दल

स्थानीय तह निर्वाचन

एजेण्‍डाविहीन दल, देश दौडाहमा 'गाली पुराण' लाउँदै शीर्ष नेता

उपेन्द्र अर्याल |
चैत १०, २०७८ बिहीबार ८:२९ बजे

फाइल तस्‍बिर

काठमाडौँ- स्थानीय तहको निर्वाचन वैशाख ३० गतेलाई घोषणा भएको छ । दलहरूसँग चुनावको तयारीका लागि धेरै समय छैन । दलका शीर्ष नेताहरू देश दौडाहमा छन् । धेरै जसो पालिकहरूमा चुनावी प्रचार-प्रसार सुरु भइसकेको छ ।

तर, उनीहरूका भाषणमा  चुनावी ऐजेन्डा देखिँदैनन् । राजनीतिक विचारको बहस, मुलुक बनाउने दृष्टि र नागरिकको चिन्ता पनि छैन । 


नेताहरू एकअर्काकालाई तुच्छ गाली गरेर खुइल्याउन मात्रै लागिपरेका छन् । अर्कोलाई गाली गरेर आफूले आफैँलाई राम्रो भनेर आत्मसन्तुष्टि लिइरहेका छन् । पाँच वर्षमा गर्न नसकिएका काम र संविधान कार्यन्वयन गर्दा देखिएका समस्या जनतासामु लैजानुपर्नेमा प्रमुख दलका शीर्ष नेताहरूका भाषणहरू एकअर्काको गालीगलौजमै सीमित छन् ।

केही दिनअघि स्थानीय चुनाव लक्ष्यित इलामको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिकांश समय नेकपा एकीकृत समाजवादी र विपक्षी गठबन्धनलाई गाली गरेरै बिताए । उनले चुनावमा दुई तिहाइ हैसियतमा पुगेको कम्युनिष्ट पार्टीको सरकारलाई कम्युनिष्टकै बर्को ओढेका ‘जन्तरे अन्तरे’ ढालेको टिप्पणी गरे ।

उनले नेकपा एकीकृत समाजवादीका नेतालाई लक्ष्यित गर्दै ओलीले भने, ‘हेर्नुस्, एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाएको मूल्य, बगाएका पसिनाको मूल्य र छोडेका कामको मूल्य र रोजगारीको समय छोडेर अन्तरे जन्तरेलाई हालेको भोटको मूल्य, त्यो कुरा सबै बिर्सिए । तर, त्यसको भत्ता खाइराखेका छन् । राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्‍ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि । एमालेले लगाइदिएको जुँगामा ताउँ लगाएर एमालेको बाकस खाली गर्छु भन्‍ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरूलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’

उनले कार्यक्रममा पाँच दलीय गठबन्धनलाई चुनावमा एउटै कुचाले बढार्ने दाबी गरे । ‘हामी चुनाव पर्खिरहेका छौं,’ उनले थपे, ‘वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठबन्धनको भाँडो रित्तिदैँन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ।’ उनको भाषणमा कतै पनि आउँदो चुनावका लागि एमालेले गर्ने योजना थिएन । नयाँ एजेन्डाहरूको बारेमा उनले बताएका थिएनन् । आगामी पाँच वर्षका लागि एमालेले उठान गर्ने जनताका समस्याका विवरण थिएनन् । उनले भाषणमा विपक्षीलाई गरिएको गाली मात्रै थियो । 

आरोप–प्रत्यारोपको भाषण ओलीको मात्रै भने होइन, अन्य दलका नेताको भाषणमा समेत आरोप प्रत्यारोप बाहेक कुनै नयाँ विषय देखिदैन । नजिएको स्थानीय चुनावलाई लक्षित गर्दै देश दौडाहमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्ना भाषणमा एमालेलाई गाली गर्दै बिताउने गरेका छन् । उनले जनकपुरको कार्यकर्ता प्रक्षिणको कार्यक्रममा एमालेका कारण मधेसका जनताले न्याय पाउन नसकेको बताएका थिए ।

मधेस प्रदेशको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको कारण नागरिकता विधेयक अड्किएको आरोपसमेत लगाए । एमालेले बिनाकारण संसद्‌ चल्न नदिएको भन्दै प्रचण्डले ओली अझै प्रतिगमनकै बाटोमा रहेको टिप्पणी गरे ।

प्रचण्डले कार्यक्रममा भने, ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ । तर, त्यसलाई एमालेले असफल बनायो । एमालेले मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ ।’

उनले दुई महिना आक्रमक ढंगले लागेर चुनाव जित्नपर्ने भन्दै जाली फटाहा र विरोधीलाई तह लगाउनेगरी ब्याटलमा उत्रिन युवाहरूलाई निर्देशनसमेत दिए । तर, उनको भाषणमा आगामी चुनावमा माओवादीको एजेन्डा के–के हुने भन्‍ने थिएन । उनका पछिल्ला भाषणहरू आरोप–प्रत्यारोप, गालीगलौज र आत्मतुष्टिमै सीमित छन् । कहीं कतै संघीयता, धर्मनिरपेक्षता, समावेशीता लागायतका विषय समावेश हुँदैनन् । 

सरकारको नेतृत्व गरिरहेको कांग्रेसको पनि आगामी चुनावी एजेन्डा के हुने भन्‍ने प्रष्ट भएको छैन । नेताहरू आफूहरूले संसद्‌ विघटनबाट जोगाएको श्रेय लिने बाहेक उनीहरूसँग नयाँ विषय केही देखिएका छैनन् । केही दिन अघिको सल्यानको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताए ।

