दल

नेकपा एसले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने

इकागज |
मंसिर १८, २०८० सोमबार १८:२५ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि (मंगलबार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । उनले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति (माघ १४–१८)मा गर्नका लागि देशको अवस्था र तयारीको कारण प्रभावित पारेको भन्दै सो सम्बन्धमा आवश्यक निर्णय हुने बताए ।


सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खतिवडाले मध्यावधि निर्वाचनको कुनै सम्भावना नभएको बताए । उनले केही राजनीतिक दलहरूले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी रोक्नका लागि मध्यावधिको हल्ला गरेको टिप्पणी गरे ।

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि (मंगलबार) बिहान ११ बजे पुनः बस्नेछ । 


Author

थप समाचार
x