दल

कांग्रेस १४ औँ महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित 'विवादास्पद छवि'का नेताको नालीबेली

गुण्डाराजदेखि नेविसंघ, तरुण दल र राप्रपामा छँदाको असफल परिचय फेरिएला ?

विष्णु विश्‍वकर्मा |
पुस ४, २०७८ आइतबार २२:५१ बजे

काठमाडौँ - आफ्नै संगठनको अधिवेशन गर्न नसक्नेदेखि बीपीलाई फाँसी दिनुपर्छ भन्नेका सन्तानसमेत कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस १४ औँ महाधिवेशनमा ३५ सदस्यका लागि ९९ जनाको चुनावी भिडन्तमा भ्रातृ संगठनमा नै असफल भएका, अरु पार्टीबाट प्रवेश गरेका र 'विवादास्पद गुण्डा नाइकेसम्म'ले पनि बाजी मादै कांग्रेस केन्द्रीय सदस्यमा जित हासिल गरेका छन् । 

कांग्रेसको केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर विजयी भएका निवर्तमान महामन्त्री शशांक कोइराला पदाधिकारीमा छँदा नै असफल भएका नेता हुन् । उनी कांग्रेसको निर्वाचित महामन्त्री हुँदा पनि संगठनलाई आफ्नो पकडमा राख्न सकेनन् । न उनले कांग्रेसको तर्फबाट संसदमा नै दमदार भाषण गरे । 


पछिल्लो समय आफ्नै परिवारबाट कांग्रेस केन्द्रीय सभापतिमा उठेका दाजु डा. शेखर कोइरालाका विरुद्ध उनी देउवा कित्तामा उभिए । उनलाई बीपीपुत्र भएको लाभ छ । त्यसैले उनी खुला केन्द्रीय सदस्यमा अत्यधिक मतका साथ विजयी पनि भए । महाधिवेशन प्रतिनिधिले बीपी सम्झेर उनलाई मत हालेको भन्दा अन्यथा नहोला । तर देशमा प्रजातन्त्र ल्याउने कांग्रेसलाई गणतन्त्रमा जगाउनेमा उनको भुमिका कहीँ कतै देखिदैँन ।

त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भएका अर्का विवादास्पद नेता हुन्, जिप छिरिङ लामा । दोलखाका सांसद लामाले राजाको शासन कालमा राजाको पक्षमा वक्तव्य जारी गरेका थिए । उनी ‘मौसुफ सरकारले अति राम्रो काम गरिबक्स्यो’ भन्दै पत्र चढाउन दरबार पुगेका थिए । जुन बेला कांग्रेस राजाको विरुद्ध आन्दोलनमा थियो । उनी कांग्रेस केन्द्रीय सदस्यको शीर्ष १० नेतामै परेका छन् । जो ‘क’ श्रेणीका ठेकदार पनि हुन् । 

यस्तै जितजंग बस्नेत पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बस्नेत नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष हुन् । २०७३ साल कात्तिक ३० गते तरुण दल अध्यक्ष भएका बस्नेतले चारजना पदाधिकारी बाहेक तरुण दललाई पूर्णता दिन सकेनन् । पाँचवर्षसम्म उनले न तरुण दललाई पूर्णता दिए न अधिवेशन नै गराउन सके । बस्नेतलाई कांग्रेस महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा निर्वाचित गरेका छन् । 

यस्तै भ्रातृ संगठनकै राजनीतिबाट उदाएका तर विद्यार्थी नेतामै असफल देखिएका नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर पनि केन्द्रीय सदस्य बनेका छन् । नेविसंघको अधिवेशन गराउन नसकेर बर्खास्तीमा परेका महरले यसपटक केन्द्रीय सदस्यमा चुनाव जिते । पटक–पटक अधिवेशन गराउन नसकेपछि उनलाई बर्खास्त गरिएको थियो । उनको बर्खास्तीपछि टिका लगाएर अध्यक्ष भएका राजीव ढुंगाना पनि केन्द्रीय सदस्य भएका छन् । उनी नेविसंघका वर्तमान अध्यक्ष हुन् । उनले पनि नेविसंघलाई ‘क्लब’ जस्तो बनाएका छन् ।

५० वर्षको आसपासमा नेविसंघ अध्यक्ष बनेका ढुंगानाले पनि न नेविसंघको महाधिवेशन गराउन सकेका छन् न त केही पदाधिकारीबाहेक नेविसंघलाई पूर्णता दिन सके । नेविसंघलाई ‘बन्धक’ बनाएका ढुगांनालाई पुरस्कारस्वरुप महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य बनाएका छन् । 

यसैगरी राप्रपाबाट कांग्रेसमा आएका सुनिल थापा केन्द्रीय सदस्य भएका छन् । थापाका बुबा सुर्य बहादुर थापा तिनै व्यक्ति हुन्, जसले बीपीलाई फाँसी दिनुपर्छ भन्दै भाषण गरेका थिए । बीपीलाई आफ्नो अनुयायी मान्ने कांग्रेसी कार्यकर्ताले बीपीलाई नै फाँसी दिनुपर्छ भन्ने नेताका छोरालाई केन्द्रीय सदस्य निर्वाचित गरेका छन् । 

यता, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पनि कांग्रेस केन्द्रीय सदस्य भएका छन् । उनी युनियनका महासचिव हुन् । सात वर्षसम्म युनियनको महाधिवेशन नहुनुमा अध्यक्ष बद्री सिग्देल जतिकै जिम्मेवार हुनुपर्ने हुनुपर्ने टिप्पणी कांग्रेसमा चलेको थियो । यद्यपी सिवाकोटीले तत्कालिन सभामुख कृष्णबहादुर महराको ‘बलात्कार प्रकरण’ र तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘घुस अडियो’ प्रकरणबारे सबैभन्दा पहिले समाचार लेखेर चर्चा कमाएका थिए । 

यस्तै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चर्चित तर विवादित मानिएको अर्को नाम हो, गणेश लामा । जसको नाम सुन्नेवित्तिकै केही वर्षअघिसम्म मानिसहरु डराउँथे । फिरौती, अपहरण, चन्दा, आतंक, धम्की, चोरी डकैतीमा गणेश लामाकाे  नाम अग्रस्थानमा आउँथ्यो । लामा अहिले कांग्रेस केन्द्रीय सदस्यको पदमा पुगेका छन् । त्यो पनि चुनाव जितेर ।

यस्तै कांग्रेस केन्द्रीय सदस्यमा रामहरि खतिवडा पनि निर्वाचित भएका छन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाको फोटोमा जुत्ताको माला लगाएर सहर घुमाउनेमध्येका एक खतिवडा यसपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x