दल

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आजपाको विरोध प्रदर्शन

इकागज |
पुस १, २०८० आइतबार १५:२९ बजे

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले काठमाडौँस्थित भन्सार विभाग घेराउ गरेको छ । आइतबार आजपाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको हो ।

सरकारी वेतनभोगी कर्मचारीमार्फत राजश्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने उनीहरूको माग छ । विरोध कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य बिल्टुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग पूरा गर्नका निम्ति बाध्य बनाएर छोड्ने बताए । उनले तीन दिनमा सरकारले माग पूरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने र आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिए ।


त्यस्तै पार्टीका केन्द्रीय सदस्य रञ्जुकुमारी साहले राज्यले नियम कानुन बनाएर आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी गर्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रिएको बताइन् ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ ।

आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो । 


Author

थप समाचार
x