि नफुटी ओलीबाट माग पुरा गरेर निर्वाचनको लागि अर्को समीकरण बनाउने रणनीतिमा पनि रहेको बुझाई ओली भित्र पनि छ ।

विदेशी शक्तिको इशाराको आरोपमा परेको जसपा यतिबेला आफूलाई चोख्याउन सक्ने अवस्थामा रहेकाले निर्णय लिएर नयाँ सरकारको पहलकदमीमा लाग्नुपर्ने सुझाबसमेत छ । तर, ओलीसँग राजनीतिक प्रतिबद्धता गरिसकेको भए त्यो बाटो रोज्न जसपालाई सहज भने पक्कै छैन । आखिर जे भए पनि प्रमुख प्रतिपक्षसँग त्यसपछिका दुई दल सहकार्यको लागि छलफल हुनु सकारात्मक पहलकदमी हो । यसको निरन्तरता आवश्यक देखिन्छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x