दल

प्रतिपक्षी बेञ्चमा ओली अहंकार

इकागज |
चैत ६, २०७९ सोमबार १२:३८ बजे

काठमाडौँ- केवल दुई महिनाको फरकमा आइतबार संसद्‌मा रोचक दृश्य देखियो । दुई हप्ताअघिसम्म सरकारमा रहेर मन्त्री बनेकाहरू प्रतिपक्षी सिटमा थिए । अनि प्रतिपक्षी सिटमा बसेका सांसदहरू सत्तापक्ष सिटमा सरेका देखिन्थे ।

गएको मंसिरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दै संयुक्त चुनाव लडेका थिए । एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीलाई साथमा लिएर ‘प्रतिगमनविरुद्धको गठबन्धन’ भन्दै कांग्रेस, माओवादी र समाजवादी धेरै ठाउँमा विजयी भएका थिए ।


त्यही अनुसार नयाँ सरकार बन्ने र एमाले कम्तीमा फेरि पाँच वर्ष प्रतिपक्षी बेञ्चमा सीमित हुने राजनीतिक आँकलन थियो । तर राजनीतिमा उखान टुक्का जोडेर छक्याउँदै आफ्नो स्वार्थ पूरा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली प्रवृत्ति फेरि एकपटक प्रचण्डको प्रधानमन्त्री हठमा हावी भयो ।

जसकारण कांग्रेस सभापति शेरबहादुर देउवालाई छक्याउँदै एमाले अध्यक्ष ओली माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर प्रतिपक्षी सिटबाट सत्तापक्षको सिटमा सरुवा भएका थिए ।

झुटको राजनीति धेरै नटिक्ने वास्तविकतामा प्रचण्ड ओलीभन्दा देउवा राजनीतिक रुपमा जिम्मेवार भन्दै पुरानै गठबन्धनमा फर्किए । जसको प्रमुख कारण थियो, ओली अंहकार ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछिको पहिलो बैठकमा नै ओलीले आफूले गरेको संसद्‌ विघटनको खुलेर बचाउ गरेका थिए । प्रचण्ड आफ्नै समर्थनमा प्रधानमन्त्री बनेपछि आफूले जे गर्दा पनि हुने अहंकार ओलीमा फेरि हावी भएको थियो ।

जसकारण प्रधानमन्त्री जस्तो व्यक्ति भएपनि प्रचण्डलाई सामान्य राजनीतिक व्यवहार र सम्मान गर्न ओली बेला बेला चुकिरहेकै थिए । जसको मूल्य यतिबेला ओलीलाई चर्कै परेको छ ।

अनि त्यसको सबैभन्दा भयानक दृश्यका रुपमा संसद्‌मा आइतबार देखियो । जहाँ ओली आफ्नै अंहकारका कारण फेरि प्रतिपक्षी सिटमा निन्याउरो अनुहार लगाएर बस्नु परेको थियो ।

दुई हप्ता अघिसम्म पनि सरकारमा मन्त्री बनेका ओली नेतृत्वका एमाले नेताहरू अहिले प्रतिपक्षी सिटबाट सरकारलाई प्रश्न गरिरहेका थिए । केही दिन अघिसम्म शान्त देखिएर आफैलाई पश्चातापको घेरामा राखेका कांग्रेस नेताहरू सत्तापक्षको कुर्सीमा सरेका थिए ।

यो दृश्य जति समयसापेक्ष देखिन्थ्यो, त्यो भन्दा बढी ओली, देउवा र प्रचण्डको शक्ति केन्द्रित राजनीतिक स्वार्थ देखिन्थ्यो । जुन नेपाली राजनीतिको सतहमा पनि छ । तर दुई दुईपटक संसद्‌ विघटन गरेर शक्तिको आडमा अहंकार मात्रै देखाइरहने ओली प्रवृत्ति यतिबेला प्रतिपक्षी सिटमा मात्रै होइन, स्वयंम ओली अहंकार निराश मुद्रामा प्रतिपक्षी सिटमा विराजमान बाध्यता बनेको छ ।

जो अचानक सत्तामा उक्लिएर फेरि प्रतिपक्षीमा थचारिनु सानो राजनीतिक क्षति होइन । त्यसमा पनि जनताको लोकप्रिय पार्टी बनेको एमाले नेतृत्वका हिसाबले यति धेरै क्षयीकरण भोग्नु पनि सामान्य विषय रहँदैन । 

यद्यपी नेपाल राजनीतिक हिसाबले पनि यति धेरै उर्वर भूमि हो । जहाँ झुट र आश्वासनकै भरमा पनि नेताहरू चुनाव जित्न सक्छन् । अनि स्वार्थ बलमा सत्ता र शक्ति जस्तोसूकै असक्षम व्यक्तिको पोल्टामा पर्न सक्छ ।

आज नेपाली राजनीतिमा सबैभन्दा अस्तव्यस्त नेताहरूको हातमा पर्दा देशले अव्यवस्था भोगिरहेको छ । गणतन्त्र र संघीयता जस्तो विश्वकै उत्कृष्ट व्यवस्थामा पनि नेताहरू आफूलाई अव्यवस्थित बनाउँदै नागरिकलाई सास्ती खेप्न बाध्य पारिरहेका छन् । 

ओलीको अंहकार यतिबेला प्रतिपक्षी सिटमा सीमित रहेका बेला देउवा र प्रचण्डका लागि पनि एमाले पार्टीको राजनीतिक उतारचढाव अनुकरणीय हुन सक्छ । किनकी नेपालमा राजनीतिक स्थिरता आवश्यक रहेका बेला नेताहरूको स्वार्थ र सत्ताभोग कम्तीमा पाँच वर्षका लागि स्थायी हुन जरुरी छ ।
 
 


Author

थप समाचार
x