दल

एनसेल शेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव

इकागज |
मंसिर २२, २०८० शुक्रबार १७:३१ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका हुन् । विगतमा पनि सरकारले एनसेलले अर्बौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको भन्दै उनले यस प्रकरणमा आवश्यक छानबिन गर्नुपर्ने जिकिर गरे ।


अध्यक्ष यादवले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताए । उनले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताए ।

उनले भने, ‘एकपटक सुनिएको थियो एनसेलको अर्बौँको कर मिनाहा गर्यो सरकारले । त्यति बेला कुरा उठ्यो तर चासो कसैको अगाडि बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक-पटक । देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । मैले आफूले भोगेको अहिलेसम्म हेरेकोमा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइन जुन अहिलेको अवस्थामा म देख्दैछु ।’

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरू गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रूपमा स्पष्ट हुनुपर्ने बताए । उनले यस्ता कामहरूमा सेनालाई नलगाई पेसागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै उनले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि उनले बताए ।   


Author

थप समाचार
x