दल

सत्ता गठजोड

जसपा एक नभएपछि वैकल्पिक सरकारको सम्भावना टर्‍यो

देउवा पछि हटे, साँझै ओली पुन: प्रधानमन्त्री नियुक्त हुने

चन्द्रशेखर अधिकारी |
बैशाख ३०, २०७८ बिहीबार १८:५ बजे

काठमाडौँ : जनता समाजबादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह टसमस नभएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दौडबाट पछि हटेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाउने विषयमा बहस हुँदा पनि सहमति नजुट्ने देखिएपछि देउवा सत्ताको दौडबाट पछि हटेका हुन् । 

हुन पनि देउवाले यो गठजोड चाहेका थिएनन् । पहिले नै माओवादीले दिएको धोकाको कारण उनी यो गठजोडको पक्षमा खासै थिएनन् । पार्टीभित्र निकै दबाब र बाहिर पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवाको साँठगाँठ भनेपछि देउवा वैकल्पिक सरकारको गठजोडमा लागेका थिए ।  


उनलाई यस्तो अवस्था आउने पहिले नै थाहा थियो । त्यही भएर देउवा कतै नधाएको उनी निकट एक नेताले जानकारी दिए । हुनत उनले पछिल्लो समय छलफल व्यापक पारेका थिए । जुन छलफलले त्यहाँ खासै काम गरेन र वैकल्पिक सरकारको गठजोड हुने देखिएन । अहिले माओवादी स्थायी समितिको बैठक बसिरहेको छ । त्यहाँबाट कुनै त्यस्तो  निर्णय आए पनि कुनै अर्थ छैन । 

माओवादीले पहिले नै देउवालाई समर्थन गरेको घोषणा गरिसकेको छ । एमालेले माधवकुमार नेपाल समूहमाथि गरेको कारबाही फुकुवा गरेपछि उनीहरूको राजीनामा पनि टरेको छ । राजीनामा नै दिए पनि सिंगो जसपा नआएसम्म सरकार बन्‍ने अवस्था नरहेकाले त्यति जोड नगरेको ती नेताले बताए । 

अब त राजीनामा नै गरे पनि ठूलो दलको नेताको नाताले ओलीलाई प्रधानमन्त्री हुन रोक्न सक्ने अवस्था छैन । किनकि बहुमतका लागि दिएको समय राति ९ बजेसम्म छ । आज साढे पाँचभन्दा बढी समय भइसक्यो । सांसदहरूको सनाखत गर्न समय हुँदैन । देउवाले नेपाल समूहले राजीनामाको धम्की सञ्‍चारमाध्यममार्फत दिएर ओलीसँग बार्गेनिङ गर्दै आएको कुरा बुझेर नै नेपाल समूहसँग खासै ठूलो आशा राखेका थिएनन् ।  

जसपा एकढिक्का भएर समर्थन नगरेसम्म प्रधानमन्त्रीको ढोका नखुल्ने स्पष्ट रहेको भन्दै देउवाले हरेक वार्तामा जसपाका नेताहरूलाई एक ढिक्का भएर आउन पर्‍यो भन्दै आएका थिए । सत्ताको खेलमा माहिर देउवा आफू सहज प्रधानमन्त्री हुने भए पक्कै गठजोडमा लाग्थे नै ।

‘त्यो बुझेर नै सभापति देउवाले आरम्भदेखि नै नपुग्‍ने धार्नीमा बल नगरौं भन्दै आउनु भएको थियो,’ देउवाको निजी सचिवालयले भन्यो, ‘अब, पछिको रणनीतिमा सहकार्य गरौँ अहिले सम्भव हुने देखिएन । अब, कुनै मिराकल भएर महन्थ ठाकुर प्रधानमन्त्री हुन्छु जसपा एक ढिक्का छौ भनेर आए मात्र सम्भव छ । अन्यथा सम्भव छैन ।’ 

यही विषयमा केही बेरअघि देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुढानिलकण्ठमा छलफल भएको थियो । राष्ट्रपतिले बहुमतकाे सरकार बनाउन दिएको समयसम्म महन्थलाई मनाउने प्रयास गर्ने सहमति बनेको छ । महन्थले आफ्नो सहमति बेगर पत्र आए आफूले फरक पत्र पठाउने जानकारी राष्ट्रपतिलाई गराइसकेका छन् ।   

नयाँ संविधानको धारा ७६ (२) को व्यवस्था बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्थाका कारण जसपाको समर्थन अनिवार्य देखिएको हो । अब, त्यो अवस्था नहुने भए पछि धारा ७६ (३) अनुरुप प्रधानमन्त्री नियुक्त हुने प्रक्रिया अघि बढ्ने छ । त्यो पनि साँझ ९ बजे लगत्तै । 

प्रधानमन्त्री सम्बद्ध उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले सङ्ख्याका बारेमा प्रधानमन्त्री ओलीले विश्‍वासको मत लिनु अगावै सम्बन्धित विज्ञहरूसँग परामर्श गरिसकेकी छन्। जसरी पनि राष्ट्रपतिले रोक्न सक्ने हुनाले यस विषयमा छलफल भएको हो । 

सिंगो जसपाले निर्णय लिन नसक्दा समस्या आएको हो । ठाकुर र उपेन्द्र यादवले सहकार्य गर्न नसकेको कारण ओली पुनः नियुक्त हुने निश्‍चितजस्तै देखिएको हो । एमाले स्रोतका अनुसार, पार्टीमा असन्तुष्ट नेता माधवकुमार नेपाल समूहसमेत ओलीसँग मिलेकाले यतिबेला सबै विकल्प बन्द भएको र ठाकुरलाई बनाएर भए पनि सरकार परिवर्तन गर्न सक्ने भनिएको छ । तर ठाकुर दिउँसो देउवासँग सम्पर्क गरेर गएपछि फेरि सम्पर्कमा आएका छैनन् । 

ठाकुर सम्पर्कमा नआएपछि आफू प्रधानमन्त्री बन्‍न पनि प्रधानमन्त्री ठाकुर नचाहेको निष्कर्षमा कांग्रेस र माओवादी नेताहरू पुगेका छन् ।  फेरि संविधानअनुसार नियुक्तिको बेला पूरै संख्याको बहुमत सदस्य चाहिने हुनाले पनि राजीनमा दिएर र जसपाको केही सदस्य आएर पुग्दैन ।

विश्‍वासको मत लिँदा कायम संख्या भए पनि सरकार बनाउँदा तोकिएको संख्याको नै बहुमत अर्थात १३८ नै चाहिने तर्क शीतल निवासको छ । यस विषयमा समेत लछफल गरेर नै तीन दिनको समय सीमा राष्ट्रपतिले तय गरेकी हुन् ।  

राष्ट्रपतिले दिएको समय सकिन अब तीन घण्टा मात्रै बाँकी छ । जसले गर्दा त्यहाँ पनि समस्या पर्ने देखिन्छ । यसअघिको अभ्यास पनि नियुक्तिका बेला कुल संख्याको बहुमतको समर्थन भएका दलको सहमति राष्ट्रपतिसमक्ष पेश गर्नुपर्थ्यो ।  


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x