दल

स्थानीय निर्वाचन

प्रदेशमा उक्लने होइन पालिकामै दोहोरिने मेयरहरूको आकांक्षा

उपेन्द्र अर्याल |
चैत १२, २०७८ शनिबार १३:४१ बजे

काठमाडौँ– स्थानीय निर्वाचन नजिकिरहँदा राजनीतिक दलहरूले देशव्यापी कार्यक्रम सुरु गरिसकेका छन् । राजनीतिक दलले घोषणा पत्र बनाउन थालिसकेका छन् । तर, उम्मेदवारको भने कुनै पनि पार्टीले टुङ्गो लगाइसकेका छैन । अहिले सबैभन्दा ठूलो रहेको एमालेले पालिकाहरू मध्ये महानगर र उपमहानगरका उम्मेदवारको छनाेट केन्द्रबाटै गर्ने निर्णय गरेको छ । 

गठबन्धनमा रहेका पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उठाउने उम्मेदवारबारे निर्णय गरिसकेको छैन। वर्तमान गठबन्धन कायमै गरेरै जाने वा एक्ला एक्लै निर्वाचनमा जाने अन्योल देखिन्छ । उम्मेदवारबारे केन्द्रको निर्णय आइनसकेको भए पनि वर्तमान पालिकाका प्रमुखहरूको आकांक्षा भने पुनः पालिकाकै चुनाव लड्ने देखिन्छ । प्रदेशको नेतृत्वको निर्वाचनभन्दा पालिकाकै उम्मेदवारमा आफ्नो प्राथमिकता रहेको उनीहरूको भनाइ छ । 


काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका हुन् । आउने निर्वाचनमा पनि उनको प्राथमिकता पुन: एक कार्यकाल पाँचखालकै नगरप्रमुखमा दोहोरिने रहेको छ । उनको प्रदेशको निर्वाचनमा आफ्नो कुनै इच्छा नरहेको बताए । 

‘यो निर्वाचनमा मेरो पुनः एक कार्यकाल अझै काम गर्ने इच्छा छ,’ उनले भने, ‘मलाई प्रदेशतिरको कुनै इच्छा छैन। अबको एक कार्यकाल पाए मैले थालेका कामहरू पुरा गर्न सक्थें ।’ उनले आउने कार्यकालमा अहिले गर्न नसकेका कामहरू सम्पन्न गर्ने योजना रहेको बताए । ‘मैले उठाएका एजेन्डामा काम गर्न चाहान्छु,’ उनले भने, ‘काठमाडौं विश्वविद्यालय, मदनभण्डारी विश्वविद्यालय, स्मार्ट सिटी, औद्योगिक ग्राम लगायतका काम पुरा गर्न मैले एकपटक यहि दोहोरिनुपर्छ ।’ तर उम्मेदवारको टिकट पार्टीले दिने भएकाले उनले पार्टीको निर्णय मान्ने बताए । 

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पनि आउने निर्वाचनमा पुनः एकपटक नगरप्रमुखमै उम्मेदवारी दिने योजना बनाएका छन् । प्रदेशको नेतृत्वमा उनको पनि दाबी नरहेको उनको भनाइ छ । उनले आपूmले नगरको एक कार्यकालमा गर्न नसकेका कामहरू आउने कार्यकालमा सम्पन्न गर्ने उनले बताए । ‘आगामी कार्यकालको लागि मैले पुनः नगरप्रमुखमा उठ्ने योजना बनाएको छु,’ उनले भने, ‘मैले सुरु गरेर पुरा गर्न नसकेका कतिपय कामहरू आगामी कार्यकालम सक्नेछु । अल्पमतमा रहेर काम गर्दा धेरै बाध्यता र बन्धन भयो । अबको कार्यकालमा आफूले गर्न नसकेका काम पुरा गर्नुपर्छ भनेर तयारी गरिरहेको छु।’ 

पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भर्खरै जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी पनि आफ्नो नयाँ दलले आफूलाई पुन एकपटक नगरप्रमुखमा उम्मेदवार बनाउनेमा विश्वस्त छन् । उनको इच्छा पनि पुन एकपटक वीरगञ्जकै नगरप्रमुखमा दोहोरिने छ ।  उनलाई प्रदेशको निर्वाचनमा कुनै चाहना नभएको बताउँछन् । ‘मुख्य कुरा पार्टीले के निर्णय गर्छ भन्ने हो,’ उनले भने, ‘पार्टीले गरेको निर्णय मान्ने हो । तर, मेरो व्यक्तिगत चाहाना प्रदेशभन्दा नगरप्रमुखमै दोहोरिने छ । मलाई अझै वीरगञ्जको विकासका लागि काम गर्न मन छ ।’

पाँचखाल, मध्यपुरथिमि र वीरगञ्जको नगरप्रमुखको मात्रै होइन्, प्रायः अधिकांश पालिकाका प्रमुखहरूले  पुन स्थानीय तहमै दोहोरिने आकांक्षा राखेका छन् । उनीहरूको प्राथमिकता प्रदेशको सांसद् भन्दा स्थानीय तहकै प्रमुखमा छ । स्थानीय तहको प्रमुख भएको हैसियतमा बजेट, स्रोत साधनको प्रयोगमा उनीहरूलाई एकाधिकार हुने भएकाले उनीहरू पालिकामै आफ्नो कार्यकाल दोहोर्याउँछन् । प्रदेशको सांसद् भन्दा बजेट र स्रोतको हिसाबले पालिका प्रमुख बलियो र स्वतन्त्र देखिने भएकाले प्रमुखहरूको आकांक्षा प्रदेश भन्दा पालिकातिरै धेरै भएको देखिन्छ । 

झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले भने आफ्नो केही पनि व्यक्तिगत इच्छा नरहेको बताइन् । पार्टीको निर्णय अनुसार आपूm अगाडी बढ्ने उनको भनाइ छ । ‘मेरो व्यक्तिगत इच्छा छैन्,’ उनले भनिन्, ‘पार्टीका अन्य साथीहरूलाई  पालो दिनुपर्छ भन्ने लाग्छ । तर पार्टीले मलाई फेरी यहि उठायो भने पनि म तयार नै छु ।’ यस्तै म्याग्दे गाउँपालिका अध्यक्ष  मायादेवी राना आलेले पहिलो निर्वाचनमा आपूmले अध्यक्षमा दाबी गरेको भए पनि यस निर्वाचनमा दाबी नरहेको बताइन् । पार्टीले  उठाए पुनः दोहोरिन तयार रहेको बताइन् । ‘म पार्टीको अनुयायी भएकाले, पार्टीले जे निर्देशन गर्छ त्यही गर्ने हो,’ उनले भनिन्, ‘तर पार्टीले उठ्नु भन्यो भने पुनः अध्यक्षमा उठ्न तयार छु ।’ 

यस्तै स्याङजाको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले पनि पार्टीले पुनः अवसर दिए आपूm तयार रहेको बताए । ‘मेरो यो  वा ऊ भन्ने छैन्,’ उनले भने, ‘पार्टीले पठाएको ठाउँमा  जाने हो ।’ यस्तै धादिङको थाहा नगरपालिकाका नगरप्रमुख लवशेर बिष्टले पनि पार्टीले दोहो¥याए पुनः दोहोरिन तयार रहेको बताए । 

धेरै पालिकाहरूका प्रमुखले पार्टीको निर्णय कुरेर बसिरहेका छन् । तर उनीहरूको पनि चाहाना भने पालिकामै रहिरहने देखिन्छ । धेरै पलिकाका प्रमुखहरूको  पार्टीमा पनि राम्रै पहुँच छ । कतिपय केन्द्रीय सदस्य छन् । उनहरूले आफूलाई पालिकाको एक कार्यकालमा अब्बल साबित गरिसकेका छन् । यसका बावजुद उनीहरू माथिल्लो तहको नेतृत्वको दाबी गर्न भन्दा पनि पालिकास्तरमै दोहोरिने आकांक्षा राखेका छन् । तर पार्टीले उनीहरूले उम्मेदवार बनाउँछ कि बनाउँदैन भन्ने निर्णय कुरिरहेका छन् ।  
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x