प्रमुख समाचार

बाइडनको प्राथमिकता सबै मित्र मुलुकलाई सुनाउँदै

अमेरिकी कूटनीतिक नियोग सक्रिय हुँदै

चन्द्रशेखर अधिकारी |
माघ ९, २०७७ शुक्रबार १५:२० बजे

काठमाडौँ : अमेरिकाले डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्वसँगको सम्बन्धमा फेरि सक्रिय हातोमालो गर्ने भएको छ । अमेरिकी प्रशासनले विश्वभर त्यसका लागि आफ्ना प्रतिनिधिलाई सक्रिय पारेको छ । अमेरिकाले गठबन्धन मुलुकसँगको सम्बन्धमा मर्मत गर्दै थप सक्रिय बनाउने र शसक्त रूपमा आफू विश्व राजनीतिमा संलग्‍न हुने स्पष्ट पारेको हो ।

कूटनीतिक संयन्त्रमार्फत् अमेरिका विश्वमा चार वर्षपछि फरक शैलीमा सक्रिय हुन लागेको हो ।  ट्रम्प प्रशासनका समयमा उनको क्रियाकलापले आफ्‍ना धारणा राख्‍नसमेत समस्यामा परेको अमेरिकी प्रशासनले नयाँ राष्ट्रपति पाएको केही घण्टामै आफ्ना सबै नियोगलाई सक्रिय बनाएको हो । अमेरिकीहरू लोकतन्त्रमा विश्वास राख्‍ने मुलुकसँग सहकार्य गर्ने धारणासहित आफ्नो ‘ग्यांगिङ’ गर्ने प्रष्ट छ ।


अमेरिकासँग आफ्नो पुरानो संरचना र गठबन्धन छ नै । त्यसलाई पुनः चुस्त र सक्रिय पारेर सहकार्यमा दर्विलो उपस्थिति देखाउँदै चार वर्षमा गिरेको नूर उचो बनाउने वाचा बाइडनले गरिसकेका छन् । त्यही बाचालाई लिएर अमेरिका पुनः आफ्नो संरचना मर्मत गर्दै सहकार्यमा अघि बढ्ने संकेतकाे रुपमा यसलाई लिन सकिन्‍छ ।

नयाँ नेत‍ृत्वले 'क्यापिटोल हिल'मा शपथ खाएको भोलिपल्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी नयाँ राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताबारे जानकारी दिएका थिए । उनीहरूले प्रधानमन्त्रीसँग मात्र होइन, सरोकार राख्‍ने सबैसँग आफ्नो धारणा राख्‍नेगरी दूतावासलाई पूर्ण रुपमा सक्रिय बनाउने निर्णय गरेका छन् ।

‘बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपालसहित मुलुकहरुको सहकार्य आवश्यक पर्नेछ,’ अमेरिकी प्राथमिकताबारे बेरीले भने, ‘राष्ट्रपति बाइडनले भनेजस्तै अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ ।’

अमेरिकाले यो चार वर्षमा आफूलाई परीक्षण गरेको कोटीमा राखेको धारणा जसरी हाम्रा प्रधानमन्त्रीलाई दिइएको छ त्यसैगरी अमेरिकाले विश्वभर यो विषयमा जानकारी दिइरहेको छ । ‘हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न,’ बाइडनलाई उद्धृत गर्दै बेरीले प्रधानमन्त्रीसँग भनेका थिए, ‘हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।’

प्राथमिकताबारे जानकारी दिँदै अमेरिकी दूतावासले भनेको छ, ‘नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्नेछ ।’ 
राजदूत बेरीले उक्त धारणा प्रधानमन्त्री ओलीसमक्ष राखेका छन्, ‘राष्ट्रपति बाइडन कोभिड-१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्छन् । त्यसका लागि राष्ट्रपति बाइडनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः सुचारु गर्नेछन् ।’  

बाइडनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग चुडिन खोजेको वा चुडिएको अमेरिकी सम्बन्ध पुनःस्थापना गर्ने मात्र होइन नेपाल जस्ता लोकतन्त्रमा विश्वास राख्ने मुलुकरूसँगको साझेदारी पुनर्जीवित गर्ने पनि बताइएको छ । पेरिस जलवायु सम्झौतामा पुनः सामेल भएको अमेरिकाले त्यसको उदाहरण दिँदै अन्तर्राष्ट्रिय सहकार्यमा केही खिया लागे पनि त्यो चुडिई नसकेको भन्दै यसलाई पुनः अघि बढाउने अमेरिकीहरूले स्पष्ट पारेका छन् ।

राष्ट्रपति बाइडनले यसमा आफ्नो धारणा राख्दै आफ्नो सहकार्य लोकतान्त्रिक पद्धति अंगालेका मुलुकसँग हुने प्रण गरिसकेका छन् । त्यससँगै अन्तराष्ट्रिय सहकार्यमा जलवायु लक्ष्य बढाउने कूटनीतिक कार्यमा पनि अमेरिका पछि नपर्ने स्पष्ट पार्दै नेपाल पनि जलवायु परिवर्तनमा सहकार्यमा अग्रपंक्तिमा रहेको खुलाएको छ ।

नेपालले अघि बढाएको र पुनः अघि बढाउन चाहेमा सगरमाथा संवादलाई सफल बनाउन अमेरिकी मद्दत रहने समेत उनले प्रधानमन्त्रीलाई स्पष्ट पारेका थिए । जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्न सकिन्छ भन्‍ने विषयमा छलफल गर्न दूतावासले चाहेको समेत राजदूतले बताए ।

बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिने उनले भेटमा स्पष्ट पारे । अमेरिकाले यस्ता विषयहरुसँग मिलेर काम गर्न नयाँ नेतृत्व आउने बित्तिकै खुला आह्वान झै धारणा राख्‍न र प्रष्ट हुन कूटनीतिक नियोग सक्रिय पारेको हो ।

प्रधानमन्त्री ओलीसँगको यो भेट नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरूबारे छलफल गर्न राजदूत बेरीले गर्ने उच्चस्तरीय बैठकहरूमध्ये एक थियो । उनले अन्य राजनीतिक दलका नेताहरूसँग र पूर्व प्रधानमन्त्रीहरुसँग पनि अमेरिकी धारणा प्रष्ट पार्ने प्रयास गर्नेछन ।

पछिल्लो समयमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा केही बुझाई कम हुँदा भएका तिता कुराहरुलाई पनि माझ्ने विषयमा यसलाई नेतृत्वले लिएका छन् । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको सबैभन्दा ठूलो दुई पक्षीय सहयोगलाई नेपाल सरकारले खासगरी सत्तारुढ दलभित्रको विवादले असहज अवस्थामा पारेको थियो । त्यो सहयोगसम्बन्धी विषय अझै यसै रहेको छ ।

सत्तारुढ दलको एउटा खेमाले उक्त सहयोगलाई इन्डो प्यासिफिक रणनीतिको एक पाटोको रुपमा प्रस्तुत गरेका थिए । त्यो सबै पाटोमा अडेर छलफल भए पनि एमसीसी लगायतमा छलफल भए या नभएको विषय बाहिर आएको छैन । तर, बाइडन प्रसाशनको प्राथमिकता स्पष्ट पार्ने काम राजदूतले गरेको प्रधानमन्त्री कार्यालयले पनि जनाएको छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x