प्रवक्ता महतले ओलीमा काम गर्ने नभई ठट्टा गर्ने बानी रहेको आरोप लगाए । उनले भने, ‘राजनीति गर्ने मान्छेहरू देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधैँ गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।’ 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पछिल्ला भाषणहरूमा प्रतिगनम सच्याएको ल्यसैले हामीले चुनावमा भोट पाउनुपर्छ भन्‍ने दाबी गरिरहेका छन् । उनका भाषणहरू जनताका समस्या, संविधान कार्यन्वयनमा भोगेका जटिलता, नयाँ आन्दोलनको विषय केही हुँदैनन्,  बस् ओली केन्द्रित गाली हुन्छन् । 

बितेको पाँच वर्षमा संघीयताको कार्यन्वयनमा भएका अवरोध अप्ठेराहरूको विषयमा  कुनै पनि राजनीति दलहरूमा छलफल भएको देखिदैन । यही बीचमा शीर्ष दलहरूको माहाधिवेशन सम्पन्‍न भएर नेतृत्व चयन भयो । 

तर, कुनै पनि राजनीतिक दलले संविधानले ल्याएका संघीयता, समावेशीता, धर्म निरपेक्षताको विषयमा छलफल गरेनन् । संघीयता कार्यन्वयनमा पाँच वर्षमा भएका अधिकारको बाँडफाँड, कानुन निर्माणमा भएका अवरोध लगायतका विषयमा बहस शून्य भए । यस्ता विषय राजनीतिक दलका चुनावी एजेन्डा बन्‍न सकेका छैनन् । स्वास्थ्य र शिक्षालाई सुलभ बनाउने, जनताका दैनिक समस्या राजनीति दलको विषयवस्तुमा समाहित हुन सकेको छैनन् । 

अघिल्लो चुनावमा विकाश र समृद्धिको एजेन्डा लिएर चुनावमा गएको एमालेसँग नयाँ विषय छैनन् । उसले बेला बेला हिन्दु धर्मलाई आफ्नो चुनावी रणनीतिको रुपमा प्रयोग गरेको  देखिन्छ । ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको जलहरी लगाउनेदेखि चितवनमा राम मन्दिर बनाउने घोषण समेत गरेका थिए । यसबाहेक संविधान कार्यान्वयनका सन्दर्भमा एमालेको कुनै एजेन्डा देखिदैन । बुधबार एमालेको केन्द्रीय कमिटी वैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा चुनावको जितको आधार अघिल्लो चुनावमा प्रयोग गरेकै नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पेश गरेका छन् ।

एमाले उपमहासचिव विष्णु रिमालले एमालेले चुनावी एजेन्डाको रुपमा गएको पाँच वर्षमा गरेका कामहरू जनतासामु लिएर  जाने बताए ।   ‘पहिले जे काम गरेका थियौँ, त्यो विवरण लिएर जनतामाझ जान्छौँ,’ उनले भने, ‘पालिकाले गरेका काम पालिका स्तरमा देखाउँछौँ । संघीय सरकारले गरेकाकाम राष्ट्रिय स्तरमा लिएर जान्छौँ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ कै आधारमा अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका कामलाई चुनावी एजेन्डा बनाउने उनले बताए । ‘दोस्रो चुनाव भएकाले हामीले पुरानै समृद्ध नेपाल, सुखी नेपाली कै एजेन्डालाई अगाडी लैजाने हो,’ उनले भने, ‘अघिल्लो कार्यकालमा गर्न नसकिएका काम पूरा गछौँ ।’ 

कांग्रेस प्रवक्ता महतले चुनावी एजेन्डा बारे आगामी केन्द्रीय कमिटीको बैठकले छलफल गरेर निर्धारण गर्ने बताए । वैठकमा पालिकाका आवश्यकताअनुसार छलफल गरेर एजेन्डा निर्धारण गर्ने उनको भनाइ छ । ‘हाम्रो चुनावी अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘तर केन्द्रीय कमिटीको बैठकले एजेन्डाहरू तय गर्नेछ ।’ संघीयताको अभ्यासमा अधिकारको बाँडफाँडमा भएका समस्यामा  छलफल गरेर त्यसलाई आगामी निर्वाचन मार्फत सच्याउँदै लैजाने उनले बताए ।
माओवादी केन्द्रले पनि आगामी चुनावमा के कस्ता मुद्दा लिएर जाने भन्‍ने अझै तय भइसकेको नेता लीलामणि पोख्रेलले बताए । मुख्य एजेन्डा भनेको उत्पादन, प्राकृतिक स्रोतको संरक्षण र संविधानको रक्षा गर्ने भएको उनको भनाइ छ । 

‘हामीले विस्तृत तयारी गरिसकेका छैनौँ,’ उनले भने, ‘तर संविधान कार्यन्वयनको सन्दर्भमा समाजवाद उन्मुख हुनको लागि आधार तयार पार्न उत्पादनमा जोड दिने । हरेक वडामा एउटा उत्पादन गर्ने । प्राकृतिक स्रोत र सम्पदाको रक्षा गर्ने । हाम्रो प्राकृतिक स्रोतलाई जनताले आफै उपयोग गर्ने । लोकतन्त्रमा आएका विकृतिमा सचेतना ल्याउने । हाम्रो एजेन्डा हुने छ ।’  संविधानले ल्याएका संघीयता, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षताको संरक्षण गर्न अनिवार्य राजनीतिक सचेतना काम गर्ने उनको भनाइ छ । आफ्ना चुनावी एजेन्डाहरू  आवश्यकता अनुसार घोषणा पत्र तयार  गरेर सार्वजनिक गर्ने बताए  ।
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x