संसद्

दुवै सदनको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?

इकागज |
फागुन ११, २०८० शुक्रबार ९:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभा र १ बजेदेखि राष्ट्रिय सभाकोको बैठक बस्दैछ ।

प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको थियो । तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगेपछि बैठक आजसम्मका लागि स्थगित भएको हो ।


गृहमन्त्री श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसद्‌मा गणपूरक सङ्ख्या यकिन गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो सङ्ख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिएपछि सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।

यसैगरी, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पति भएको 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८०' पेश गर्नेछिन् ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले 'भन्सार विधेयक २०८०' माथि विचार गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने 'बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०'लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्‌ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

त्यस्तै आजको राष्ट्रियसभा बैठकमा दिलकुमारी थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नेछन् भने भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस्‌ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् साथै सो विधेयक पारित गरियोस्‌ भन्ने प्रस्ताव पेश गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x