संसद्

गुणस्तरहीन कस्मेटिक सामग्रीहरूको प्रयोग रोक्न सांसदहरूको माग

इकागज |
पुस ४, २०८० बुधबार २१:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- गुणस्तरहीन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरूले माग गरेका छन् ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले यस्तो माग गरेका हुन् । उनीहरूले गुणस्तरहीन सामानको प्रयोगले महिलाहरूमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे ।


सांसदहरूले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरूले प्रयोगमा ल्याउने गरेको बताए । उनीहरूले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए । सांसदहरूले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरूको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे/नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए ।

समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले महिलाहरूले प्रयोग गर्ने कस्मेटिक सामान बनाउने कच्चा पदार्थ आयात गरेर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा प्याकेजिङ गरी बजारमा बेच्ने गरेको बताए । उनले कस्मेटिक उद्योगहरूले गुणस्तरहीन कस्मेटिक सामान ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको भनि ग्राहकहरूलाई झुक्याउने गरेको बताए । गुणस्तरहीन कस्मेटिक सामान प्रयोगले महिलाहरूमा छाला लगायतका ठूलो समस्या आउने खतरा रहेको बताए ।

अर्यालले कस्मेटिक वस्तुहरूको गुणस्तरमा सरकारले ध्यान दिन नसके महिलाहरूको स्वास्थ्यमा विकाराल अवस्था आउनसक्ने जिकिर गरे । उनले नेपालमा अनुमति नभएका अन्तर्राष्ट्रिय कस्मेटिक सामानहरू रहेको बताए । उनले पछिल्लो समय भारतबाट मिति सकिएका औषधिहरू नेपालमा आयात भइरहेकाले अनुगमनलाई प्रभावकारी बनाउन माग गरे । उनले नेपालमा प्रयोग हुने खाने तेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभइ २२ प्रतिशत भन्दा बढी अखाद्य पदार्थ मिसावट भएको विभिन्न अध्ययनले देखाएको पनि बताए ।

त्यस्तै, नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले गुणस्तरहीन कस्मेटिक तथा औषधिजन्य सामानको प्रयोगबाट आएको समस्या आफैँले भोगेको बताइन् । उनले काठमाडौंका विभिन्न फेसियल सेन्टरमा अनुमति नभएका औषधि प्रयोग गरेर अनुहार राम्रो हुने भन्दै दैनिक २ लाखसम्म आम्दानी गर्ने गरेको बताइन् । उनले सरकारले त्यस्तो ठाउँमा अनुगमन गरी रोक्न आवश्यक रहेको बताइन् । उनले एक पटक फेस जाँच गर्दा आफैँले २८ हजार रुपैयाँ खर्च गरेको बताइन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सीता मिजारले गुणस्तरहीन कस्मेटिक र औषधिको सिकार महिला मात्रै नभएर धेरै पुरुषहरू समेत भइरहेको बताइन् । उनले सामान्य मानिसहरू समेत हाइड्राफेसियल गर्ने भनेर सांसदहरूलाई समेत बोलाउने गरेको बताइन् । उनले सरकारले कुन मापदण्डमा यस्तो काम गर्न दिएको छ त्यो विषयमा पनि अनुगमन गर्न आवश्यक रहेको बताइन् ।

बैठकमा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले कस्मेटिक समानहरूको गुणस्तर मापन गर्ने ल्याप नभएको बताए । उनले गुणस्तर मापन गर्ने ल्याब नभएकाले गुणस्तर नभएका कस्मेटिक पदार्थहरू प्रयोग गर्दा महिलाहरूमा छालाजन्य रोगहरू बढ्नसक्ने बताए । उनले गुणस्तर परीक्षणको लागि नाप तथा तौल विभागलाई आग्रह गरेको बताए ।

उनले नेपालमा अर्बौं रुपैयाँको केमिकल मिश्रण भएका हानिकारक वस्तुहरू आयात भए पनि गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा परीक्षण गर्न नसकिएको बताए । उनले मापन नहुँदा स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने मापदण्ड पनि नभएको बताए । 

 


Author

थप समाचार
x