राजनीति

चार मन्त्रीको सांसद पद अब के हुन्छ ?

संसद् सचिवालयका प्रवक्ता पाण्डे भन्छन् : खारेजीको प्रक्रियामा गयो

मधुसुधन भट्टराई |
चैत २४, २०७७ मंगलबार १७:२४ बजे

काठमाडौँ : माओवादीले दल त्याग गरेको सूचना स‌ंघीय स‌ंसद् सचिवालयमा दिएका चार सांसदको पद खारेज हुने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३० को उपदफा (२) बमोजिम दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने व्यवस्था छ । 

उपदफामा लेखिएको छ, 'उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।'
 
उपदफा (१) मा 'कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन,' भन्‍ने उल्लेख छ ।


संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे दल त्यागसम्बन्धी पत्र दर्ता गराएपछि उनीहरूको सांसद खारेजको प्रक्रियामा गएको बताए । 'माओवादीले दल त्यागसम्बन्धी सूचना सचिवालयमा दर्ता गराएको छ । अब सचिवालयले सभामुखसमक्ष निर्णय गराउन पेस गर्छ,' प्रवक्ता पाण्डेले इकागजसँग भने, 'अब सभामुखले सभा चलेको बेलामा सभामा जानकारी गराउने व्यवस्था छ । नचलेको बेलामा सूचना टाँस गरेर जानकारी गराउने व्यवस्था छ ।' 
 
ऐनमा कुनै पनि राजनीतिक दलले दलका सदस्य तथा सांसदले दल त्याग गरेको सूचना सचिवालयमा दर्ता गराएको १५ दिनभित्र सदनमा जानकारी गराउन पर्ने उल्लेख छ । ऐनको दफा ३५ मा भनिएको छ, 'सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनेछ ।'

माओेवादीले आज पार्टीबाट निर्वाचित सांसदहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीश‌ंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको थियो । ४ जना नै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा मन्त्री छन् ।

रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री छन् । उनी अर्घाखाँची-१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन् । उनी कैलाली-४ बाट निर्वाचित सांसद हुन् । 

चौधरी श्रम , रोजगार, तथा सामाजिक सुरक्षामन्त्री छन् । उनी कैलाली-३ बाट निर्वाचित भएका थिए । त्यस्तै साह सहरी विकासमन्त्री छन् । उनी रौतहट-३ बाट निर्वाचित भएका थिए । 

माओवादीले यसअघि प्रदेश-१ सांसद टंक आङ्बोहाङ र लुम्बिनी प्रदेशका सांसदद्वय दिनेश पन्थी र दधिराम न्यौपानेको सांसद पद खारेज गर्न पत्राचार गरिसकेको छ ।  


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x