दल

स्ववियु निर्वाचन

कोशीका ६५ मध्ये पाँच क्याम्पसमा भिड्दैछन् ६ महिला उम्मेदवार

दुईमा सर्वसम्मत्, तीनमा चुनाव हुँदै

बाबुराम भण्डारी |
फागुन २९, २०७९ सोमबार ९:० बजे

विराटनगर - स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत कोशी प्रदेशका ६५ वटा क्याम्पसमध्ये सभापति पदमा उठ्ने महिलाहरूको संख्या न्यून छ । नेतृत्व निर्माणको नर्सरी मानिने स्ववियु निर्वाचनमा सभापतिमै लड्ने महिला (छात्रा) हरू प्रदेशभरिमा ६ जनामात्रै छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि पाँचवटा क्याम्पसमा महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । दुईवटा क्याम्पसमा भने सर्वसम्मत् नै भइसकेका छन् । 

बाँकी तीनवटा क्याम्पसमा अध्यक्ष पदमा चारजना महिला उम्मेदवारहरूले चुनाव लड्ने निश्चित गरेका छन् । महिला उम्मेदवारले अध्यक्षको चुनाव लड्ने तयारी गरेका तीनवटै क्याम्पस मोरङका हुन् । मोरङमा ९ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छन् । जसमध्ये मध्ये तीन वटामा मात्रै अध्यक्ष पदमा महिला सशक्त उम्मेदवारका रूपमा उभिएका छन् ।


उर्लाबारी बहुमुखी क्याम्पसमा प्रिती दाहाल र रमाइलो बहुमुखी क्याम्पस कानेपोखरीमा मालति रेग्मी अध्यक्षका दाबेदार हुन् । उनीहरू दुवैजना क्याम्पसका पुरुष प्रतिस्पर्धीसँग भिड्न लागेका छन् ।

विराटनगर नर्सिङ क्याम्पसमा प्रशंसा पौडेल अध्यक्षको दाबेदार हुन् । नर्सिङ क्याम्पस भएकोले प्रशंसासँगै स्मारिका बराल पनि अध्यक्षमा उठेकी हुन् । स्मारिका नेविसंघबाट उम्मेदवार बन्दा प्रिती, मालति र प्रशंसा अनेरास्ववियुबाट अध्यक्षको मैदानमा छन् ।

उर्लाबारी क्याम्पसकी स्ववियु अध्यक्षकी उम्मेदवार दाहालले क्याम्पसका एक हजार ३३१ मतदाता विद्यार्थीहरू माझबाट आफू चुनिने विश्वास गरेकी छन् । एक दशकयता स्ववियु चुनाव नभएका धेरै क्याम्पसहरूमा अहिले चुनावी माहौल बन्दै गर्दा महिला पनि नेतृत्वमा आउनुपर्छ भन्ने सोचका साथ अध्यक्षको उम्मेदवार बनेको उनले बताइन् ।

‘उर्लाबारी बहुमुखी क्याम्पसमा छात्राहरू कै संख्या बढी छ, यस्तो बेलामा महिला नेतृत्व आउनुपर्छ भन्ने चाहना पनि छ, त्यही भएर म अघि बढेको छु’ उनले भनिन्, राष्ट्रिय राजनीतिबाट नै महिला पछि परेका छन्, त्यही भएर पुरुषले पनि यो निर्वाचनमा हामीलाई अघि बढाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

बिबिएस चौथो वर्षमा अध्ययनरत उनी एमाले निकट अनेरास्ववियु मोरङकी जिल्ला सदस्य हुन् । उर्लाबारी क्याम्पसमा अनेरास्ववियुसहित माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियू, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राप्रपा निकट राप्रविसंघको प्यानल कांग्रेस निकट नेविसंघसँग चुनावी मैदानमा उत्रिएका छन् । उर्लाबारी क्याम्पसमा नेविसंघबाट विवेक कार्की अध्यक्षमा चुनाव लड्दैछन् ।

क्याम्पसको समग्र शैक्षिक विकासका लागि सबै विद्यार्थी संगठनहरू मिलेर जानुपर्ने भए पनि राजनीतिक आग्रह पूर्वाग्रहले सवै विद्यार्थी संगठन एकजुट हुन नसकेको दाहालले बताइन् । 

‘कोरोनापछि विद्यार्थीहरू कम आउने समस्याले क्याम्पसको शैक्षिक गुणस्तर खस्किएको छ, पुस्तकालयलाई अझ व्यवस्थित बनाउन पहल गर्ने, खेल मैदानलाई विस्तार गर्ने लगायतका हाम्रा साझा ऐजेण्डा छन्’ उनले भनिन्, ‘मैले यिनै विषयहरूमा फोकस गरेको छु, अहिले हामी सबै मिलेर अघि बढेका छौं ।’

मालति रेग्मी कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसको अध्यक्षमा उठेकी छन् । अनेरास्ववियु क्याम्पस कमिटीको उपाध्यक्ष रहेकी उनले यसपटक सबै विद्यार्थीहरूको भावनालाई समेटेर अघि बढ्ने बताइन् । रमाइलो क्याम्पसमा करीव दुई सय विद्यार्थी मतदाता रहेका छन् । जसमध्ये आधा जति छात्राहरू रहेको जनाइएको छ । क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि, शौचालय लगायतका स्थानमा छात्राहरूलाई पर्ने विभिन्न खालका समस्या तथा खानेपानी र पुस्तकालयको समस्या समाधान गर्ने आफ्नो मुख्य ऐजेण्डा रहेको उनले बताइन् ।

