प्रमुख समाचार

चीनमा दिनमा दश लाख कोभिड-१९ परीक्षण गर्ने प्रयोगशाला

अजय अलौकिक |
माघ १, २०७७ बिहीबार १९:१२ बजे

बेइजिङः चीनमा दैनिकजसो विदेशबाट आएका तथा फर्केकाहरूमा फाटफुट रूपमा (आयातीत) कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण देखिनै रहेको अवस्थामा हिउँदसँगै हाल घरेलु रूपमा पनि नयाँ सङ्क्रमण देखिन थालेको छ । विशेष गरी बेइजिङलाई घेरेको हपै र उत्तरपूर्वी हैलोङच्याङ प्रान्तमा कोभिड-१९ का सङ्क्रमितको संख्या बढ्दैगएको देखिन्छ । 

हपै प्रान्तमा मात्र जनवरी १३ तारिखमा ८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसै गरी रूससँग सिमाना जोडिएको हैलोङच्याङमा ४३ जना छन् । यो सङ्क्रमितको संख्या गत वर्षको मार्चपछिकै सबैभन्दा धेरै हो । साथै अघिल्लो दिन हपैमा ९० र हैलोङच्याङमा १६ जना थपिएका थिए ।


पछिल्लो अवस्थामा विशेषत हपै प्रान्त कोभिड-१९ को ‘हटबेड’ बनेको छ । गत वर्षको मै १७ मा चिलिन प्रान्तमा एक सङ्क्रमितको मृत्युपछि अरू सङ्क्रमितको मृत्यु भएको थिएन । ८ महिनापछि अर्थात् २४२ दिनपछि जनवरी १३ मा हपै प्रान्तको शच्याच्वाङमा कोभिड-१९ सङ्क्रमित महिलाको मृत्यु भएको छ । योसँगै हपैमा हालसम्म ७ सङ्क्रमितको मृत्यु भएको छ । 

राजधानी बेइजिङबाट २८० किलोमिटर दक्षिणपश्‍चिममा अवस्थित १ करोड बढी जनसंख्या भएको हपैको सदरमुकाम सहर शच्याच्वाङमा सन् २०२१ को आरम्भदेखि नै कोरोना भाइरस महामारी फैलिएको हो । जनवरी २ देखि जनवरी १४ सम्ममा शच्याच्वाङमा मात्र ४९४ सङ्क्रमित गरी समग्र रूपमा हपैमा ५२३ जना थपिएका छन् । साथै लक्षण नदेखिएका सङ्क्रमितको संख्या पनि ३ सय बढी छ । हपै र शच्याच्वाङले बेइजिङलाई समेत जोखिममा पारेको अवस्था छ । तर हाललाई शच्याच्वाङलगायत हपैका अरू जोखिमपूर्ण क्षेत्रमा दोहोरो यातायात निषेध गरिएको छ । 

यसै बीच हपै तथा शच्याच्वाङ सहर र जोखिम क्षेत्रमा परेका क्षेत्रहरूमा कोरोना नियन्त्रण र रोकथाम कार्य युध्दस्तरमा जारी छ । हालै शच्याच्वाङ सहरले समस्त नागरिकको न्यूक्लिक एसिड परीक्षण सुरु गरेको छ । न्यूक्लिक एसिड परीक्षणलाई तीव्रता दिन अस्थायी  प्रयोगशालाको निर्माण समेत गरेको छ । 


गत वर्षको जनवरीमा चीनको ऊहान सहरमा सङ्क्रमण बढेसँगै चीनले १० र १५ दिनमा सञ्‍चालनमा आउने गरी दुई वटा अस्पतालको निर्माण गरेको थियो । 
यसै गरी सभागृह, खेलभवन र रङ्गशालालाई रातारात अस्थायी अस्पतालमा परिणत गरेको थियो । हाल पनि चीनले एकै दिनमा दश लाख न्यूक्लिक एसिड परीक्षण गर्नसकिने ह्वो यान नामक अस्थायी प्रयोगशाला जनवरी १२ बाट प्रयोगमा ल्याएको छ । 

टेनिस स्टेडियमलाई यो ह्वो यान अर्थात् अग्‍नि नेत्र प्रयोगशालामा परिवर्तन गरिएको हो । मात्र १० घण्टामा निर्माणसँगै विभिन्‍न परीक्षण गरी २१ घण्टा भित्र यो प्रयोगशाला पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ । यसबाट फेरि पनि सारा संसारले चिनियाँ संरचना र चिनियाँ जोश देख्‍न पाएको छ ।
 
कुनै पनि ठूलो खाली भवनमा व्यवस्थित रूपमा यस प्रयोगशालाको स्थापना गर्नसकिने बताइएको छ । वास्तवमा यो एउटा मोबाइल प्रयोगशाला हो र यसको कार्य पद्धति वैज्ञानिक छ । यो प्रयोगशालाको बाह्य रूप १० मिटर लामो, ३ देखि ४ मिटरको उचाइ र ४ देखि ५ मिटर चौडाइको एक अर्ध आकारको टेन्ट झैं देखिने एयर फिल्म रहेको छ भने त्यसभित्र आवश्यक उपकरण तथा यन्त्रहरू रहेका छन् । 

यस्तो एक ट्यूबले २४ घण्टामा १ लाख मानिसको परीक्षण गर्न सकिने छ । स्थानीय सञ्‍चार माध्यमका अनुसार, हाल यहाँ २४ घण्टामा १० लाखको नमूना परीक्षण गर्न सकिने छ । साथै यो प्रयोगशालामा मेसिनबाट परीक्षण गरिने भएकोले छिटो हुने र स्वास्थ्यकर्मीमा सङ्क्रमणको जोखिम पनि नहुने जनाइएको छ । तीव्र डेटा ट्रान्सफरका लागि फाइभ जीको प्रबन्ध पनि छ ।
 
यो ह्वो यान प्रयोगशाला पहिले ऊहानमा पनि स्थापना गरिएको थियो । त्यस बेला चल्तीको प्रयोगशालालाई यस किसिमको प्रयोगशालामा परिवर्तन गरिएको थियो भने हाल शच्याच्वाङमा स्टेडियमलाई प्रयोगशालामा परिवर्तन गरिएको हो । 

मानवको साझा शत्रु कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लडाइँमा सबैभन्दा शक्तिशाली अस्त्र विज्ञान तथा प्रविधि हो र मानिसले प्रकोप र महामारीलाई पराजित गर्न विज्ञान र प्रविधिको विकासमा जोड दिनु जरूरी छ । 

यसै बीच चीनको राष्ट्रिय स्वास्थ्य ब्युरोका अनुसार, हाल (जनवरी १३) सम्म चीनभरि ८७ हजार ८ सय ४४ सङ्क्रमित भएका मध्ये ८२ हजार ३ सय २४ जनाको सफल उपचार भएको छ भने ४ हजार ६ सय ३५ सङ्क्रमितको मृत्यु भएको छ । 
 


Author

थप समाचार
x