दल

कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

इकागज |
पुस ८, २०७८ बिहीबार १२:५४ बजे

धनगढी- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् ।

१४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए । 


खुला केन्द्रीय सदस्यमा कञ्चनपुरका एनपी साउद र रमेश लेखक, डडेल्धुराका नैनसिंह महर तथा दार्चुलाका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । 
महिला केन्द्रीय सदस्यतर्फ डडेल्धुराकी आरजु राणा देउवा तथा कैलालीबाट ईश्वरी न्यौपाने विजयी भएका छन् । भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी, कैलालीकी सुशीला मिश्र भट्ट विजयी भएका छन् । 

दलित खुलातर्फ कैलालीका नृपबहादुर वड र बझाङका प्रकाश स्नेही रसाइली विजयी भएका छन् । थारु खुलातर्फ कैलालीका रामजनम चौधरी र जीवन राना, पिछडिएको क्षेत्रबाट बझाङका अर्जुनजंगबहादुर सिंह तथा खस आर्यतर्फ अछामका गोविन्दबहादुर शाह विजयी भएका छन् । 

जिल्लागत रूपमा हेर्दा डडेल्धुराबाट सभापतिसहित तीनजना, बाजुराबाट एक सहमहामन्त्री, कैलालीका ६ जना केन्द्रीय सदस्य, कञ्चनपुरका तीनजना केन्द्रीय सदस्य, बझाङबाट दुईजना केन्द्रीय सदस्य तथा अछाम र दार्चुलाका एक/एकजना केन्द्रीय सदस्यमा विजयी भएक छन् । बैतडीबाट केन्द्रीय सदस्य निर्वाचित भएका छैनन् ।

विजयी १७ मध्ये संस्थापन पक्षबाट १४ तथा इतर समूहबाट तीनजना विजयी भएका छन् । कांग्रेस सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे, केन्द्रीय सदस्य दिलेन्द्र बडू र बझाङका प्रकाश स्नेही रसाइली इतर समूहका हुन् ।
 


Author

थप समाचार
x