दल

रास्वपा महामन्त्री ढकाल भन्छन् : अवसरवादीहरूलाई रोक्नु हाम्रो चुनौती हो

बाबुराम भण्डारी |
साउन ४, २०८० बिहीबार १८:१८ बजे

विराटनगर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं केन्द्रीय प्रवक्ता डा.मुकुल ढकालले पार्टीभित्र अवसरवादीहरूलाई रोक्नु चुनौती भएको बताएका छन् । गृहनगर विराटनगर आएर आफ्नै निवासमा बिहीबार सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै महामन्त्री ढकालले अवसरकै खोजीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनेलाई भन्दा जनताका लागि केही गर्छु भनेर आउनेलाई ठाउँ दिनुपर्ने बताएका हुन् ।

उनले रास्वपाभित्र विभिन्न राजनीतिक पार्टीमा लागेका व्यक्तिहरू पनि आबद्धता हुने क्रम रहेको भन्दै त्यसरी आउनेहरूलाई रोकिहाल्न पनि नसकिएको स्वीकार गरेका छन् । मुख्यगरी कांग्रेस, एमाले र माओवादी लगायतका परम्परागत पार्टीहरूबाट सहजै आउनेलाई रोक्नका लागि पार्टीले जान्नेलाई छान्ने नीति लिँदै आएको बताए ।


‘नेपालमा कुनै न कुनै मान्छे कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध भएका छन्, हामीले अहिले गर्न खोजिरहेको भनेको अवसरवादीलाई चैं रोक्नुपर्छ, अवसरकै खोजीमा आउनेलाई रोक्नुपर्छ,’ महामन्त्री ढकालले भने, ‘तर, जनताका लागि केही गर्छु भनेर आउनेलाई दिनुपर्छ, हाम्रो प्राथमिकता भनेको आजपनि स्वतन्त्र व्यक्तिहरूलाई स्थापित गराउने नै हो ।’

उनले पार्टीभित्रको मुख्य नेतृत्वदायी ठाउँहरूमा भने स्वतन्त्र भनिएका व्यक्तिहरूलाई नै पहिलो प्राथमिकता दिएर अघि बढेको बताए । पुराना पार्टीहरूबाट आउँदा कम्तीमा जान्नेलाई छान्ने नीति लिइएको बताए । त्यसैगरी समाजमा प्रतिष्ठा कमाएका र सामाजिक छवि बनाएका व्यक्तिहरूलाई पहिले जोडौँ भन्ने नीति रहेको उनले जानकारी दिए ।

‘राजनीतिक पार्टीबाटै आएका व्यक्तिहरूलाई जोड्दा कोही कांग्रेस जस्तो, कोही एमाले जस्तो, माओवादी जस्तो भन्ने पनि देखिन्छ, त्यसलाई हामीले तथ्यका आधारमा राजनीति गर्ने र जनताको सेवासँग जोडिएर राजनीति गर्ने गरी स्वीकार गरेका छौं,’ उनले भने, ‘तर, त्यतिले पुग्दैन रहेन छ, किनभने स्वतन्त्र भनिएका सबै व्यक्तिहरू राजनीतिमा लागिहाल्न पनि इच्छ्याएका हुँदैनन्, पुराना पार्टीका व्यक्तिहरू आउँदा रोकिहाल्दा फेरी ठाउँ खाली रहने भयो, खाली रह्यो भने उपाय त भएन, मान्छे त चाहिन्छ ।’

उनले शिक्षा क्षेत्रको मान्छे आउँदा सरकारी स्कुल राम्रो गर्ने र शिक्षा क्षेत्रको विकृति अन्त्य गर्ने खालको आउनु पर्ने भन्दै उदाहरण दिए । साथै सम्बन्धित क्षेत्रको विज्ञता नराखी र अरु पार्टीमा राजनीतिको साटो लाजनीति गर्नेलाई मात्रै लिएर आउन रोक लगाइएको बताए । पार्टीभित्र अहिले पनि त्यस्ता व्यक्तिहरू छिरेको महसुस हुने गरेको महामन्त्री ढकालले बताए ।

उनले सरकारले केही नेपाल ऐन संशाेधनसम्बन्धी अध्यादेश ल्याए पनि त्यसमा उल्लेख भएका कतिपय विषयमा रास्वपाले सदनदेखि सडकसम्मै उत्रिइसकेको जानकारी दिए । सरकारले पेलेर जस्ताको तस्तै पारित गर्न खोजे त्यसको विरोधमा सडक र सदनमा उत्रिने घोषणा गरे ।

पेसाले चिकित्सक रहेका विराटनगर महानगरपालिका–३ दुधफाराम निवासी ढकालले आफूमा सुरुदेखि नै राजनीतिप्रति लगाव रहेको बताए । उनले आगामी निर्वाचनमा आफू मोरङ क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने घोषणा समेत गरे । उनले विगतमा पार्टी संगठन निर्माण गर्न नसकेका कारण मोरङमा सबै क्षेत्रमा उम्मेदवारी दिन नसकेको जानकारी दिए ।

विशेष अवस्था आएको खण्डमा भने पार्टीको निर्णय अनुसार अर्को निर्वाचन क्षेत्रमा पनि जान सकिने बताए ।​ रास्वपाले आगामी निर्वाचनसम्म देशभर कम्तीमा आठ लाख सदस्यसहित सबैभन्दा ठूलो पार्टी बन्ने उद्देश्य राखेको सुनाए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x