दल

कोशी प्रदेश नामकरणमा राजेन्द्र राईसँग माधव नेपालको असन्तुष्टि

‘केही साथीहरूले आफ्नो ढंगले चल्ने काम गर्नुभएको सुनियो’

बाबुराम भण्डारी |
बैशाख २४, २०८० आइतबार १८:३ बजे

विराटनगर- नब्बे प्रतिशत बढी मतका साथ कोशी प्रदेश नामकरणको प्रक्रियामा पार्टीका केन्द्रीय सचिव समेत रहेका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राई लगायतका प्रदेश सभा सदस्यहरू आफ्नो ढंगले चल्न खोजेको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् । उनले लगभग सहमतिका साथ भएको प्रदेशको नामकरणका क्रममा ‘हाम्रा केही साथीहरूले आफ्नो ढंगले चल्ने काम गर्नु भएको सुन्नमा आयो’ भन्दै कोशी नामले नै सबैको पहिचान जोडिने कुरा दोहोर्‍याएका हुन् ।

अध्यक्ष नेपालले आइतबार विराटनगर विमानस्थलमा ओर्लिएपछि संचारकर्मीहरूको प्रश्नमा कोशी प्रदेश नामकरण आफ्नो पार्टीका लागि आपत्तिको विषय नभएको बताए ।


‘कोशी प्रदेशमा लगभग सहमति नै भएको रहेछ, हाम्रा केही साथीहरूले आफ्नो ढंगले चल्ने काम गर्नु भएको सुन्नमा आयो,’ नेपालले भने, ‘सबैको साझा पहिचान (कोशी) हो भन्ने कुराका रूपमा स्थापित गरेर सबैले अपनत्व महसुस गरेर, यो कुनै धर्म संस्कृतिसँग जोडिएको छैन, नेपालको प्राकृतिक सम्पदा हो यो, कोशी हामी सबैको गौरवै हो यो, सगरमाथा पनि सबैको गौरवै हुन्थ्यो, यसमा हामी कसैलाई आपत्ति थिएन, कोशीमा सहमति भइसकेपछि त्यसमा हामीले मानेर सम्झाएर जानुपर्छ ।’

नेपालले यसअघि चैत २९ मा पनि सुनसरीको इटहरीमा पुगेर कोशी नामकरण ‘राम्रो भएको’ र जातीय द्वन्द्वलाई कम गर्न मद्दत पुगेको बताएका थिए ।

२०७९ फागुन १७ गते बसेको तत्कालीन प्रदेश १ को प्रदेशसभाको १३ औं बैठकबाट पहिलो पाँच वर्षमा हुन नसकेको प्रदेशको नामकरण ‘कोशी प्रदेश’ कायम गर्दै सकिएको थियो ।

नामकरणका क्रममा नेकपा एसका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले भने कोशी नामले पहिचान नसमेटिने तर्क गर्दै किराँत लिम्बुवान जोड्नै पर्ने जिकिर गरेका थिए । तर, प्रदेशसभाको बहुमतबाट उनले प्रस्ताव गरेको ‘सगरमाथा–किराँत–लिम्बुवान’ र संशाेधन प्रस्तावमा उल्लेखित ‘कोशी–किराँत–लिम्बुवान’ बहुमतले अस्वीकृत भएको थियो ।

नामकरणका विषयमा प्रदेशसभामा चार जना सदस्य रहेको नेकपा (एस) संसदीय दलका नेताले राईले जातीय पहिचानलाई समेटिनै पर्ने अडान राखेका थिए । उनको अडानका कारण चारैजना प्रदेश सभा सदस्यहरूले कोशी प्रदेशको विपक्षमा मतदान पनि गरेका थिए ।

त्यसपछि राईले कोशी नामकरणका क्रममा व्यक्त गरेको एकल अडानको वैधानिकतामाथि पार्टीकै नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए । नेकपा एसका पोलिटब्युरो सदस्य महेश रेग्मीले पार्टीलाई एकल ढंगले चलाउन नहुने भन्दै कोशीभन्दा अर्को नाम राईको व्यक्तिगत विचार भएको टिप्पणी गरेका थिए ।

पार्टी नेतृत्वले कोशी कै पक्षमा समर्थन जनाउनुपर्ने दबाब आएपछि नेतृत्वसँग रिसाएका राई अध्यक्ष नेपालसहितका केन्द्रीय नेताहरू दुई पटक विराटनगर विमानस्थलमा ओर्लिंदा समेत स्वागतका उपस्थित भएका छैनन् ।

काेशी प्रदेश नामकरण भएपछिका पहिचान पक्षधरहरूको प्रदर्शनमा जिल्ला–जिल्लाबाट नेकपा (एस) का कार्यकर्ताहरू समेत सहभागी हुँदै आएका छन् । तर, पार्टी अध्यक्ष नेपालले भने कोशी नाम उचित भएको भन्दै सबैले जनतालाई सम्झाएर सबैको साझा पहिचानका रूपमा कोशीलाई लिनुपर्ने बताएका हुन् । उनले कोशी वा सगरमाथा जे सुकै नाम भए पनि त्यसलाई पार्टीले त्यतिबेलै स्वीकारिसकेको खुलासा पनि गरे ।

नेपालले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका जुनसुकै तहका व्यक्तिहरू भए पनि उनीहरूलाई कारबाही गर्न सरकार पछि हट्न नहुने सुझाव दिएका छन् ।

‘दबाबकाे सामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ,’ उनले भने, ‘निर्दाेषी नपरुन्, दोषी नउम्किउन् भन्ने मान्यतालाई राखिकन बदमासी गर्ने जोसुकै किन नहुन्, जतिसुकै ठूलो ओहोदाका किन नहुन्, उनीहरूलाई कानुनको दायरामा दण्ड दिने अवस्थामा पुर्‍याउनै पर्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x