संसद्

`दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग`

इकागज |
साउन २३, २०७९ सोमबार १५:८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरू सच्याउन माग गरेका छन् । 

सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए । उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे । 


सांसद सुनारले यस्तो त्रुटीहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे । उनले भने, ‘यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ति हाकिमहरु, ति फटाहाहरु यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्यत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्यत हुँदा रहेछन् त ? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ? यी नागरिकता सच्याउनलाई म गृहमन्त्री सँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ति बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरूलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ ।’

उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताए । 


Author

थप समाचार
x