दल

जब स्कुलका साथी बिलट खोज्दै डा. शेखर पुगे झुपडीमा…

इकागज |
माघ १६, २०८० मंगलबार १५:४३ बजे

काठमाडौँ- मध्य माघको चिसोले तराईको वातावरणलाई चिस्याउँदै लगेको छ । हुस्सु लागेर वरपर केही देखिँदैनन् । मानिसहरूको चहलपहल छैन । मोरङको जहदा गाउँपालिका ५ का बिलट कामत भने बुढ्यौली लागेसँगै आफूलाई सुस्ताएको ठान्न थालेका छन् । सुस्ताएको ठानेर होला हिजोआज उनी लठ्ठीको सहारामा हिड्छन् ।

महिनौसम्म साथीहरूलाई काँधमा बोकेर हिड्दा पनि नथाक्ने बिलटलाई अहिले घरदेखि बाहिर निस्कन लठ्ठीको सहारा खोज्छन् ।


चिसोमा घरभित्र बस्न नसक्ने उनी भने घाम ताप्न घरबाहिर बस्छन् । बुढ्यौली र रोगले च्यापेसँगै यताउता गर्न नसक्ने बिलटको दैनिकी घरमै भित्रबाहिर गरेर समय बित्छ । बढ्दो उमेरसँगै उनी आफन्त र साथीहरूसँग दिन कटाउन थालेका छन् ।

चार छोरा, दुई छोरीका पिता बिलट परिवारलाई समय दिएर बसेका छन् । टाढा जानु परेमा नजिकैको बजारसम्म पुग्छन् ।

अहिले भने तीन छोरा र श्रीमतीका साथमा बढ्दै गइरहेको जीवन बिताउन विवश छन् । उमेरले सात दशक कटेका बिलटलाई ढाड दुख्ने समस्याले सताउन थालेको छ ।

सोमबार मध्यान्ह भने बिलटको घर आँगन अगाडि फरक दृश्य देख्यो । सेतो गाडी रोकियो । गाडीको वरिपरि मानिसहरू झुम्मिन थाले । उनी पनि घर बाहिर घाम तापेर बसिरहेका थिए ।

गाडीबाट नेपाली कांग्रेसका वरिष्‍ठ नेता तथा सांसद डा. शेखर कोइराला झरे । उनी तिनै बालसखाको साथी भेट्न बिलटको आँगन टेक्न पुगे । मध्य माघको तातिँदै गएको घामले बिलट र शेखरलाई एकैपटक स्वागत गर्‍यो । उनीहरू दुवैको शरीरमा धेरै दिनपछि झुल्किएको घामले स्पर्श गर्‍यो ।

कुनै समय डा. शेखर र बिलट आदर्श विद्यालयमा सँगै पढेका थिए । सानामा विद्यालय पढ्दा डा. शेखर बिरामी पर्दा उनै बिलटले लाने ल्याउने गर्थे । दुवै जना कक्षा १ देखि ७ सम्म सँगसँगै पढेका थिए । शेखरले आफ्नो विद्यालयीय शिक्षा सरकारी विद्यालयबाट सुरु गरेका थिए । उनी मात्र कोइराला परिवारमा सरकारी विद्यालयमा अध्ययन गर्नेमा पर्दथे ।

डा. शेखरको खुट्टामा लागेको चोटले गर्दा सहजै विद्यालय पुग्न सक्दैन थिए । बिलटले बोकेर विद्यालयदेखि घरसम्म लैजाने गर्थे ।

शेखर दुई महिनासम्म बिलटको काँधमा बसेर विद्यालय आउजाउ गर्थे । तिनै शेखर आज देशकै ठूलो पार्टीको नेता बनेर मुलुकको कानुन बनाउने ठाउँमा पुगी पैरवी गर्छन् । सानामा उनले गरेको दुःखलाई सम्झेर खोज्दै शेखर उनको घरमा पुगे ।

बिलटकोमा डा. शेखरले आधा घण्टा समय बिताए । शेखरले सोधेका थिए,’ स्वास्थ्य अवस्था कस्तो छ ? परिवारमा सबैलाई सन्चै छ ।‘ बिलटले बाल्यकालीन साथी एक्कासि आँगनमा भेटेपछि भित्र जान आग्रह गरे ।

बिलटलाई डा. शेखरले भने,’बिलट तिमीलाई भेट्न आएको म । यहीँ भेटघाट गरौँ । यहीँ बस्छु ।'


Author

थप समाचार
x