दल

यी हुन् चुनाव जित्ने कांग्रेस शीर्ष नेताका पत्नी

इकागज |
पुस ८, २०७८ बिहीबार २१:३८ बजे

काठमाडौं - नेपाली कांग्रसको १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीसहित सम्पूर्ण पदको नतिजा सार्वजनिक भएको छ । बिहीबार मतगणना सकिएर साँझ सार्वजनिक मतपरिणाममा केही चर्चित हस्ती पराजित भएका छन् भने केही शीर्ष नेताका पत्नी निर्वाचित भएर आएका छन् । 

पदाधिकारीमा युवाको दबदबमा रहेको नयाँ केन्द्रीय समितिमा शीर्ष नेताका पत्नीदेखि छोराछोरीसम्म प्रतिस्पर्धामा थिए । सुरुमा त सभापति शेरबहादुर देउवाकै पत्नी आरजु राणा देउवाको नाम आउँछ । छोरा जयवीरलाईसमेत राजनीतिमा अवतरण गराइसकेका बेला देउवाकी पत्नी आरजु यसपालि केन्द्रीय सदस्यमा चुनाव लडिन् ।


खुला महिलातर्फ तीन नम्बरमा २५३६ मतसहित निर्वाचित भइन् । १५औं महाधिवेशनमा आरजु महामन्त्रीमा उठ्दै देउवाको विरासत अगाडि बढाउने चर्चा कांग्रेसमा छ। 

दोस्रोमा गृहमन्त्री एवं सर्वाधिक तेस्रो मत ल्याएर खुला केन्द्रीय सदस्यमा निर्वाचित बालकृष्ण खाणकी पत्नीले पनि चुनावमा जित हासिल गरेकी छन् । महिला संघकी महासचिवसमेत रहेकी गृहमन्त्री पत्नी मञ्जु खाणले महिला खस आर्यतर्फ सर्वाधिक मत ल्याएर प्रथम स्थानमा निर्वाचित भइन् । 

यस्तै, कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काका पत्नी शिला खड्का पनि भुगोलतर्फ लुम्बिनीबाट २६७३ मतसहित निर्वाचित भइन् । खुमबहादुरको निधनपछि शिला र उनका छोरा अनुराग कांग्रेसको राजनीतिमा होमिएका छन् । शिलालाई सभापति देउवाले यसअघि खुमबहादुरको निधनपछि केन्द्रीय सदस्य मनोनित गरेका थिए । 

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा २१३८ मतसहित विजयी भएका छन् । रामवरणकी भतिजी एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव भने पराजित भएकी छन् । 

कांग्रेसको पराजित हुने सूचीमा चर्चित नेताहरुसमेत रहेका छन् । विजयकुमार गच्छदार, महेश आचार्य, चन्द्र भण्डारी, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, गिरिजापुत्री सुजाता कोइराला, पूर्वमन्त्री हृदयराम थानीलगायतले पराजय व्यहोरेका छन् । 
 


Author

थप समाचार
x