‘हाम्रो क्याम्पसमा दुई सय मतदाता रहेका छन्, क्याम्पसको पठनपाठनको गुणस्तर वृद्धि, शौचालय, खानेपानीको समस्या र लाइब्रेरीको समस्या समाधान गर्न सबै विद्यार्थीहरूलाई समेटेर अघि बढ्नका लागि म केन्द्रित रहेको छु’ उनले भनिन्, ‘हाम्रो क्याम्पसमा आजसम्म कुनै पनि विद्यार्थी संगठनहरूले महिलालाई अध्यक्षको उम्मेदवार बनाएर अघि बढाएका छैनन्, महिलाको नेतृत्व गरेर राजनीतिमा लाग्ने मेरो सानैदेखिको सपना पनि हो, त्यही भएर क्याम्पसको नेतृत्व गर्दै जाने मैले निर्णय गरेको छु ।’ 

विराटनगर नर्सिङ क्याम्पसकी स्ववियु अध्यक्षकी उम्मेदवार प्रशंसा विएनएस दोस्रो वर्षमा अध्ययनरत छिन् । उनकी प्रतिस्पर्धी स्मारिका विएनएस पहिलो वर्षमा अध्ययनरत रहेकी हुन् । नर्सिङ क्याम्पस भएकोले दुवै महिला उम्मेदवार छन् ।

विराटनगर नर्सिङ क्याम्पसमा एक पुरुषसहित एक सय ८४ जना विद्यार्थी मतदाता रहेका छन् । विराटनगर जुनियर जेसिस लगायतका संघसंस्थाहरूमा आवद्ध भइसकेकोले स्ववियुको नेतृत्व लिनसक्ने क्षमता आर्जन गरिसकेको प्रशंसाले दाबी गरिन् ।

‘म पहिल्यैदेखि स्ववियुको नेतृत्व लिन इच्छुक थिएँ, कुशल नेतृत्व गर्ने क्षमता पनि मैले राख्छु’ उनले भनिन्, ‘क्याम्पसमा विद्यार्थीहरूले व्यक्त गर्ने समस्याहरू नै मेरो मुख्य मुद्दाहरू रहेका छन्, विद्यार्थीकै हकहितका लागि मेरो उम्मेदवारी रहेको छ ।’

अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले संगठनबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका तीनैजना क्याम्पसको नेतृत्व लिनसक्ने सक्षम महिला उम्मेदवारहरू रहेको दाबी गरे । संगठनले तीनैजनालाई प्राथमिकताका साथ नेतृत्व लिन अघि बढाएको बताए । उनले संगठनभित्र महिलाको संख्या नै धेरै भएकोले क्याम्पसहरूमा पनि महिला नेतृत्व स्थापित गराउन केन्द्रित भएको दाबी गरे । 

‘संगठनमै महिलाहरूको सहभागिता र नेतृत्व गुणात्मक रहेको छ’ उनले भने, ‘महिला नेतृत्व कमजोर छैन भन्ने कुरा यसपटकको स्ववियु निर्वाचनमा हामीले देखाउँदैछौं ।’ 

एकतप्पामा प्रतिक्षा र पाँचथरमा मुना सर्वसम्मत्

मोरङकी प्रिती र मालति पुरुष प्रतिस्पर्धीसँग भिड्दैछन् । उनीहरू आ–आफ्नो क्याम्पसको स्ववियु अध्यक्ष बन्न चुनावी मैदानमा उत्रिँदा कोशी प्रदेशका दुईवटा जिल्लाका क्याम्पसमा दुई छात्राहरू सर्वसम्मत् अध्यक्ष निर्वाचित भइसकेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा बहुमुखी क्याम्पसमा प्रतिक्षा खनाल सर्वसम्मत स्ववियु अध्यक्ष चयन भएकी छन् । अनेरास्ववियुकी खनालसहित क्याम्पसका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।

त्यसैगरी पाँचथर सदरमुकामस्थित पाँचथर बहुमुखी क्याम्पसमा पनि महिला अध्यक्षकै नेतृत्वमा स्ववियुको नेतृत्व स्थापित भएको छ । नेविसंघ पाँचथरकी जिल्ला सदस्य समेत रहेकी मुना नेपाली स्ववियुको अध्यक्षमा सर्वसम्मत भएकी हुन् । उनले क्याम्पसका सबै विद्यार्थीहरूको माग अनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको बताइन् । नेपालीले अहिलेको समयमा महिलाहरूले हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढिरहेकोले आफुले पनि क्याम्पसको नेतृत्व गर्ने आँट गरेको सुनाइन् ।

‘सबै विद्यार्थीहरूको माग अनुसार सर्वसम्मत् नेतृत्व चयन गरेका हौं, सबै संगठनहरूले मलाई सहयोग देखाउनु भयो’ उनले भनिन्, ‘सवै मिलेर दृढ संकल्पका साथ विद्यार्थीको अधिकार सुनिश्चित गर्ने, विद्यार्थीको माग पुरा गर्ने कार्यमा हामी लाग्ने र सवैको मिलेर अघि बढेका छौं ।’

पाँचथर क्याम्पसमा ७ सय ६६ जना विद्यार्थी मतदाता रहेकोमा अधिकांश छात्राहरू रहेको उनले जानकारी दिइन् । विएड चौथो वर्षमा अध्ययन गरिरहेकी उनले क्याम्पसमा छात्रा पनि नेतृत्वका लागि कम छैनन् भन्ने पुष्टि भएको बताइन् । 

‘पहिले महिलालाई कमै मात्र अवसर दिइएको थियो, अहिले परिवर्तन भइरहेको छ, परिवर्तनका लागि पनि महिलाले राम्रो काम गरेर देखाउनु पर्ने भएको छ’ उनले भनिन् ‘दलित महिलालाई भनेर पनि मलाई सबैले प्राथमिकता दिनु भएको छ, राम्रो काम गर्नुपर्छ भन्ने लागेको छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x