दल

कांग्रेस चितवनका सभापति केन्द्रीय सदस्यमा पराजित, पूर्वसभापति र राज्यमन्त्री विजयी

इकागज |
पुस ८, २०७८ बिहीबार २०:२९ बजे

चितवन - नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ केन्द्रीय सदस्यमा पराजित भएका छन् । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आदिवासी जनजाति समूहको खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ पराजित भएका हुन् ।

आदिवासी जनजाति समूहको खुलाबाट आठ जना निर्वाचित हुनेमा उनी नवौं स्थानमा परेका थिए । थोरै मत अपुग हुँदा निर्वाचित हुन नसकेको स्वीकार गर्दै उनले निर्वाचनलाई सिकाइको रूपमा लिने बताए । उनले पहिलो पटक केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।


त्यसैगरी आदिवासी जनजाति समूहको खुलाबाट केन्द्रीय सदस्यमा कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ र राज्यमन्त्री उमेश श्रेष्ठ निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फबाट चितवनकी अन्जनी श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

त्यसैगरी दलित महिलातर्फबाट शान्ति परियार पनि केन्द्रीय सदस्यमा निर्वाचित भइन् । निर्वाचन समितिले उनीहरूको मतसहितको विवरण सार्वजनिक गरिसकेको छैन। २०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएरपछि केन्द्रीय सभापति शेरबहादुर देउवाको दबाबमा उम्मेदवारी फिर्ता लिएका दिनेश कोइराला यसअघि नै खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

उनले १७ सय ८१ मत ल्याएर इतिहासमा पहिलो पटक चितवनबाट खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यससँगै कांग्रेसको केन्द्रीय सदस्यमा चितवनबाट प्रतिनिधित्व गर्नेको संख्या पाँच पुगेको छ ।


Author

थप समाचार
x