संसद्

राष्ट्रियसभामा आगामी आर्थिकको वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

इकागज |
फागुन २७, २०८० आइतबार १७:२५ बजे

काठमाडौँ- ​राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्यहरूले राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान गरि बजेट तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए । बैठकमा समिति सदस्य सांसद सुरेशकुमार आलेमगरले ऊर्जा, कृषि र पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेटको सिद्धान्त र प्राथमिकतामा बनाइनुपर्ने बताए ।


सत्ता समीकरणको विषयलाई राजनीतिमा स्वभाविक रूपमा लिनुपर्ने भन्दै कसैले असन्तुष्ट व्यक्त गर्न नपर्ने उनले बताए । उनले आफूसँग हुँदा इमान्दार र नहुँदा बेइमान भन्न नमिल्ने धारणा राखे ।

त्यस्तै अर्का सदस्य जगतबहादुर पार्कीले मुलुकको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर नयाँ समीकरण बनेको भन्दै यसले देशको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मुलुकको आर्थिक, शिक्षा स्वास्थ्य, रोजगारलगायतका अवस्थाको गम्भीर विश्लेषण गरेर तयार पारिनुपर्ने धारण राखे ।

त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्रीले कांग्रेसप्रति लगाएका आरोप सत्य नभएको बताए । उनले न्यून राजस्व सङ्कलन, पुँजीगत खर्चमा न्यूनता, लगानीमा कमी र बढ्दो सार्वजनिक ऋण, घट्दो बजार मागलगायतका समस्या देखिएको बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बजेटको सिद्धान्त र प्राथमिकतालाई परिमार्जन गर्नुपर्ने बताइन् । त्यस्तै अन्य सदस्यहरूले सिद्धान्त र प्राथमिकताका आधारमा बन्ने बजेट मुलुकको अर्थतन्त्रको सङ्कट समाधान गर्ने, आन्तरिक उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने दिशातर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका थिए ।


Author

थप समाचार
x